बिरामीलाई निःशुल्क सेवा दिँदै अटोचालक

चितवन, २१ जेठ । एक अटोचालकले क्यान्सरका बिरामीलाई निःशुल्क सेवा दिँदै आइरहेको छ । उनले हरेक दिन बिहान ७ः०० देखि १०ः०० बजेसम्म चितवन नारायणगढको पुल्चोकबाट बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालसम्म निःशुल्क सेवा दिँदै आएको हो ।

पर्साको ठोरी गाउँपालिका–१ का स्थायी बासिन्दा २६ वर्षीय आकाश अर्यालले क्यान्सरका बिरामीलाई सेवा गर्दै आइरहेका छन् । पश्चिम नेपालबाट रात्रि बसमा आएका बिरामीहरू बसबाट झर्नेबित्तिकै क्यान्सर अस्पतालसम्म पुग्न अटो चढ्नुपर्छ ।

विगत चार वर्षदेखि भरतपुरमा अटो चलाउँदै आइरहेका छन् । त्यसक्रममा उनले विरामीको कुरा सने । कतिपय बिरामीले उपचारमा सम्पत्ति सकिएको, औषधि किन्न पैसा नभएको, खाना र बस्न पनि समस्या भएको आफ्नो दुखेसो अटोमा चढ्दै गर्दा उहाँसँग पोख्थे । उनले भने, “मैले आफ्नो अटोबाट केही सहयोग गर्न सक्छु भने किन नगर्ने ? भनेर निःशुल्क सेवा सुरु गरेँ ।” यही सोचले उनले गएको मातातीर्थ औँसीदेखि निःशुल्क सेवा सुरु गरेको हो । उनले हरेक बिहान ७ः०० देखि १०ः०० बजेसम्म पुल्चोकबाट बिपी कोइराला क्यान्सर अस्पतालसम्म बिरामी र तिनका आफन्तलाई निःशुल्क सेवा दिँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्