काठमाडौँ, २ भदौ । नेपालमा जापानिज इन्सेफलाइटिस (जेई) को संक्रमण फेरि गम्भीर जनस्वास्थ्य चुनौतीका रूपमा देखिन थालेको छ । परिवार कल्याण महाशाखाको पछिल्लो तथ्याङ्कअनुसार देशभर ८७८ जनामा एक्युट इन्सेफलाइटिस सिन्ड्रोम (एईएस) का केस देखिएकामा ६३ जनामा जेई संक्रमण पुष्टि भएकोमध्ये १६ जनाको मृत्यु भइसकेको छ भने ३१ जना उपचाररत छन् ।
पुष्टि भएका संक्रमितमध्ये ३४ पुरुष र २९ महिला छन् । हालसम्म २२ जिल्लाका ५० स्थानीय तहमा संक्रमण देखिएको तथ्याङ्कले जेई अब कुनै निश्चित भूगोल वा उमेर समूहमा मात्र सीमित रहेको मान्न कठिन हुँदै गएको देखाउँछ । मृत्यु भएका १६ जनामध्ये नौ महिला र सात पुरुष छन् । मृतकमध्ये ८८ प्रतिशत ५० वर्षभन्दा माथिका रहेको तथ्याङ्कले विशेषगरी वयस्क तथा ज्येष्ठ नागरिकमा जोखिम गम्भीर रहेको देखाएको छ ।
मृत्यु भएका सबैले जेईविरुद्धको खोप नलगाएको पाइएको महाशाखाले जनाएको छ । मृतकमध्ये झापामा पाँच, सुनसरी र सप्तरीमा दुई–दुई तथा मोरङ, इलाम, रौतहट, धनुषा, पर्सा, काभ्रे र दाङमा एक–एक जना रहेका छन् । यसले संक्रमणको भौगोलिक फैलावटसँगै जोखिममा रहेका जनसंख्याको पहिचान र खोपको पहुँचबारे पनि पुनर्विचार आवश्यक देखाएको छ ।
नेपालमा जापानिज इन्सेफलाइटिसलाई लामो समयसम्म मुख्यतः बालबालिकालाई प्रभावित गर्ने तथा तराई क्षेत्रमा बढी देखिने रोगका रूपमा बुझिँदै आएको थियो । तर पछिल्ला वर्षको तथ्याङ्क र अध्ययनले यसको स्वरूप परिवर्तन भइरहेको देखाएका छन् । सन् २०२६ जुलाईमा प्रकाशित एक अध्ययनले नेपालमा जेई बालबालिकामा केन्द्रित र तराईमा सीमित रोगबाट भौगोलिक रूपमा विस्तार हुँदै संवेदनशील वयस्कलाई समेत प्रभावित गर्ने अवस्थामा पुगेको उल्लेख गरेको छ ।
यो परिवर्तनलाई केवल संक्रमणको संख्या बढेको रूपमा मात्र हेर्नु पर्याप्त हुँदैन । बालबालिकालाई लक्षित खोप कार्यक्रम विस्तार हुँदै गएपछि नयाँ पुस्तामा जोखिम घटेको भए पनि विगतमा खोपको पहुँच नपाएका वा खोप नलगाएका वयस्क समूहमा संवेदनशीलता कायम रहन सक्ने स्वास्थ्य विज्ञहरूको विश्लेषण छ । सन् २०२५ को पुनरुत्थानले पनि ४० वर्षभन्दा माथिका समूहमा रहेको प्रतिरक्षा अन्तरलाई उजागर गरेको अध्ययनमा उल्लेख छ ।
नेपालले जेई नियन्त्रणमा खोप कार्यक्रममार्फत महत्वपूर्ण प्रगति गरेको इतिहास छ । सन् २००५ मा नेपालमा जेईका कारण करिब दुई हजार मानिसको मृत्यु भएको थियो, जसमा अधिकांश तराईका बालबालिका थिए । त्यसपछि सन् २००६ देखि जेईविरुद्ध खोप अभियान सुरु गरिएको थियो ।
यसरी हेर्दा अहिलेको चुनौती विगतमा फर्किनु मात्र होइन, रोगको स्वरूप बदलिनुसमेत हो । बालबालिकालाई लक्षित खोप कार्यक्रमले हासिल गरेको उपलब्धिलाई कायम राख्दै खोप नपाएका वयस्क र उच्च जोखिममा रहेका समूहसम्म पनि सुरक्षा विस्तार गर्नुपर्ने आवश्यकता देखिन्छ ।
महाशाखाको तथ्याङ्कअनुसार अधिकांश संक्रमित धानबारी तथा सुँगुर फार्म आसपास बसोबास गर्ने गरेका छन् । संक्रमितमध्ये ६२ प्रतिशतको मुख्य पेसा कृषि रहेको पाइएको छ । जेई भाइरस मानिसमा संक्रमित लामखुट्टेको टोकाइबाट सर्छ । सुँगुर र केही चराचुरुङ्गी भाइरसका महत्वपूर्ण प्राकृतिक स्रोतका रूपमा रहने भएकाले धानबारी, सुँगुर फार्म तथा त्यस्ता वातावरणसँग नजिक रहेका समुदायमा जोखिम बढी हुन सक्छ ।
जेई विशेषगरी मनसुनको समयमा बढी देखिन्छ । नेपालमा यसको जोखिम परम्परागत रूपमा जुनदेखि अक्टोबरसम्मको मनसुन अवधिमा बढी रहने उल्लेख गरिएको छ । त्यसैले अहिले संक्रमण पुष्टि भइरहेका बेला जोखिम क्षेत्रका नागरिक, स्वास्थ्य संस्था र स्थानीय सरकार थप सतर्क रहनुपर्ने अवस्था छ ।
जेईको अर्को चुनौती यसको गम्भीरता हो । यो मस्तिष्कमा असर गर्ने भाइरल संक्रमण भएकाले संक्रमित व्यक्तिमा ज्वरो, टाउको दुख्ने, घाँटीका मांसपेशी कडा हुने, चेतनामा परिवर्तन, कम्पन, अचेत हुने तथा पक्षाघातजस्ता लक्षण देखिन सक्छन् । गम्भीर अवस्थामा मृत्यु हुनुका साथै बाँचेकामा दीर्घकालीन स्नायु तथा मस्तिष्कसम्बन्धी समस्या रहन सक्छ । विश्व स्वास्थ्य संगठनका अनुसार गम्भीर जेई भएका बिरामीमध्ये करिब एकतिहाइको मृत्यु हुन सक्ने र बाँचेकामध्ये ठूलो हिस्सामा दीर्घकालीन अशक्तता रहन सक्ने जोखिम हुन्छ ।
हाल देखिएको संक्रमण र मृत्युको तथ्याङ्कले नेपालको जेई नियन्त्रण रणनीतिमाथि एउटा महत्वपूर्ण प्रश्न उठाएको छ । बालबालिकामा केन्द्रित खोप कार्यक्रमबाट प्राप्त उपलब्धिलाई अब वयस्क समूहसम्म कसरी विस्तार गर्ने ?
यस वर्ष सरकारले जेईको उच्च भार भएका ११ जिल्लामा खोप कार्यक्रम सञ्चालन गर्न बजेट छुट्याएको छ । चितवन, कैलाली, तनहुँ, दाङ, झापा, कपिलवस्तु, मोरङ, रुपन्देही, सुनसरी, रौतहट र सर्लाहीलाई उच्च जोखिमका जिल्लाका रूपमा प्राथमिकता दिइएको छ ।
स्वास्थ्य क्षेत्रका विज्ञहरूले पहिले खोप नपाएका जोखिममा रहेका सबै व्यक्तिलाई कम्तीमा एक मात्रा जेई खोप उपलब्ध गराउनुपर्ने सुझाव दिँदै आएका छन् । पछिल्लो तथ्याङ्कमा संक्रमित र मृत्यु भएका व्यक्तिमध्ये वयस्कको हिस्सा उल्लेख्य देखिनुले यो सुझावलाई थप सान्दर्भिक बनाएको छ ।
तर खोप मात्र पर्याप्त उपाय भने होइन । जेई नियन्त्रणका लागि लामखुट्टेको नियन्त्रण, जोखिम क्षेत्रको नियमित निगरानी, शीघ्र रोग पहिचान, प्रयोगशाला परीक्षण, समुदायस्तरमा जनचेतना र जोखिमयुक्त वातावरणको व्यवस्थापन समानान्तर रूपमा अघि बढाउनुपर्ने देखिन्छ । हालै प्रकाशित अध्ययनले पनि खोपसँगै जलवायु तथा वातावरणीय परिवर्तनलाई ध्यानमा राखिएको निगरानी, ‘वन हेल्थ’ दृष्टिकोण र लामखुट्टे नियन्त्रणलाई जोड दिनुपर्ने आवश्यकता औँल्याएको छ ।
जेई पहिले पूर्वी तराईमा बढी केन्द्रित देखिए पनि पछिल्ला वर्षमा यसको फैलावट अन्य भूभागमा समेत देखिएको छ । सन् २०२५ मा संक्रमण ४५ भन्दा बढी जिल्लाका ११७ भन्दा बढी स्थानीय तहमा फैलिएको र १४१ जनामा संक्रमण पुष्टि हुँदा ४१ जनाको मृत्यु भएको स्वास्थ्यसम्बन्धी प्रकाशित तथ्याङ्कले देखाउँछ । सन् २०२४ मा पनि कम्तीमा ८० जनामा संक्रमण र २३ जनाको मृत्यु भएको थियो ।
यसले संक्रमणको निगरानीलाई परम्परागत रूपमा उच्च जोखिम मानिएका तराई क्षेत्रमै सीमित राख्न नहुने देखाउँछ । काठमाडौँ उपत्यकामा समेत विगतमा स्थानीय संक्रमण पुष्टि भइसकेको अध्ययन छ ।
वातावरणीय परिवर्तन, जमिनको प्रयोगमा आएको परिवर्तन र लामखुट्टेको पारिस्थितिक अवस्थाजस्ता विषयले जेईको भौगोलिक फैलावटमा प्रभाव पार्न सक्ने पछिल्लो अनुसन्धानले औँल्याएको छ । त्यसैले रोग नियन्त्रणलाई स्वास्थ्य मन्त्रालयको मात्र जिम्मेवारीका रूपमा हेर्नुभन्दा कृषि, पशुपन्छी, वातावरण र स्थानीय शासनसँग जोडेर अघि बढाउनु आवश्यक देखिन्छ ।
अहिलेको तथ्याङ्कले तत्काल आतंकित हुनुपर्नेभन्दा पनि सावधानी र पूर्वतयारीलाई बलियो बनाउनुपर्ने सन्देश दिन्छ । वर्षायाममा जेईको जोखिम बढ्ने भएकाले उच्च जोखिमका जिल्लामा स्वास्थ्य संस्थाको तयारी, परीक्षण क्षमता र उपचार व्यवस्थापनलाई प्रभावकारी बनाउनुपर्ने हुन्छ । समुदायमा पनि जेईका सम्भावित लक्षणबारे पर्याप्त जानकारी पु¥याउन आवश्यक छ ।
विशेषगरी ५० वर्षभन्दा माथिका, खोप नलगाएका तथा धानबारी र सुँगुर फार्म आसपास बसोबास गर्ने नागरिकलाई जोखिमबारे सचेत गराउनु जरुरी देखिन्छ । लामखुट्टेको टोकाइबाट जोगिने व्यवहार अपनाउनु, जोखिमयुक्त स्थानमा सावधानी अपनाउनु र लक्षण देखिएमा समयमै स्वास्थ्य संस्थामा पुग्नु महत्वपूर्ण हुन्छ ।
जापानिज इन्सेफलाइटिस नेपालका लागि नयाँ रोग होइन । विगतमा यसले ठूलो मानवीय क्षति गराइसकेको छ र खोप कार्यक्रममार्फत त्यसलाई उल्लेख्य रूपमा नियन्त्रण गर्न पनि सम्भव भएको छ । तर पछिल्लो संक्रमणको स्वरूपले नियन्त्रणमा प्राप्त सफलतालाई स्थायी उपलब्धि ठान्ने अवस्था नरहेको देखाउँछ ।
प्रतिक्रिया दिनुहोस्