काठमाडौँ, १८ जेठ । सार्वजनिक यातायात क्षेत्रको संरक्षण र व्यवस्थापनमा सरकारले चालेको कदमप्रति आपत्ति जनाउँदै सार्वजनिक यातायात बचाउ केन्द्रीय महासंघहरू मजदुर संघ÷संगठनहरूको केन्द्रीय संघर्ष समितिले आन्दोलनको कार्यक्रम घोषणा गरेको छ ।
शनिबार उनीहरूले ११ः३० बजेदेखि १२ः३० बजेसम्म चक्रपथ सडक खण्ड र भक्तपुर मुख्य सडक खण्डमा सवारी साधनहरू (ट्याक्सी ,बस ,ट्रक) लाइनबद्ध गरेर चक्काजाम गरेका छन् ।
साथै जेठ १८ गते १२ः३० बजे माइतीघर मण्डलमा सम्पूर्ण यातायात व्यवसायी वृहत् विरोध गर्नेसम्म चेतावनी दिएका छन् । संघर्ष समितिका अनुसार सवारी ऐन २०४९ को परिशिष्ट २ को दफा ५ र २२ दफा १२ को विपरीत हुने गरी निजी क्षेत्रलाई कालो प्लेटमा सवारी सञ्चालनको अनुमति दिनु सार्वजनिक यातायात क्षेत्रको विनाशको षड्यन्त्र भएको आरोप लगाइएको छ ।
गण्डकी प्रदेश सरकारले मिति २०८२÷२÷१ गते प्रकाशित राजपत्रमार्फत निजी सवारी साधनलाई कालो प्लेटमा भाडामा सञ्चालन गर्न अनुमति दिएकोमा समितिले आपत्ति जनाएको हो । संघर्ष समितिले आन्दोलनका कार्यक्रमअन्तर्गत २०८२ जेठ १८ गते प्रदेशभर विरोध ¥याली गर्ने जनाएको छ । यदि सरकार संवेदनशील नभए २०८२ जेठ १९ गतेदेखि देशव्यापी सवारी साधन घर ग्यारेजमा थन्काउने आमहड्ताल गर्ने चेतावनी पनि समितिले दिएको छ ।
यसैगरी, राइड सेयररिङ सम्बन्धी विवादमा कोशी प्रदेश सरकार यातायात व्यावसायीकै पक्षमा उभिएको छ । कोशीमा कांग्रेस एमालेको दुई तिहाइ बहुमतसहितको सरकार छ ।
यही सरकारले अध्यादेश मार्फत राइड सेयरिङ सम्बन्धि कानुनी निर्माण गरेको हो । गत १७ बैशाखमा जारी अध्यादेशमा समावेश यो प्रावधान कार्यान्वयनका लागि कोशी प्रदेश सरकार नेपाल यातायात व्यावसायी राष्ट्रिय महासंघकै पक्षमा उभिएको हो ।
राइड सेयरिङले आफ्नो व्यावसायमा असर गर्ने भएपछि सिन्डिकेट चलाइरहेका यातायात व्यावसायीले रातो नम्बर प्लेटलाई राइड सेयरिङ गर्न नदिने अडान राखेका थिए । यहीँ मागसहित नेपाल यातायात व्यावसायी राष्ट्रिय महासंघको नाममा देशभर आन्दोलन भइरहेको छ ।
गण्डकी प्रदेश सरकारले निजी नम्बर प्लेटलाई राइड सेयरिङ सञ्चालनको अनुमति दिएपछि यातायात अवरुद्ध नै गरेका थिए । गण्डकी प्रदेश सरकारले ‘गण्डकी प्रदेश राईड सेयरिङ ( नियमन र व्यवस्थापन) नियमावली २०८२ जारी गर्दै राइड सेयरिङमा प्रयोग हुने सवारी साधनमा ‘आरएस’ लेखिएको गोलो राख्नुपर्ने प्रावधान राखेको थियो ।
कोशी प्रदेशमा यातायात व्यावसायीले निजी (रातो नम्बर) नम्बर प्लेटमा राइड सेयरिङ सञ्चालन गर्न नदिने अडान राखे,उनीहरुले छुट्टै रङको नम्बर प्लेट राख्नुपर्ने प्रस्ताव गरेका थिए । कोशी प्रदेश सरकार व्यावसायीको माग अनुसार छुट्टै रङ राख्न तयार भएको हो ।
शुक्रबार भएको छलफलमा सरकारसँग छुट्टै रङको नम्बर प्लेट राख्न सहमति भएको नेपाल यातायात व्यावसायी राष्ट्रिय महासंघ कोशी प्रदेश संयोजक सरोज श्रेष्ठले बताए । उनका अनुसार प्रदेशमा राइड सेयरिङ सञ्चालनका लागि प्रदेशमा छुट्टै रङको नम्बर प्लेट प्रयोग गर्नुपर्ने कानुन बन्नेछ ।
श्रेष्ठले प्रदेश सरकारलाई राइड सेयरिङमा प्रयोग हुने सवारीको नमुना नम्बर प्लेट पनि सरकारलाई उपलब्ध गराएका थिए । रातो नम्बर प्लेटलाई राइड सेयरिङ सञ्चालन गर्न दिदा जोखिम हुने भएकाले नम्बर परिवर्तन गर्नुपर्ने बताए ।
‘सेवाग्राहीले राइड सेयरिङको सवारी चिन्नका लागि छुट्टै नम्बर प्लेट हुनुपर्छ,’ उनले भने,‘ हामी कालो नम्बर प्लेट प्रयोग गर्छाै, राइड सेयरिङले कालो नम्बर प्लेट प्रयोग नगरेपनि रातो नम्बर प्लेट प्रयोग गर्न मिल्दैन् ।’
प्रतिक्रिया दिनुहोस्