‘मध्यपहाडी लोकमार्ग अभियान राष्ट्रको अभियान’ ः अध्यक्ष प्रचण्ड

दैलेख, ६ जेठ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री प्रचण्डले मध्यपहाडी लोकमार्ग अभियान अब केवल एउटा पार्टीको मात्र नभई, राष्ट्रकै साझा अभियान बनिसकेको बताएका छन ।

सोमबार दैलेखको भगवतीमाई गाउँपालिकालाई सम्मान गर्ने कार्यक्रममा मध्यपहाडी लोकमार्ग अभियानको उद्देश्य, यसको राष्ट्रिय महत्त्व र अभियानको क्रममा देशभर प्राप्त भएको जनसमर्थन र सम्मानबारे प्रकाश पारेका छन ।

उक्त अवसरमा स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका नेता, कर्मचारी, नागरिक समाज तथा सर्वसाधारणको उपस्थिति रहेको थियो ।

अध्यक्ष प्रचण्डले ७५३ स्थानीय तहमध्ये उत्कृष्ट ‘छ’ मा पर्न सफल भगवतीमाई पालिकाका प्रमुख गणेशबहादुर थापा र उपाध्यक्ष मीना थापालाई सम्मान गरेका छन । अध्यक्ष थापा माओवादी केन्द्रबाट निर्वाचित हुन भने उपाध्यक्ष थापा नेपाली कांग्रेसबाट निर्वाचित हुन ।

 

त्यसैगरी, कर्मचारीतर्फ नायब सुब्बा (नासु) प्रेमबहादुर खड्कालाई समेत पालिकामा उल्लेखनीय कार्यसम्पादन गरेबापत सम्मान गरिएको छ । उक्त सम्मान अध्यक्ष प्रचण्डले प्रदान गरेकाछन ।

यसैगरी, अध्यक्ष प्रचण्डले हुम्लाको नाम्खा गाउँपालिका–६ को तिलगाउँमा लेदोसहितको पहिरोका जोखिममा रहेका बासिन्दाको उद्धार र सुरक्षित बसोबारको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराएका छन ।

अध्यक्ष प्रचण्डले सोमबार सामाजिक सञ्जालमार्फत भनेका छन, “तत्काल उद्धार र जोखिम क्षेत्रका बासिन्दाको सुरक्षित बसोबासको व्यवस्था मिलाउन सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु । हुम्लामा जनधनको क्षति हुन नदिन आवश्यक सावधानी र उद्धारमा जुट्न पार्टीपङ्क्तिलाई निर्देशित गर्दछु ।”

अध्यक्ष प्रचण्डले जलवायु परिवर्तनको बढ्दो असरका कारण हिमताल फुट्ने जोखिम बढिरहेकाले यससम्बन्धी बहसलाई राजधानीमा मात्रै केन्द्रित नगरी सम्बन्धित क्षेत्रको वैज्ञानिक अध्ययन र पूर्वतयारीका कार्यमासमेत ध्यान दिन सरकारलाई आग्रह गरेका छन ।

उनले भनेका छन, “त्यहाँ हिमताल फुटेर पहिरो आएकाले बस्ती जोखिममा रहेको, पहिरोका कारण खानेपानीको संरचना, बाटो र पुलमा क्षति पुगेको, स्थानीय ३३ जना नागरिक राहत र उद्धारको पर्खाइमा रहेको कुराले झन गम्भीर बनाएको छ ।”

प्रतिक्रिया दिनुहोस्