काठमाडौँ, १८ भदौ । रसुवामा गएको विनाशकारी बाढीपहिरोबाट सिर्जित मानवीय संकटलाई मध्यनजर गर्दै एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिएल) को तेस्रो संस्करण तत्कालका लागि स्थगित गरिएको छ । आगामी असोज १५ देखि २४ गतेसम्म आयोजना गर्ने तय भएको प्रतियोगिता विपद्को अवस्था सामान्य नभएसम्मका लागि स्थगित गर्ने निर्णय आयोजकले गरेको हो ।
लिग आयोजकले मंगलबार विज्ञप्ति जारी गर्दै अक्टोबर १ देखि १० तारिखसम्म आयोजना हुने तय भएको प्रतियोगिता हाललाई स्थगित गरिएको जानकारी दिएको हो । रसुवामा आएको बाढीका कारण ठूलो जनधनको क्षति भएको, प्रभावित समुदाय विस्थापित भएको र धेरै मानिस पीडामा रहेको अवस्थामा ठूलो खेलकुद उत्सव आयोजना गर्नु उपयुक्त नहुने निष्कर्षसहित प्रतियोगिता स्थगित गरिएको आयोजकले जनाएको छ ।
आयोजकका अनुसार एभरेस्ट महिला भलिबल लिग केवल खेलकुद प्रतियोगिता मात्र नभई नेपाली जनता, समुदाय, सामाजिक सहिष्णुता र नेपालको भावनालाई प्रतिनिधित्व गर्ने कार्यक्रम हो । यस्तो अवस्थामा विपद्बाट प्रभावित तथा शोकसन्तप्त नेपाली समुदायसँग ऐक्यबद्धता जनाउनु आफ्नो जिम्मेवारी भएको आयोजकको भनाइ छ ।
एभरेस्ट महिला भलिबल लिगका प्रमुख कार्यकारी अधिकृत (सिइओ) स्नेभी चापागाईंले जारी गर्नुभएको विज्ञप्तिमा विपद्को समयमा प्रभावित समुदायको पीडा र अवस्थालाई प्राथमिकतामा राख्दै प्रतियोगिता स्थगित गर्ने निर्णय गरिएको उल्लेख छ । उहाँले लिगले प्रतिनिधित्व गर्ने मूल भावना र सामाजिक जिम्मेवारीलाई ध्यानमा राखेर तत्काल प्रतियोगिता आयोजना नगर्ने निर्णय गरिएको बताउनुभएको छ ।
प्रतियोगिता स्थगित गर्ने निर्णय सहज नभए पनि वर्तमान परिस्थितिमा आवश्यक रहेको आयोजकले जनाएको छ । तेस्रो संस्करणको तयारीका क्रममा लामो समयदेखि सक्रिय रहेका खेलाडी, सहभागी टोली, अधिकारी, साझेदार, समर्थक तथा प्रतियोगितासँग जोडिएका सबै पक्षप्रति आयोजकले सम्मान र आभार व्यक्त गरेको छ ।
तेस्रो संस्करणको तयारी अन्तिम चरणतर्फ अघि बढिरहेका बेला प्रतियोगिता स्थगित भएपछि यसको नयाँ मिति भने तत्काल सार्वजनिक गरिएको छैन । आयोजकले परिस्थितिको उपयुक्त मूल्याङ्कनपछि प्रतियोगिताको नयाँ मिति तय गर्ने जनाएको छ । त्यसका लागि लिगलाई उपयुक्त समयमा पुनःतालिका बनाएर आयोजना गरिनेछ ।
आयोजकले प्रतियोगिता स्थगित भए पनि एभरेस्ट महिला भलिबल लिगले अघि सारेको उद्देश्य र भावनामा कुनै परिवर्तन नआउने स्पष्ट पारेको छ । उपयुक्त समय र परिस्थितिमा पुनः प्रतियोगिता आयोजना गर्दा यसअघिकै ऊर्जा, जोश र उद्देश्यलाई निरन्तरता दिने प्रतिबद्धता आयोजकले व्यक्त गरेको छ ।
एभरेस्ट महिला भलिबल लिगको तेस्रो संस्करण असोजमा आयोजना गर्ने तयारी थियो । प्रतियोगिताका लागि खेलाडी, टोली तथा अन्य सरोकारवालाले तयारी अघि बढाइरहेका अवस्थामा रसुवामा आएको बाढीपहिरोले सिर्जना गरेको विपद्को अवस्थालाई ध्यानमा राखेर प्रतियोगिता रोकिएको हो ।
आयोजकको निर्णयले निर्धारित खेल तालिका तत्कालका लागि अन्योलमा परे पनि नयाँ मिति तय भएपछि प्रतियोगिता पुनः सञ्चालन हुने भएको छ । त्यसका लागि विपद्को अवस्था र परिस्थितिलाई ध्यानमा राखेर उपयुक्त समय छनोट गरिने आयोजकले जनाएको छ ।
खेलकुद प्रतियोगिता स्थगित गर्ने निर्णयसँगै आयोजकले विपद्बाट प्रभावित तथा शोकमा रहेका समुदायप्रति ऐक्यबद्धता प्रकट गरेको छ । प्रतियोगिता आयोजना गर्नुको सट्टा विपद्को समयमा प्रभावित समुदायको अवस्थालाई प्राथमिकतामा राख्ने निर्णयलाई आयोजकले लिगको सामाजिक जिम्मेवारीसँग जोडेको छ ।
तेस्रो संस्करण स्थगित भए पनि एभरेस्ट महिला भलिबल लिगले आगामी दिनमा पुनः प्रतियोगिता आयोजना गर्ने जनाएको छ । उपयुक्त समय आएपछि नयाँ तालिकासहित प्रतियोगिता सञ्चालन गरिने र लिगले बोकेको ऊर्जा, जोश तथा उद्देश्यलाई निरन्तरता दिइने आयोजकको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्