काठमाडौँ, २२ असार । आज आषाढ शुक्ल एकादशी तुलसी रोपेर एकादशी मनाइदै छ । प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको दल राखिन्छ । आषाढ शुक्ल एकादशीका दिन दलबाट घरको तुलसीको मठमा बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु भएको हो ।
आयुर्वेद क्षेत्रमा लामो समय काम गर्दै आउनुभएका डा वंशदीप शर्मा खरेलले वैज्ञानिक र औषधीय गुणले युक्त भएकाले हाम्रा पुर्खाले घरघरमा यसको मठ बनाएर पूजा आराधनाको परम्परा बसाल्नुभएको बताए । औषधीय गुणले युक्त तुलसीबाट आफू सिंहदरबार वैद्यखाना विकास समितिको प्रबन्ध निर्देशक भएका बेला चिया उत्पादनलाई निरन्तरता दिएको उनले जानकारी दिए ।
आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्म चार महिना भगवान् विष्णु क्षीरसागरमा शयन गर्नुहुने भएकाले आजको दिनलाई हरिशयनी एकादशी भनिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा डा देवमणि भट्टराईले जानकारी दिए । भगवान् विष्णु शयन गर्नुहुने चार महिनालाई चर्तुमासा पनि भनिन्छ । यस वर्ष साउनमा अधिकमास परेका कारण चान्द्रमास अनुसार पाँच महिना हुने भएको छ ।
एक वर्षमा २४ एकादशी पर्छन् । अधिकमास परेको वर्ष भने २६ वटा एकादशी पर्छन् । सक्नेले सबै एकादशीमा फलाहार मात्र गरेर व्रत बस्छन् । नसक्नेले चर्तुमासाका चार महिनामा पर्ने आठ एकादशीमा व्रत गर्छन्।
कामकाजमा सक्रिय हुनुपर्ने र चार महिनासम्म पनि फलाहार गर्न नसक्नेले भने हरिशयनी एकादशी र हरि बोधिनी एकादशीका दिन फलाहार गरी व्रत बस्ने गर्छन् । यी दुवै एकादशीलाई ठूलो एकादशी भन्ने प्रचलन पनि व्यवहारमा चलेको छ ।
हरिशयनी एकादशीका अवसरमा आज बिहानैदेखि राजधानीको बूढानीलकण्ठ, उपत्यकाका चार नारायणलगायत देशभरका नारायण एवं विष्णु मन्दिरमा भक्तजनको घुइँचो लागेको छ । चर्तुमासाभर देशभरका नारायण मन्दिरमा भक्तजनको विशेष घुइँचो लाग्ने गर्दछ ।
एकादशीका दिन विशेषगरी चामलबाट बनेका परिकार नखाने रोटी, ढिँडोलगायत फलाहार गर्ने गरिन्छ । वैज्ञानिक रूपमा पनि बढी अक्सिजन पाइने प्रमाणित भएको तुलसी विभिन्न रोगका लागि औषधीका रूपमा समेत प्रयोग गरिन्छ ।
तुलसी र दामोदरको विधिपूर्वक विवाहपछि अग्नि स्थापना विधिबाट पूजा आराधनासहित चर्तुमासा व्रतको उद्यापन गरिन्छ । उद्यापनका लागि मार्गशीर्ष कृष्ण पञ्चमीका दिनसम्म जुराउनु नपर्ने र त्यसपछि भने अग्नि स्थापना जुरेका दिन हवन गरी तुलसीको व्रत समापन गर्ने परम्परा रहेको धर्मशास्त्रविद् प्रा डा भट्टराईले बताए।
प्रतिक्रिया दिनुहोस्