भोटेकोशी बाढीमा ३४ देशका ५८७ विदेशी पर्यटकसहित करिव ५ हजार अझै बेपत्ता,‘ब्रेक थ्रु’ नभएसम्म खोजी कार्य जारी राख्ने नेपाली सेनाको प्रतिबद्धता

 

काठमाडौँ, २३ भदौ । रसुवाको भोटेकोशीमा भदौ १० गते आएको विनाशकारी बाढीपछि खोज तथा उद्धार अभियान जारी रहे पनि ठूलो संख्यामा विदेशी पर्यटक अझै सम्पर्कविहीन छन् । पर्यटन विभागका अनुसार बाढीमा परी ३४ देशका ५८७ विदेशी पर्यटक बेपत्ता भएका छन् ।

पर्यटन विभागका सूचना अधिकारी सुरज घिमिरेका अनुसार बेपत्ता विदेशी पर्यटकमध्ये कैलाश मानसरोवर यात्रा तथा जनैपूर्णिमा मेलाका लागि गोसाइँकुण्ड पुगेका पर्यटकसमेत छन् । विभिन्न कम्पनीमार्फत ती क्षेत्रमा पुगेका पर्यटक बाढीपछि सम्पर्कमा आउन नसकेको विभागले जनाएको छ ।

बेपत्ता विदेशी पर्यटकमध्ये २५६ पुरुष, ३२९ महिला र दुई जना अन्य छन् । देशगत रूपमा हेर्दा सबैभन्दा धेरै भारतका १८४ नागरिक बेपत्ता छन् । त्यसपछि अमेरिकाका ६७, मलेसियाका ५५, युक्रेनका ५४, अस्ट्रेलियाका ३३, लाटभियाका ३३, क्यानडाका ३० र चीनका २६ नागरिक बेपत्ता भएको विभागको विवरण छ ।

त्यस्तै बेलायतका ३२, रुसका आठ, जर्मनीका आठ, सिङ्गापुरका नौ, दक्षिण अफ्रिकाका छ, न्युजिल्यान्डका पाँच, जापानका पाँच, फ्रान्सका चार, काजकिस्तानका तीन तथा बेलारुस, आयरल्यान्ड, नेदरल्यान्ड, पोर्चुगल, स्पेन, बेल्जियम, इटली र पोल्यान्डका दुई–दुई जना बेपत्ता छन् । फिनल्यान्ड, हङ्गेरी, इजरायल, लिथुआनिया, मलेसिया, फिलिपिन्स, स्विडेन, स्विजरल्यान्ड, भियतनाम, इस्टोनिया लगायतका देशका नागरिकसमेत बेपत्ता रहेको विभागले जनाएको छ ।

बाढीपछि सम्पर्कविहीन भएकामध्ये सात जना भने सम्पर्कमा आएका छन् । उनीहरूमा दुई पुरुष, चार महिला र एक जना अन्य रहेका छन् । यसैगरी विभागका अनुसार हालसम्म ३०७ विदेशी पर्यटकको सफल उद्धार गरिएको छ । उद्धार हुनेमा २५४ पुरुष र ५३ महिला छन् ।

विदेशी नागरिकसँगै बाढीमा परी नेपालका १८८ पर्यटक पनि बेपत्ता भएका छन् । विभागका अनुसार उनीहरूमध्ये १६१ पुरुष र २७ महिला छन् । कैलाश मानसरोवर तथा गोसाइँकुण्ड यात्रामा गएका नेपाली र विदेशी पर्यटकका सहयोगीका रूपमा गएका नेपालीसमेत बेपत्ता भएका हुन् ।

बाढीपछि सञ्चालन गरिएको खोज तथा उद्धार अभियानबाट हालसम्म १३ हजार ३९६ जनाको उद्धार गरिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । उद्धार गरिएकामध्ये रसुवा, नुवाकोट र धादिङका ३९ वटा होल्डिङ सेन्टरमा तीन हजार ५३३ जना सुरक्षित रूपमा आश्रय लिइरहेका छन् ।

होल्डिङ सेन्टरमा रसुवाका ६६९, नुवाकोटका दुई हजार ६५१ र धादिङका २१३ जना रहेका छन् । विस्थापित तथा प्रभावित नागरिकलाई सुरक्षित स्थानमा राखेर उनीहरूको आधारभूत आवश्यकता पूरा गर्ने काम राज्यका विभिन्न निकायले अघि बढाइरहेका छन् ।

तर बाढीपछि मानवीय क्षतिको यकिन विवरण अझै पूर्ण रूपमा स्पष्ट हुन सकेको छैन । प्राधिकरणका अनुसार हालसम्म एक हजार ३५५ जनाको शव फेला परेको छ । फेला परेका शवमा विभिन्न मानव अङ्गसमेत समावेश छन् । तीमध्ये ९८ शवको सनाखत गरी आफन्तलाई बुझाइएको छ ।

प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार रसुवामा १६९, नुवाकोटमा १९७, धादिङमा ७०, गोरखामा ७५, तनहुँमा ३८, चितवनमा ३६३, नवलपरासी पूर्वमा २२२ र नवलपरासी पश्चिममा २२१ शव फेला परेका छन् ।
प्राधिकरणको विवरणअनुसार करिब चार हजार ९९६ जना अझै सम्पर्कविहीन छन् ।

रसुवा जिल्ला प्रशासन कार्यालयबाट करिब एक हजार ९६७ र नुवाकोटबाट करिब दुई हजार ३४० नेपाली सम्पर्कविहीन रहेको विवरण अद्यावधिक भएको छ । सुरक्षाकर्मी तथा कर्मचारी करिब १०० र विदेशी नागरिक करिब ५८९ जना सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ ।

यसैगरी,बाढीबाट प्रभावित जलविद्युत् आयोजनाका टनेलमा फसेका हुनसक्ने नागरिकको खोजीलाई नेपाली सेनाले निरन्तरता दिनेभएको छ ।बाढीले क्षति पु¥याएका जलविद्युत् आयोजनाका टनेलमा नागरिक फसेको आशंकाबीच नेपाली सेनाले खोज तथा उद्धारलाई प्राथमिकताका साथ अघि बढाएको छ । सेनाका अनुसार प्रभावित आयोजनाका टनेलमा करिब १२१ जना नागरिक फसेका हुनसक्ने अनुमान छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणद्वारा आयोजित पत्रकार सम्मेलनमा सहायक रथी सुवाशजङ्ग थापाले सरकारले काम रोक्ने निर्णय नगरेसम्म ‘ब्रेक थ्रु’ नभएसम्म टनेलमा खोज तथा उद्धार जारी रहने बताउनुभयो । नेपाली सेनाले ‘ब्रेक थ्रु’ नभएसम्म टनेलमा खोजी जारी राख्ने प्रतिबद्धता जनाएपछि आशंकित परिवारमा आशा पलाएको छ ।

रसुवागढी जलविद्युत् आयोजनामा खोज तथा उद्धार टोली र आयोजनाका प्रतिनिधिसहितको टोली पावरहाउस तथा कन्ट्रोल प्वाइन्टसम्म पुगेर खोजी गरिसकेको सेनाले जनाएको छ । जोखिमपूर्ण र भौगोलिक रूपमा कठिन संरचनाभित्र खोजी गर्नुपर्ने भएकाले अभियानलाई हवाई, जमिन र टनेल गरी तीन क्षेत्रमा विभाजन गरेर सञ्चालन गरिएको छ ।

नेपाली सेनाका प्रवक्ता एवं सहायक रथी राजाराम बस्नेतका अनुसार सरकारको निर्देशनअनुसार विपद्सँग सम्बन्धित सबै निकायसँग समन्वय र सहकार्य गरेर खोज तथा उद्धार अघि बढाइएको छ । विदेशबाट नेपाल आएका उद्धारकर्मीसँग समेत सहकार्य भइरहेको उहाँले बताउनुभयो ।

विपद्का क्रममा नेपाली सेनाका ४५ जना सैनिकसमेत बेपत्ता भएको सेनाले जनाएको छ । यसले उद्धारमा खटिएका सुरक्षाकर्मीले समेत उच्च जोखिमबीच काम गरिरहेको देखाउँछ ।
खोज, उद्धार, राहत तथा सुरक्षा व्यवस्थापनका लागि प्रभावित क्षेत्रमा २१ हजार ४०२ सुरक्षाकर्मी परिचालित छन् । प्राधिकरणका अनुसार नेपाली सेनाका नौ हजार २८७, नेपाल प्रहरीका सात हजार ९१२ र सशस्त्र प्रहरी बलका चार हजार २०३ जना परिचालन भएका छन् ।

बाढीपछि घाइते तथा प्रभावित गरी हालसम्म छ हजार ६७२ जनाले उपचार सेवा लिएका छन् । विभिन्न अस्पतालमा उपचाररत ३२३ जनामध्ये २२८ जना उपचारपछि डिस्चार्ज भएका छन् । यसबाहेक नेपाली सेनाका तीन हजार ३७९ तथा सशस्त्र प्रहरीका दुई हजार ९७० जनाले स्वास्थ्य उपचार सेवा लिएका छन् ।

प्राधिकरणका कार्यकारी प्रमुख डा धर्मराज उप्रेतीका अनुसार प्रभावित अधिकांश क्षेत्रमा राहत पुगिसकेको छ । अहिले हेलिकप्टरलाई खोज तथा उद्धारमा प्राथमिकता दिइएकाले हेलिकप्टरबाट राहत पु¥याउनुपर्ने केही स्थानमा समस्या भएको उहाँले बताउनुभयो ।

त्यस्ता क्षेत्रमा त्रिशूली, रसुवालगायत हेलिकप्टर पुग्न सक्ने नजिकका स्थानबाट खाद्य सामग्री पु¥याउने प्रयास भइरहेको छ । स्थानीय तहसँग निरन्तर समन्वय गरेर राहत वितरणको काम अघि बढाइएको प्राधिकरणले जनाएको छ ।
भोटेकोशी बाढीले एकैपटक ठूलो मानवीय तथा भौतिक क्षति पु¥याएपछि उद्धारसँगै विस्थापितको व्यवस्थापन, घाइतेको उपचार, शवको पहिचान र बेपत्ताको खोजी राज्यका लागि ठूलो चुनौती बनेको छ । विशेषगरी विदेशी पर्यटकको ठूलो संख्या सम्पर्कविहीन भएपछि उनीहरूको परिवार र सम्बन्धित मुलुकसँग समन्वय गर्दै खोजीलाई थप प्रभावकारी बनाउने आवश्यकता देखिएको छ ।

प्राधिकरणले छिमेकी मुलुक तथा अन्तर्राष्ट्रिय साझेदारसँग समन्वय गरी खोज, उद्धार र राहतका लागि आवश्यक सहयोग लिइरहेको जनाएको छ । राज्यका तर्फबाट सुरक्षा निकायलाई चौबीसै घण्टा परिचालन गरी खोज, उद्धार र राहतमा कुनै कसर बाँकी नराखिएको प्राधिकरणको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्