काठमाडौँ, ११ भदौ । तिब्बतमा हिमताल फुटेर आएको आकस्मिक बाढीले नेपालको विद्युत् क्षेत्रमा ठूलो क्षति पु¥याएको छ । भोटेकोशी र त्रिशूली नदी आसपास आएको विनाशकारी बाढीका कारण सञ्चालनमा रहेका तथा निर्माणाधीन गरी ९०४ मेगावाट क्षमताका १८ विद्युत् आयोजना प्रभावित भएका छन् । बाढीका कारण केही आयोजनाको विद्युत् उत्पादन पूर्ण रूपमा बन्द भएको छ भने निर्माणाधीन आयोजनामा पनि संरचनागत क्षति पुगेको प्रारम्भिक विवरण आएको छ ।
नेपाल विद्युत् प्राधिकरण र स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) बाट प्राप्त विवरणलाई संयोजन गर्दा बाढीबाट प्रभावित आयोजनाको कुल क्षमता ९०४ मेगावाट पुगेको देखिएको हो । प्रभावितमध्ये ५०९ मेगावाट क्षमताका १३ आयोजना सञ्चालनमा रहेका थिए भने ३९५ मेगावाट क्षमताका पाँच आयोजना निर्माणाधीन अवस्थामा थिए ।
बाढीका कारण तत्काल विद्युत् उत्पादनमा समेत ठूलो असर परेको छ । प्राधिकरणका अनुसार प्रारम्भिक चरणमा ४३१ दशमलव १ मेगावाट क्षमताका १२ आयोजनाबाट विद्युत् उत्पादन बन्द भएको थियो । तीमध्ये केही आयोजना बाढीको प्रत्यक्ष चपेटामा परेका छन् भने केही आयोजनामा बाढीका कारण पहुँचमार्ग, प्रसारण संरचना तथा अन्य सहायक पूर्वाधारमा क्षति पुगेपछि उत्पादन रोकिएको हो ।
सञ्चालनमा रहेका आयोजनामध्ये १११ मेगावाटको रसुवागढी, ७८ मेगावाटको सालासुङ, १४ दशमलव ८ मेगावाटको अप्पर साञ्जेन, ४२ दशमलव ५ मेगावाटको साञ्जेन, २२ मेगावाटको चिलिमे, २० मेगावाटको लाङटाङ र ६० मेगावाटको माथिल्लो त्रिशूली–३ ‘ए’ प्रभावित भएका छन् ।
त्यस्तै १४ दशमलव ८ मेगावाटको माथिल्लो मैलुङ, पाँच मेगावाटको मैलुङ, २४ मेगावाटको त्रिशूली र १४ मेगावाटको देवीघाट जलविद्युत् आयोजना पनि बाढीबाट प्रभावित भएका छन् । नुवाकोटस्थित नेपाल विद्युत् प्राधिकरणको २५ मेगावाट क्षमताको सौर्य विद्युत् आयोजना समेत बाढीको प्रभावमा परेको छ । ७८ मेगावाटको साञ्जेन खोला जलविद्युत् आयोजनामा पनि बाढीले असर गरेको प्रारम्भिक विवरण छ ।
बाढीले सञ्चालनमा रहेका आयोजनामात्र नभई निर्माणाधीन आयोजनालाई समेत प्रभावित बनाएको छ । निर्माणाधीनतर्फ २१६ मेगावाटको माथिल्लो त्रिशूली–१, १२० मेगावाटको रसुवा भोटेकोशी, ६ दशमलव २४ मेगावाटको माथिल्लो मेलुङ ‘ए’, ३७ मेगावाटको माथिल्लो त्रिशूली–३ ‘बी’ र १५ दशमलव ६ मेगावाटको मध्य त्रिशूली आयोजना प्रभावित भएका छन् ।
विद्युत् आयोजनासँगै प्रसारण पूर्वाधारमा समेत बाढीले क्षति पु¥याएको छ । त्रिशूली–३ ‘बी’ हबमा रहेको २२० केभीको सबस्टेसनमा बाढीले क्षति पु¥याएको छ । सबस्टेसनमा पुगेको क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको प्राधिकरणले जनाएको छ । प्रसारण संरचनामा क्षति पुग्दा उत्पादन भएका विद्युत् राष्ट्रिय प्रणालीमा जोड्नसमेत थप समस्या उत्पन्न हुन सक्ने देखिएको छ ।
चीनतर्फबाट आएको ठूलो बाढी बिहान करिब सवा ९ बजे भोटेकोशी नदी हुँदै नेपाल प्रवेश गरेको प्रारम्भिक विवरण छ । अचानक आएको बाढीका कारण नदी आसपासका संरचनामा क्षति पुगेको हो । बाढीको प्रभावबारे प्रारम्भिक विवरण सार्वजनिक भए पनि आयोजनाका बाँध, विद्युत्गृह, सुरुङ, प्रसारण लाइन, पहुँचमार्ग तथा अन्य संरचनामा भएको वास्तविक क्षतिको पूर्ण मूल्याङ्कन हुन बाँकी छ ।
विद्युत् उत्पादन तथा प्रसारण पूर्वाधारमा एकैपटक ठूलो असर परेपछि क्षतिग्रस्त संरचनाको पुनःस्थापना तत्कालको मुख्य चुनौती बनेको छ । प्रभावित आयोजनाको विस्तृत प्राविधिक मूल्याङ्कनपछि मात्रै क्षतिको वास्तविक अवस्था र पुनःनिर्माणमा लाग्ने समयबारे स्पष्ट हुने देखिन्छ । बाढीका कारण ऊर्जा क्षेत्रमा परेको असरले प्राकृतिक विपद्को जोखिमयुक्त क्षेत्रमा निर्माण गरिएका जलविद्युत् तथा प्रसारण पूर्वाधारको सुरक्षा र विपद् व्यवस्थापनमाथि समेत नयाँ प्रश्न उठाएको छ ।
प्रतिक्रिया दिनुहोस्