काठमाडौँ, २६ वैशाख । राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा विद्यमान अन्तरराष्ट्रिय परिस्थिति तथा हालै विकसित भारत–पाकिस्तानबीच भएको घटनाक्रमबाट नेपालमा पर्नसक्ने विविध सुरक्षा चुनौती तथा असरहरुको सम्बन्धमा समीक्षा गरिएको छ ।
राष्ट्रिय सुरक्षा परिषद्को बिहीबार बसेको बैठकमा सो घटनाक्रमबाट उत्पन्न हुनसक्ने परिस्थितिको सुक्ष्म विश्लेषण गरी आगामी दिनमा आइपर्ने परिस्थितिको सामना गर्न उपयुक्त रणनीति अपनाउने सम्बन्धमा छलफल भएको रक्षा मन्त्रालयका सचिव एवं परिषद्का सदस्य–सचिव रामेश्वर दङ्गालले जानकारी दिएका छन ।
सिंहदरबारस्थित परिषद्को सचिवालयमा प्रधानमन्त्री एवम् परिषद्का अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको परिषद्को ३८औँ बैठकमा परिषद्का सदस्य उपप्रधानमन्त्री तथा अर्थमन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, रक्षामन्त्री, मुख्यसचिव, प्रधान सेनापति र रक्षासचिवको सहभागी थिए ।
यसैगरी,भारत र पाकिस्तानबीच बढ्दो तनावबारे धारणा सार्वजनिक गर्दै नेपालले आतंकवादविरुद्धको लडाईंमा सधैं सबैको साथमा रहने जनाएको छ ।
बिहीबार परराष्ट्र मन्त्रालयले विज्ञप्ति निकालेर ‘आतंकवाद विरुद्धको लडाईंमा नेपाल सधैं सबैको साथमा उभिएको’ स्पष्ट पारेको हो । छिमेकी देशहरूविरुद्ध आफ्नो भूमि प्रयोग गर्न नदिने प्रतिबद्धता दोहो¥याएको नेपालले यस क्षेत्रको शान्तिको निम्ति दुवै देशलाई अपिल गरेको छ ।
‘२२ अप्रिल २०२५ मा भारतको पहलगाममा निर्दोष पर्यटकहरूमाथि भएको आतंकवादी आक्रमणपछि नेपाल सरकार भारत र पाकिस्तानबीच बढ्दो तनाव प्रति गहिरो चिन्तित छ ।
यस आक्रमणमा एक नेपाली नागरिकले पनि आफ्नो अमूल्य जीवन गुमाएका थिए,’ परराष्ट्रले भनेको छ, ‘यस दुःखद समयमा नेपाल र भारत साझा शोक र पीडामा एकताबद्ध भएर उभिएका थिए । नेपालले सबै प्रकारका आतंकवादविरुद्धको दृढ अडान अनुरूप बर्बर आतंकवादी आक्रमणको तुरुन्तै र स्पष्ट रूपमा निन्दा गरेको थियो ।’
परराष्ट्रले दुई छिमेकी देशबीच बढ्दो तनाव कम हुने र यस क्षेत्रमा शान्ति बहाल रहनेमा आशावादी रहेको जनाएको छ । भारतले पाकिस्तानमा गरेको मिसाइल आक्रमणबारे स्पष्ट उल्लेख नगरे पनि नेपाल सरकारले घटनाको झन्डै दुई दिनपछि आफ्नो धारणा दिएको हो ।
यस्तै, गृह मन्त्रालयले पछिल्लो समयमा विकसित क्षेत्रीय सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारेको छ । सीमा क्षेत्रको सुरक्षा मजबुत बनाउन सरकारले दिएको निर्देशनपछि सुरक्षा निकायले सुरक्षा निगरानी थप बढाएको हो ।
सीमा सुरक्षामा तैनाथ सशस्त्र प्रहरी बल नेपालले ४८ घण्टामा सीमा इलाकामा ३१२ वटा पट्रोलिङ र एक हजार ८४४ स्थानमा चेक प्वाइन्ट राखेको छ ।
वैशाख २३ गते मङ्गलबार बिहानदेखि बिहीबारसम्म ४८ घण्टामा भारतीय समकक्षी सशस्त्र सीमा बल (एसएसबी) सँगको सहकार्यमा सीमा इलाकामा ८४ वटा संयुक्त र २२८ वटा एकल पट्रोलिङ गरिएको सशस्त्र प्रहरीका सहप्रवक्ता शेलेन्द्र थापाले जानकारी दिए ।
भारतीय समकक्षी सशस्त्र सीमा बल (एसएसबी)सँग संयुक्त पट्रोलिङ वैशाख २३ गते २० वटा, २४ गते १६ वटा र २५ गते ४८ वटा गरिएको छ । त्यस्तै एकल पट्रोल वैशाख २३ गते ८९ वटा, २४ गते ६४ वटा र २५ गते ७५ वटा गरिएको जनाइएको छ ।
सोही अवधिमा सीमा इलाकाका एक हजार ८४४ ठाउँमा चेक प्वाइन्ट राखिएको छ । वैैशाख २३ गते ५६४, वैैशाख २४ गते ६४० र वैैशाख २५ गते ६४० ठाउँमा गरी एक हजार ८४४ ठाउँमा चेक प्वाइन्ट राखिएको हो । सीमामा गस्ती पट्रोल तथा सुरक्षा जाँचलाई निरन्तरता दिइएको सशस्त्र प्रहरीले जानकारी दिएको छ ।
उक्त क्षेत्रहरुमा सशस्त्र प्रहरी बल नेपाल नं १ बराह बाहिनी मुख्यालय सुनसरी, नं २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी, नं ३ गढिमाई बाहिनी मुख्यालय मकवानपुुर, नं ४ मुक्तिनाथ बाहिनी मुख्यालय कास्की, नं ५ विन्ध्यावासिनी बाहिनी मुख्यालय रुपन्देही र नं ७ वैद्यनाथ बाहिनी मुख्यालय कैलाली मातहत कार्यालयबाट १० हजारभन्दा बढी सशस्त्र प्रहरी बल नेपालको जनशक्ति परिचालन गरिएको छ ।
सीमा क्षेत्रलाई व्यवस्थित गर्न र हुनसक्ने अवैध गतिविधिलाई रोक्न नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग, स्थानीय जनप्रतिनिधि तथा सर्वसाधारणहरुसँग समन्वय गरी सूचना आदानप्रदान गरी सीमामा आवतजावत गर्नेहरुलाई निगरानी गर्ने कार्यसमेत कडाइका साथ गरिएको छ ।
नेपाल–भारत सिमानामा परम्परादेखि चलिआएको परम्परागत आवतजावतलाई असहज तथा हैरानी नहोस् भन्नेतर्फ पनि सचेत हुँदै त्यसप्रकारको आवतजावतलाई सहजीकरण गर्ने कार्यसमेत गरिएको छ । यसैगरी सहरी क्षेत्रका सम्भावित सुरक्षा दिनुपर्ने महत्वपूर्ण ठाउँहरुमा निगरानी बढाइएको सशस्त्र प्रहरीबल नेपालले जानकारी गराएको छ ।
प्रतिक्रिया दिनुहोस्