गलकोट (बागलुङ), २९ असार । जैमिनी नगरपालिका–४ निवासी डम्मरबहादुर सार्कीको जैमिनी नगरपालिका–१० सहेला फाँटमा रहेको नौ रोपनी धान लगाइएको खेत बाढी पसेर बगर बन्यो ।
भर्खरै रोपेको धानसहितको खेत बाढीका कारण सखाप भएपछि सार्कीको निद्रा छैन । खेतमा कालुङखोला पसेपछि खेत बगरमा पणित भएको उहाँको भनाइ छ । असार २४ गते राति कालुङ्खोलाको जलविद्युत् बगाउने गरी आएको बाढीले भर्खर धान रोपेको खेत कटान गर्नुका साथै बगर बनेको सार्कीको भनाइ छ ।
सार्कीको मात्र होइन, कालुङखोला र ठेउलेखोलाको क्षेत्र नगरपालिका वडा नं १०, वडा नं ९ र वडा नं ४ मा रहेको भर्खर धान लगाइएको खेत बगर बनेको हो । जैमिनी नगरपालिकाका अनुसार सबैभन्दा बढी क्षति जैमिनी नगरपालिका–९ पैयुथन्थापमा भएको छ ।
पैयुथन्थापमा मात्र एक सय ५० रोपनी धानखेत बगर बनेको जैमिनी नगरपालिका कृषि शाखा प्रमुख सुवास सापकोटाले जानकारी दिनुभयो । सापकोटाका अनुसार अहिले नगरपालिकाको कृषि प्राविधिक, इञ्जिनियर र जनप्रतिनिधिको सक्रियतामा तथ्याङ्क सङ्कलन भएको छ ।
उहाँले नगरपालिकाभर तीन सय रोपनी धान लगाइएको खेत बाढीले क्षति पुर्याएको अनुमान गरिएको बताउँदै अहिले सम्म एक सय ५० रोपनी धानखेतको क्षति भएको तथ्याङ्क सङ्कलन गरिएको छ । अहिले जैमिनी नगरपालिका–९ मा मात्र एक सय ५० रोपनी खेतीयोग्य जग्गा बगरमा परिणत भएको र ५० रोपनी जग्गा पुनः खेतमा फर्काउनै नसक्ने गरी नदीले कटान गरेको सापकोटाले बताउनुभयो ।
अविरल बर्षाका कारण असार २४ गते मङ्गलबार राति आएको बाढीले जैमिनी नगरपालिकाको कालुङखोला र ठेउलेखोला आसपासको धानखेत बगरमा परिणत गरेको र रु एक अर्बभन्दा बढीको क्षति पुर्याएको हो । कालुङखोलामा आएको बाढीले कालुङखोला जलविद्युत् आयोजनामा पूर्ण रूपमा क्षति पुर्याएको छ ।
एउटा जलविद्युत्गृह बगाएको, झण्डै तीन सय रोपनी खेतमा क्षति पुर्याएको र नौवटा सिँचाइ कुलोमा क्षति पुर्याएको जैमिनी नगरपालिकाले जनाएको छ । जलविद्युत् आयोजना बाढीले बगाउँदा पैयुथन्थापका एक सय २२ परिवार अन्धकारमा बस्न बाध्य भएका छन् । जैमिनी नगरपालिकाले क्षतिको विवरण सङ्कलन गरिरहेको बताउँदै क्षतिको मूल्याङ्कनका आधारमा राहत दिने नगरप्रमुख नरबहादुर पुनले जानकारी दिनुभयो ।
“तत्कालका लागि धान रोप्न लाग्ने लागत किसानलाई दिनेगरी नगरपालिकाले तयारी गरेको छ, रोपनीका हिसाबले किसानलाई राहत दिने, कुलो मर्मत गर्ने कार्य तत्कालै गर्दछौँ”, नगरप्रमुख पुनले भन्नुभयो, “किसानको खेतको क्षतिपूर्ति दिन त नगरपालिकाले नसक्ला तर यसपटक धान उब्जनीमा हुने गिरावटलाई ध्यानमा राखेर राहत दिने तयारीमा छौँ, सिँचाइ कुलो मर्मतमा नगरपालिकाको ध्यान जान्छ ।”
प्रतिक्रिया दिनुहोस्