गणतन्त्र स्थापनापछि केही भएन भन्नेहरुका लागि गतिलो जवाफ

 

काठमाडौँ, ९ वैशाख । गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामबरण यादवले गणतन्त्रलाई संस्थागत गर्न रासस फोटो पुस्तक महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेका छन ।

ललितपुरको भैँसेपाटीस्थित निवासमा सोमबार राष्ट्रिय समाचार समिति (रासस) द्वारा प्रकाशित ‘रासस फोटो किताब ः गणतन्त्रको १६ वर्ष’ ग्रहणका क्रममा प्रथम राष्ट्रपति डा यादवले गणतन्त्र स्थापनापछि केही भएन भन्नेहरुका लागि तस्बिर सङ्गहित पुस्तक गतिलो जवाफ भएको बताएका हुन ।

उनले गणतन्त्रपछिको पछिल्लो अवधिमा ‘मुलुकमा विकास निर्माणको अवस्था कस्तो छ, प्रगति के भए, सांस्कृतिक पक्ष कुन अवस्थामा छ र ती सम्पादको संरक्षण र निरन्तरता’ लगायतका विषयवस्तुलाई समेटेर तयार गरिएको फोटो पुस्तक अत्यन्त उपयोगी भएको धारणा व्यक्त गरे ।

प्रथम राष्ट्रपति डा यादवले भने, “राससले प्रकाशन गरेको फोटो पुस्तक आफैमा महत्वपूर्ण छ, पुस्तकले केवल तस्बिर, संस्कृति र विकास निर्माणका बारेमा मात्र बोल्दैन, नयाँ र पुराना पुस्तालाई जोड्ने काम पनि गरेको छ ।

अहिलेका नयाँ पुस्तालाई इतिहासको विभिन्न कालखण्डका रीतिरिवाज, चालचलन र विकास निर्माणसँग सम्बन्धित गतिविधिलाई समेत जानकारी गराउन यो पुस्तक अत्यन्त महत्वपूर्ण दस्तावेदका रुपमा स्थापित हुनेछ ।”

पुस्तक हस्तान्तरण कार्यक्रममा राससका महाप्रबन्धक सिद्धराज राई, राससका वरिष्ठ कार्यकारी व्यवस्थापक शीतलप्रसाद महतो, नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन राससका अध्यक्ष प्रेमप्रसाद उपाध्याय र फोटोपत्रकार विकल्प दाहालको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्