काठमाडौँ, १० भदौ : चीनबाट प्राप्त सूचनाअनुसार लेन्दे खोला थुनिएको स्थानमा बनेको ताल अझै पूर्णरूपमा नखुलेका कारण भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा बाढीको जोखिम अझै टरेको छैन । जल विज्ञान तथा अनुसन्धान केन्द्रका अनुसार तिब्बततर्फ मेतेरी पुलबाट करिब १० किलोमिटर माथि लेन्दे खोला थुनिएको अनुमान गरिएको छ ।
सो स्थानमा बनेको ताल पूर्णरूपमा नखुलेसम्म भोटेकोशी हुँदै त्रिशूली नदीको तल्लो तटीय क्षेत्रमा जोखिम कायमै रहेको केन्द्रका बाढीविद् विनोद पराजुलीले जानकारी दिनुभयो । उहाँले अर्को सूचना जारी नभएसम्म भोटेकोशी तथा त्रिशूली नदीको आसपास नजान र नदीबाट टाढा सुरक्षित स्थानमा रहन आग्रह गर्नुभयो । “चीनतर्फबाट प्राप्त सूचनाअनुसार नदी थुनिएको स्थानमा बनेको ताल अझै पूर्णरूपमा खुलेको छैन ।
त्यसैले भोटेकोसी र त्रिशूली क्षेत्रमा जोखिम कायमै छ”, उहाँले भन्नुभयो । केन्द्रले नदीको जलसतह तथा माथिल्लो क्षेत्रमा विकसित भइरहेको अवस्थाबारे निरन्तर निगरानी गरिरहेको जनाएको छ । केन्द्रका अनुसार देवघाट बाढी मापन केन्द्रमा हाल पानीको सतह ४.७६ मिटर रहेको छ ।
बाढीको बहाव करिब दिउँसो ३ः३० बजे देवघाटमा आइपुग्ने अनुमान गरिएको छ । केन्द्रको आकलनअनुसार पानीको सतहमा करिब ३ मिटरले वृद्धि हुन सक्ने देखिन्छ । यसअनुसार पानीको सतह करिब ८ मिटर पुग्न सक्ने र यो २–३ वर्ष पुनरावृत्ति अवधिको बाढी हुने अनुमान गरिएको छ ।
यस अनुसार चितवन र नवलपरासीको क्षेत्रमा डुबान हुने सम्भावना कम छ । तथापि अर्को सूचना जारी नहुँदासम्म नदीको छेउछाउका बस्ती–बजारका बासिन्दाहरू सुरक्षित स्थानमा रहन केन्द्रले आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस्