बिभिन्न अभियोगमा २९ जना  पक्राउ

काठमाडौँ, २१ असोज । नेपाल प्रहरीले बिभिन्न स्थानबाट बिभिन्न अभियोगमा २९ जनालाई   पक्राउ गरेको छ ।
संरक्षित वन्यजन्तु भालुको पित्त र हात्तीको दाह्रासहित तीनजनालाई पक्राउ गरेको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो लैनचौरको टोलीले भालुको पित्तसहित नवलपरासीका योगेन्द्रप्रसाद चौधरी र हात्तीको दाह्रासहित सिन्धुलीका सोमबहादुर माझी र महोत्तरीका चित्रबहादुर विश्वकर्मालाई पक्राउ गरिएको हो ।
ब्यूरोका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक अनुपमशमशेर राणाले भालुको पित्तसहित चौधरीलाई काठमाडौँको सोह्रखुट्टे र हात्तीको दाह्रासहित माझी र विश्वकर्मालाई सिन्धुलीको कमलामाई क्षेत्रबाट पक्राउ गरिएको जानकारी दिनुभयो ।
प्रहरीले पक्राउ परेका चौधरीसँग १४० ग्रामको भालुको पित्त एक थान र माझी र विश्वकर्मासँग हात्तीको दाह्रा छ किलोग्राम बरामद गरेको छ । पक्राउ परेका चौधरीलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि डिभिजन वन कार्यालय हात्तीसार काठमाडौँ र माझी तथा विश्वकर्मालाई डिभिजन वन कार्यालय सिन्धुली बुझाइएको ब्यूरोले जनाएको छ ।
यसैगरी,वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने प्रलोभन देखाएर लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले स्पेन, रोमानिया, न्युजिल्याण्ड र बेलायत पठाइदिने भन्दै पीडितबाट ठूलो रकम लिएर सम्पर्कविहीन भएका उनीहरुलाई काठमाडौँबाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा काठमाडौँका दीपेन्द्र दाहाल, धादिङका रमेश दनै, बागलुङका युवराज रिजाल र रोल्पाका वीरसिंह बाठा छन् । प्रहरीका अनुसार दाहालले स्पेन पठाइदिने भन्दै रु ३५ लाख ९४ हजार लिएका थिए ।
त्यसैगरी, दनैले रोमानिया पठाइदिने भन्दै रु दुई लाख, रिजालले न्युजिल्याण्ड पठाइदिने भन्दै रु चार लाख र बाठाले बेलायत पठाइदिने भन्दै रु १६ लाख ७८ हजार रकम उठाएको  उजुरी परेको थियो ।
रकम लिएर सम्पर्कविहीन भएको भन्दै पीडितले प्रहरीमा उजुरी दिएपछि उनीहरूलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिनुभयो । पक्राउ परेका चारै जनालाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।
यस्तै,पोखरा महानगरपालिकाका विभिन्न क्षेत्रमा कास्की प्रहरीले आज सञ्चालन गरेको ‘स्वीप अप्रेसन’ का क्रममा १५ जना पक्राउ परेका छन् ।
चाडपर्वको समयमा पर्यटकलाई जबरजस्ती सवारीसाधनमा चढाउन खोज्ने, होटल मिलाइदिने भन्दै झोला तान्ने तथा विभिन्न बहानामा दुःख हैरानी दिएका कारण उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिनुभयो । उहाँका अनुसार आउँदै गरेको चाडपर्वलाई लक्षित गरी जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी कार्यालयबाट परिचालन गरिएको टोलीले महानगरका विभिन्न क्षेत्रमा सञ्चालन गरेको ‘स्वीप अप्रेसन’ का क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
पोखराको पृथ्वीचोक, सभागृहचोक र सिर्जनाचोक आसपासका क्षेत्रमा पर्यटक तथा सर्वसाधारणलाई लक्षित गरी जबरजस्ती सवारीसाधनमा चढाउन खोज्ने, होटल मिलाइदिने भन्दै पर्यटकका झोला तान्ने, करकाप गर्ने तथा अनावश्यक रूपमा दुःख हैरानी दिने गतिविधिमा संलग्न व्यक्तिहरूमाथि निगरानी बढाइएको प्रहरी नायब उपरीक्षक पासवानले बताउनुभयो ।
सोही क्रममा सार्वजनिक सवारीसाधनमा जबरजस्ती चढाउन खोज्ने तथा होटल मिलाइदिने भन्दै पर्यटकको झोला तान्ने छ जना, अफलाइन पठाओ तथा इन्ड्राइभका चालक आठ जना र जीपका एक चालकलाई नियन्त्रणमा लिइएको छ । नियन्त्रणमा लिइएका सबैलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वडा प्रहरी कार्यालय बैदाम पठाइएको उहाँले बताउनुभयो ।
“चाडपर्व तथा पर्यटकीय याममा पोखरामा आन्तरिक तथा बाह्य पर्यटकको आवागमन बढ्ने भएकाले पर्यटकलाई सुरक्षित र सहज वातावरणमा घुम्ने व्यवस्था मिलाउन प्रहरीले यस्ता गतिविधिमाथि निगरानी बढाएको हो”, प्रनाउ पासवानले भन्नुभयो ।
पर्यटक तथा सर्वसाधारणलाई अनावश्यक दुःख हैरानी दिने, जबरजस्ती सवारीसाधनमा चढाउन खोज्ने वा सेवा उपलब्ध गराउने नाममा करकाप गर्ने गतिविधि नगर्न सम्बन्धित सबैलाई प्रहरीले आग्रह गरेको छ । साथै यस्ता गतिविधि गरेको पाइएमा नजिकको प्रहरी कार्यालय वा प्रहरीलाई खबर गर्न सर्वसाधारणमा अनुरोध गरिएको छ ।
उता,ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–९, ककनीबाट बोका किनबेचको क्रममा नक्कली नोटको कारोबार गरेपछि प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजबाबु महर्जनका अनुसार चम्पादेवी गाउँपालिकास्थित केउरिनीका २१ वर्षीय कृष्ण खत्री र ३३ वर्षीय ध्रुवबहादुर खत्रीलाई नियन्त्रणमा लिइएको हो । उनीहरूले सुनकोशी–९ मा स्थानीय हस्तबहादुर तामाङ र वीरबहादुर तामाङबाट तीन बोका खरिद गर्दा रु २८ हजारको कारोबार गरेका थिए ।
सो क्रममा दुवै जनाले रु १९ हजार बराबरको १९ थान हजार रूपैयाँको नक्कली नोट प्रयोग गरेको पाइएपछि उनीहरुलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक महर्जनले बताउनुभयो । प्रारम्भिक सोधपुछका क्रममा उक्त नक्कली नोट काठमाडौँबाट ल्याएको खुलेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो ।
यसैबीच,इटहरी उपमहानगरपालिका–१७ स्थित एक घरमा जुवा खेलिरहेको अवस्थामा पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जुवा खेलिरहेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरी टोलीले आज इटहरी–१७ का शेलिस शेर्पाको घरबाट उनीहरूलाई पक्राउ गरेको हो । प्रहरीले जुवा खालबाट एक बुङ तास र नगद रु दुई लाख ३१ हजार १७० बरामद गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी चन्द्रबहादुर खड्काले जानकारी दिनुभयो ।
पक्राउ पर्नेमा धादिङ ज्वालामुखी गाउँपालिका–२ का २७ वर्षीय नारायण श्रेष्ठ, सुनसरीको रामधुनी नगरपालिका–१ का ३६ वर्षीय प्रेम विक, सोही ठाउँका ४७ वर्षीय गौरीशङ्कर लुइँटेल, ४२ वर्षीय महेशलाल धामी र इटहरी उपमहानगरपालिका–१७ का ४३ वर्षीय लोकबन्धु कार्की रहेका छन् ।
पक्राउ परेका पाँचै जनालाई इलाका प्रहरी कार्यालय पकलीमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्