सिटीपोष्ट राष्ट्रिय दैनिक आजबाट २३ औँ वर्षमा प्रवेश गरेको छ । यो केवल एउटा सञ्चारमाध्यमले पूरा गरेको वर्षगाँठ होइन, नेपाली पत्रकारिताको निरन्तर यात्रामा सिटीपोष्टले हासिल गरेको एउटा महत्वपूर्ण उपलब्धि पनि हो । दुई दशकभन्दा लामो यस यात्रामा सिटीपोष्टले समाचारलाई केवल सूचना प्रवाहको माध्यमका रूपमा होइन, जनताको आवाज र समाजको ऐनाका रूपमा स्थापित गर्ने प्रयास गर्दै आएको छ ।
स्थापनाकालदेखि नै देश र जनताको पक्षमा निर्भीक पत्रकारितालाई आफ्नो मूल दायित्व मान्दै सिटीपोष्टले आम नागरिकका समस्या, आवश्यकता, आकांक्षा, सपना र सरोकारलाई प्राथमिकतामा राख्दै आएको छ । सत्य, तथ्य र निष्पक्षतामा आधारित पत्रकारिता हाम्रो मूल पहिचान हो । पाठकको विश्वासलाई केन्द्रमा राखेर समाचार, विचार र विश्लेषण प्रस्तुत गर्ने निरन्तर प्रयासले नै सिटीपोष्टलाई हजारौँ पाठकसँग जोड्ने आधार निर्माण गरेको छ ।
पत्रकारिताको यात्रा कहिल्यै सहज हुँदैन । सीमित स्रोतसाधनबाट सुरु भएको हाम्रो यात्रा आजको प्रतिस्पर्धात्मक र तीव्र गतिमा परिवर्तन भइरहेको सञ्चार संसारसम्म आइपुग्दा अनेकौँ चुनौती पार गर्दै अघि बढेको छ । राजनीतिक अस्थिरता, सामाजिक द्वन्द्व, प्राकृतिक विपत्ति, आर्थिक कठिनाइ तथा विश्वव्यापी महामारीजस्ता असहज परिस्थितिमा समेत सिटीपोष्टले आफ्नो पत्रकारिताको धर्मबाट विचलित नभई नागरिकलाई सूचना दिने र जनसरोकारका विषय उठाउने जिम्मेवारीलाई निरन्तरता दिदैआएको छ ।
२३ वर्षको यो यात्रामा समय बदलिएको छ, प्रविधि बदलिएको छ र पाठकको सूचना प्राप्त गर्ने माध्यम पनि बदलिएको छ । आज सूचना क्षणभरमै संसारभर पुग्छ । यस्तो अवस्थामा सञ्चारमाध्यमको चुनौती केवल छिटो समाचार दिनुमा सीमित छैन; सही सूचना, विश्वसनीय स्रोत र तथ्यपरक सामग्रीमार्फत भ्रम र गलत सूचनाबीच सत्य छुट्याउने जिम्मेवारी पनि उत्तिकै महत्वपूर्ण भएको छ ।
यही बदलिँदो परिवेशलाई आत्मसात् गर्दै सिटीपोष्टले छापा माध्यमसँगै डिजिटल तथा अनलाइन संस्करणमार्फत पाठकसम्म सूचना पु¥याउने यात्रालाई अघि बढाएको छ । प्रविधिको विकाससँगै पत्रकारिताको स्वरूप परिवर्तन भए पनि हाम्रो आधारभूत प्रतिबद्धता भने परिवर्तन भएको छैन । सत्यको खोजी, तथ्यको प्रस्तुति र जनहितको पक्षमा पत्रकारिता गर्दै आएकाछौं ।
हामीले बुझेका छौँ एउटा सञ्चारमाध्यमको सफलता केवल उसको प्रकाशन निरन्तरतामा मापन हुँदैन । समाजका आवाजलाई कति स्थान दियो, प्रश्न गर्नुपर्ने ठाउँमा कति निर्भीक भएर प्रश्न ग¥यो, तथ्यलाई कति इमानदारीपूर्वक प्रस्तुत ग¥यो र नागरिकको विश्वासलाई कति सम्मान ग¥यो भन्ने कुराले त्यसको सार्थकता निर्धारण गर्छ । त्यसैले सिटीपोष्टका लागि २३ वर्ष पूरा हुनु विगतको उपलब्धिमा रमाउने क्षण मात्र होइन, आगामी जिम्मेवारी अझ गम्भीरतापूर्वक आत्मसात् गर्ने अवसर पनि हो ।
२३ औँ वर्षमा प्रवेश गर्दै हामी सत्य, तथ्य र निष्पक्षताको पत्रकारितालाई अझ सशक्त बनाउने प्रतिबद्धता दोहो¥याउँछौँ । नागरिकका आवाजलाई अझ प्रभावकारी रूपमा उठाउने, सार्वजनिक सरोकारका विषयमा निरन्तर खबरदारी गर्ने, न्याय र सामाजिक उत्तरदायित्वका सवालमा निर्भीक रूपमा कलम चलाउने तथा सकारात्मक र जिम्मेवार समाज निर्माणमा हाम्रो प्रयास जारी रहनेछ ।
सिटीपोष्ट राष्ट्रिय दैनिकको २३ वर्षको यात्रा हाम्रो मात्र यात्रा होइन, हामीसँग जोडिनुभएका पाठक, पत्रकार, विज्ञापनदाता, शुभचिन्तक र समग्र समाजको साझा यात्रा हो । यही विश्वासलाई आधार बनाउँदै आगामी दिनमा अझ सशक्त, उत्तरदायी, विश्वसनीय र समयसापेक्षरूपमा अघि बढ्ने संकल्प गर्दछौँ ।
हामी सत्यसँग सम्झौता गर्ने छैनौँ,हामी तथ्यलाई तोडमोड गर्ने छैनौँ,हामी जनताको आवाजलाई कमजोर हुन दिने छैनौँ,हामी प्रश्न गर्नुपर्ने ठाउँमा प्रश्न गर्नेछौँ र जवाफदेहिता आवश्यक पर्ने ठाउँमा निरन्तर खबरदारी गर्नेछौँ । सत्ता, शक्ति, प्रभाव वा स्वार्थभन्दा माथि सत्य, तथ्य र सार्वजनिक हितलाई पत्रकारिताको केन्द्रमा राख्ने हाम्रो प्रतिबद्धता निरन्तर रहनेछ । नागरिकका अधिकार, लोकतान्त्रिक मूल्य, सामाजिक न्याय, सुशासन र उत्तरदायी समाज निर्माणका सवालमा सिटीपोष्टले आफ्नो जिम्मेवार भूमिकालाई अझ प्रभावकारी बनाउँदै लैजानेछ ।
हामी पत्रकारितालाई केवल पेशा होइन, सार्वजनिक जिम्मेवारीका रूपमा लिन्छौँ । त्यसैले समाचारमा विश्वसनीयता, विचारमा विवेक, प्रस्तुतिमा सन्तुलन र सम्पादनमा उत्तरदायित्व हाम्रो कार्यशैलीका आधार हुनेछन् । प्रविधि बदलिन सक्छ, शैली बदलिन सक्छ, पाठकसम्म पुग्ने माध्यम बदलिन सक्छ; तर विश्वसनीय र उत्तरदायी पत्रकारिताप्रतिको हाम्रो प्रतिबद्धता बदलिने छैन । आगामी दिनमा पत्रकारिताको यात्रालाई अझ नयाँ ऊर्जा, नयाँ उचाई र नयाँ दृष्टिकोणकासाथ अघि बढ्ने दृढता ब्यक्त गर्दछौँ ।
आजको यस महत्वपूर्ण अवसरमा सिटीपोष्टलाई यहाँसम्म ल्याउन योगदान गर्नुहुने सम्पूर्ण पत्रकार, लेखक, स्तम्भकार, प्राविधिक तथा कर्मचारीप्रति हार्दिक आभार व्यक्त गर्दछौँ । त्यस्तै, निरन्तर विश्वास र साथ दिइरहनुभएका पाठकवर्ग, विज्ञापनदाता, शुभेच्छुक तथा सम्पूर्ण सहकर्मीप्रति हामी कृतज्ञ छौँ ।
प्रतिक्रिया दिनुहोस्