काठमाडौँ, २३ भदौ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले काठमाडौँ महानगरपालिकाभित्र आज चार किल्ला तोकी कफ्र्यू आदेश जारी गरेको छ । जेनजी पुस्ताका नाममा भएको प्रदर्शन अराजक देखिएपछि तोकिएको निश्चित सिमानाभित्र कसैले आवत–जावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी कफ्र्यू आदेश जारी गरिएको हो ।
बानेश्वर चोकदेखि पश्चिम एभरेष्ट होटल हुँदै बिजुलीबजार पुलसम्म, बानेश्वर चोकदेखि पूर्व मीनभवन, शान्तिनगर हुँदै तीनकुने चोकसम्म, बानेश्वर चोकदेखि उत्तर आइप्लेक्स मल हुँदै रत्नराज्य माध्यमिक विद्यालयसम्म र बानेश्वर चोकदेखि दक्षिण शङ्खमूल ओरालो हुँदै शङ्खमूल पुलसम्म कफ्र्यू आदेश जारी गरिएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।
स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम आज भदौ २३ गते अपराह्न १२ः३० देखि रातिको १० बजेसम्म कफ्र्यू आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौंको कर्फ्यु क्षेत्र बिस्तार गरेको छ । यसअघि बानेश्वर–तिनकुने क्षेत्रमा मात्र कर्फ्यु लगाएको प्रशासनले पछि त्यसलाई बिस्तार गरेको हो ।
जिल्ला प्रशासन कार्यालयका अनुसार राष्ट्रपतिको कार्यालय शितल निवास, उपराष्ट्रपतिको कार्यालय लैनचौर, नारायणहिटी दरबार संग्रहालय र सिंहदरबार क्षेत्रमा कर्फ्यु लगाएको हो ।
यसैगरी, नयाँ बानेश्वरमा प्रहरीले गोली चलाएको छ । जेनजीहरूको प्रदर्शन उग्र बन्दै गएपछि प्रहरीले रबरको गोली चलाएको हो । अहिले नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त बनेको छ ।
जेनजी आन्दोलनले सबै आन्दोलनकारीहरूलाई फर्कन आह्वान गरेको छ । बानेश्वरमा जारी प्रदर्शनमा घुसपैठ भएको भन्दै सबैलाई फर्कन आह्वान गरेको हो ।
कफ्र्यु आदेश जारी भएसँगै नयाँ बानेश्वर क्षेत्रमा सेना परिचालन गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्