लायन्स क्लब इन्टरनेसनल अन्तर्गत मल्टिपल डिष्ट्रिक्ट ३२५ ले प्रभावित परिवारको उद्धार तथा राहतका लागि एक करोड सहयोग गर्ने

 

काठमाडौं, ११ भदौ । रसुवा, नुवाकोट हुँदै मुग्लिङसम्म भोटेकोशी–त्रिशूली नदी आसपासका क्षेत्रमा बाढीबाट भएको जनधनको क्षतिपछि लायन्स क्लब इन्टरनेसनलअन्तर्गत नेपालको मल्टिपल डिष्ट्रिक्ट ३२५ ले प्रभावित परिवारको उद्धार तथा राहतका लागि एक करोड रुपैयाँ सहयोग परिचालन गर्ने निर्णय गरेको छ ।

मल्टिपल काउन्सिल चियरपर्सन लायन केशरबहादुर भण्डारीको पहलमा तत्काल राहत संकलन तथा वितरणलाई अघि बढाउने निर्णय गरिएको हो । मल्टिपल डिष्ट्रिक्ट ३२५ अन्तर्गत १५ वटा डिष्ट्रिक्ट रहेका छन् ।

बुधबार बसेको काउन्सिल अफ गभर्नर्सको बैठकले चीनको तिब्बत क्षेत्रबाट आएको लेदोसहितको ठूलो बाढीका कारण रसुवाको टिमुरे, नुवाकोटको त्रिशूली हुँदै मुग्लिङसम्मका नदी तटीय क्षेत्रमा ठूलो क्षति भएको निष्कर्ष निकालेको थियो । बैठकले विपद्मा परेका नागरिकलाई तत्काल राहत उपलब्ध गराउन संस्थागत रूपमा आर्थिक सहयोग जुटाउने निर्णय गरेको हो ।

निर्णयअनुसार मल्टिपल डिष्ट्रिक्टअन्तर्गतका प्रत्येक डिष्ट्रिक्टबाट न्यूनतम ६ लाख ६६ हजार ६ सय ६६ रुपैयाँका दरले रकम संकलन गरिनेछ । यसरी संकलित रकमलाई एकीकृत गरी कुल एक करोड रुपैयाँ बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्यमा परिचालन गर्ने योजना बनाइएको छ ।

राहत संकलनको प्रक्रिया सुरु भइसकेको लायन्स क्लबले जनाएको छ । निर्णयअनुसार डिष्ट्रिक्ट ३२५ एफले आफ्नोतर्फबाट ६ लाख ६६ हजार ६ सय ६६ रुपैयाँ मल्टिपल डिष्ट्रिक्ट ३२५ को खातामा जम्मा गरिसकेको छ ।

मल्टिपल काउन्सिलका प्रमुख प्रशासक प्रद्युम्न पोखरेलका अनुसार अन्य डिष्ट्रिक्टबाट पनि बिहीबारदेखि सहयोग रकम संकलन सुरु भएको छ । सबै डिष्ट्रिक्टबाट संकलित रकम मल्टिपल डिष्ट्रिक्टको समन्वयमा प्रभावित क्षेत्रमा आवश्यकताका आधारमा परिचालन गरिनेछ ।

बाढीपछि प्रभावित क्षेत्रमा उद्धारसँगै तत्कालीन राहत, खाद्यान्न, आवास तथा अन्य आधारभूत आवश्यकताको व्यवस्थापन चुनौतीपूर्ण बनेको अवस्थामा गैरसरकारी तथा सामाजिक संस्थाबाट हुने सहयोगले राहत कार्यमा थप सहजीकरण हुने अपेक्षा गरिएको छ । लायन्स क्लबले भने संकलित रकमलाई प्रभावित क्षेत्रको आवश्यकता पहिचान गरी राहत तथा उद्धार कार्यमा खर्च गर्ने जनाएको छ ।

मल्टिपल डिष्ट्रिक्ट ३२५ ले राहत सहयोगका लागि रकम जम्मा गर्न इच्छुक डिष्ट्रिक्ट तथा सम्बन्धित पक्षलाई आफ्नो बैंक खातामा रकम जम्मा गर्नसमेत अनुरोध गरेको छ । संस्थाले उपलब्ध गराएको बैंक विवरणअनुसार नेपाल इन्भेस्टमेन्ट बैंकमा रहेको सम्बन्धित खातामार्फत सहयोग रकम संकलन गरिने जनाइएको छ ।

विपद्का बेला तत्काल आर्थिक स्रोत परिचालन गर्नुपर्ने आवश्यकतालाई ध्यानमा राख्दै लायन्स क्लबले आफ्ना विभिन्न डिष्ट्रिक्टलाई एउटै संयन्त्रमार्फत परिचालन गर्ने प्रयास गरेको हो । एकीकृत रूपमा संकलित रकमलाई प्रभावित नागरिकको उद्धार तथा राहतमा परिचालन गर्ने निर्णयले संस्थागत सहयोगलाई व्यवस्थित बनाउने उद्देश्य देखाएको छ ।

लायन्स क्लबले बाढीबाट प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै राहत संकलनलाई तीव्रता दिने जनाएको छ । संकलित एक करोड रुपैयाँले तत्काल उद्धार तथा राहतमा योगदान पु¥याउने र विपद्बाट प्रभावित परिवारलाई केही राहत पुग्ने अपेक्षा लायन्स क्लबको छ ।

 

प्रतिक्रिया दिनुहोस्