काठमाडौँ, २३ भदौ । कार्तिक २८ गते (नोभेम्बर १४) बाट नेपाल र भारतका हलमा एकसाथ रिलिज हुन लागिरहेको फिल्म ‘धागो’को पहिलो गीत सार्वजनिक भएको छ । अभिनेत्री सुरक्षा पन्तको मुख्य भूमिका रहेको फिल्म ‘धागो’को पहिलो गीत ‘ट्याउँ ट्याउँ’ शुक्रवार सार्वजनिक गरिएको हो ।
गीतमा चर्चित गायक पुष्पन प्रधान र आकाङ्क्षा थापाको स्वर रहेको छ । शब्द रचना तथा संगीत पनि पुष्पन प्रधानकै रहेको गीतलाई रमाइलो तथा नृत्यमय शैलीमा प्रस्तुत गरिएको छ । यो गीतको भिडियोमा बुद्धि तामाङ, वर्षा राउत, सुरक्षा पन्त, प्रभात थापा र सुरभी थापा लगायतका कलाकार देखिएका छन् । यो गीतको कोरियोग्राफी कविराज गहतराजले गरेका हुन् ।
गीत सार्वजनिक भएसँगै फिल्मप्रति दर्शकको चासो बढ्ने अपेक्षा निर्माण पक्षले जनाएको छ । निर्देशक उदिप राना थापाका अनुसार नेपालमा युट्युब लगायतका सामाजिक सञ्जाल नखुल्ने प्रक्रियाका बाबजुद भारत र नेपाल दुवैलाई लक्षित गरेर गीत रिलिज गरिएको हो । भारतको पश्चिम बंगालको सिलगुडीमा विशेष कार्यक्रमसमेत आयोजना गरी गीतको प्रिमियर गरिएको छ ।
उदिप राना थापाले फिल्मले नेपाल–भारत सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नेपाली परिवारको जीवन र उनीहरूको आपसी भावनात्मक सम्बन्ध र सांस्कृतिक धागोलाई केन्द्रमा राखेको छ । फिल्ममा सुरक्षा पन्तसहित भारतको पश्चिम बंगाल डुवर्सका प्रभात थापा र मिस दार्जिलिङ तथा मिस नर्थ इस्ट भारत विजेता सुरभी थापा मुख्य भूमिकामा देखिनेछन् ।
उनीहरु बाहेक फिल्ममा बुद्धि तामाङ, सुनिल थापा, रबिन सान्संकर, दीप छेत्री, प्रज्ञा थापा, बाबु प्रधान, सेवन विश्वकर्मा, राजीव भुसाल, आइशा तामाङ, पप्पु विश्वकर्माको अभिनय छ । अभिनेत्री वर्षा राउतले विशेष भूमिका निर्वाह गरेकी छन् ।
फिल्मको छायांकन बलिउडका अनिकेर एम घोघ, सम्पादन, अखिलेश राय, भीएफएक्स अनुरूप केर्टकेट्टा, रंग संयोजनमा अनिन्दिया एस राय, साउन्ड डिजाइनमा अमित त्रिवेदी, कोरियोग्राफिमा कविराज गहतराज र बसन दर्जी, ब्याकग्राउण्ड स्कोरमा निर्मल पन्या छन् ।
फिल्म म्याग्नेट इन्टरटेन्मेन्ट इन्डियाले निर्माण गरेको ‘धागो’को निर्मातामा उमा थापा, उत्तम थापा र उदिप थापा तथा सह–निर्मातामा प्रभात थापा, समीर तामाङ र राजेश क्षेत्री अनि सुपरभाइजिङ प्रोड्युसर वहिद एम मुन्सुरी र उदय थापा छन् । आरआर फिल्मस्ले नेपालमा वितरण गर्ने फिल्मको डिजिटल पार्टनर ओएसआर डिजिटल छ ।
प्रतिक्रिया दिनुहोस्