काठमाडौँ, ९ भदौ । रौतहटको गरुडा नगरपालिकामा ५ मेगावाट क्षमताको सौर्य विद्युत् आयोजना निर्माण हुने भएको छ । निजी क्षेत्रको प्रवद्र्धनमा अघि बढ्न लागेको गरुडा सौर्य विद्युत् आयोजनाले सौर्य ऊर्जामार्फत विद्युत् उत्पादन बढाउँदै राष्ट्रिय प्रसारण प्रणालीमा थप ऊर्जा उपलब्ध गराउने लक्ष्य राखेको छ ।
आयोजना निर्माणका लागि प्रवद्र्धक कम्पनी सन लाइट रिन्युएबल इनर्जी प्रालिले विद्युत् विकास विभागमा उत्पादन अनुमतिपत्रका लागि आवेदन दिएको छ । अनुमतिपत्रको प्रक्रिया अघि बढेसँगै आयोजना निर्माणको तयारीसमेत तीव्र पारिएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयबाट २०८३ असार २६ गते स्वीकृत संक्षिप्त वातावरणीय अध्ययन प्रतिवेदन तथा विस्तृत परियोजना प्रतिवेदनअनुसार आयोजना निर्माणका लागि करिब ४ दशमलव ७५ हेक्टर जग्गा आवश्यक पर्नेछ । उक्त क्षेत्रमा सौर्य प्यानल तथा विद्युत् उत्पादनसँग सम्बन्धित अन्य संरचना निर्माण गरिनेछ ।
आयोजनाले सोलार फोटोभोल्टाइक प्रविधिबाट विद्युत् उत्पादन गर्नेछ । सौर्य प्यानलबाट उत्पादन हुने प्रत्यक्ष विद्युत् अर्थात् ‘डिसी’लाई इन्भर्टरमार्फत प्रत्यावर्ती विद्युत् अर्थात् ‘एसी’मा रूपान्तरण गरी राष्ट्रिय प्रसारण प्रणालीमा पठाइनेछ ।
यसका लागि ३०० किलोवाट क्षमताका १६ वटा र २०० किलोवाट क्षमताको एउटा स्ट्रिङ इन्भर्टर जडान गर्ने प्रस्ताव गरिएको छ । यी संरचनामार्फत करिब ५ मेगावाट विद्युत् उत्पादन गरी ३३ केभी प्रसारण लाइनमार्फत नेपाल विद्युत् प्राधिकरणको मानपुर सबस्टेसनमा जोडिनेछ ।
आयोजनाबाट वार्षिक औसत ९ दशमलव ८०१ गिगावाट घण्टा विद्युत् उत्पादन हुने अनुमान गरिएको छ । सौर्य ऊर्जामा आधारित भएकाले दिनको समयमा उत्पादन हुने विद्युत् प्रणालीमा थपिनेछ । यसले ऊर्जा उत्पादनका स्रोत विविधीकरण गर्नसमेत योगदान पु¥याउने अपेक्षा गरिएको छ ।
प्रवद्र्धक कम्पनीले आयोजना २०८३ चैतभित्र निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने लक्ष्य राखेको छ । निर्धारित समयमै निर्माण सम्पन्न भएमा आगामी चैतभित्रै रौतहटबाट राष्ट्रिय प्रसारण प्रणालीमा थप ५ मेगावाट विद्युत् उपलब्ध हुने सम्भावना छ ।
आयोजना निर्माण र सञ्चालनका क्रममा वातावरणीय प्रभावलाई न्यून गर्ने विषयलाई पनि प्राथमिकतामा राखिएको छ । विद्युत् विकास विभागका अनुसार विद्युत् ऐन, २०४९ को दफा २४ बमोजिम भू–क्षय, वायु प्रदूषणलगायत वातावरणमा पर्न सक्ने प्रतिकूल प्रभावलाई स्वीकृत वातावरणीय अध्ययन प्रतिवेदनअनुसार व्यवस्थापन गर्नुपर्नेछ ।
विभागले आयोजनाबाट वातावरणमा उल्लेखनीय प्रतिकूल असर पर्ने देखिएमा सरोकारवालालाई आफ्नो राय तथा प्रतिक्रिया दिन आग्रह गरेको छ । विभागले सार्वजनिक गरेको सूचनाअनुसार त्यस्तो प्रतिक्रिया ३५ दिनभित्र विभाग वा प्रवद्र्धक कम्पनीको कार्यालयमा लिखित रूपमा पठाउन सकिनेछ ।
पछिल्लो समय नेपालमा सौर्य ऊर्जामा निजी क्षेत्रको लगानी बढ्दै गएको अवस्थामा गरुडामा प्रस्तावित आयोजना पनि ऊर्जा मिश्रण विस्तार गर्ने प्रयासका रूपमा देखिएको छ । आयोजना निर्धारित समयमै निर्माण सम्पन्न भएमा रौतहटको ऊर्जा पूर्वाधारमा योगदान पुग्नुका साथै राष्ट्रिय प्रसारण प्रणालीमा नवीकरणीय ऊर्जाको हिस्सा थप बढ्नेछ ।
प्रतिक्रिया दिनुहोस्