काठमाडौं, २९ साउन । नेपाल एसबिआई बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२÷८३ मा आफ्नो वित्तीय अवस्थामा उल्लेख्य सुधार गरेको छ । बैंकको नाफा बढेको मात्र छैन, व्यवसाय विस्तारसँगै खराब कर्जा घटाउनसमेत बैंक सफल भएको छ । बैंकले सार्वजनिक गरेको वित्तीय विवरणले आम्दानी, निक्षेप, कर्जा तथा सम्पत्तिको गुणस्तरमा सुधारको संकेत गरेको हो ।
गत आर्थिक वर्ष बैंकले २ अर्ब ४ करोड ४३ लाख ३० हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा १२.८८ प्रतिशतले बढी हो । आर्थिक वर्ष २०८१÷८२ मा बैंकले १ अर्ब ८१ करोड ९ लाख ६० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । यसरी एक वर्षमा बैंकको खुद नाफा २३ करोड रुपैयाँभन्दा बढीले वृद्धि भएको छ ।
बैंकको नाफा वृद्धिलाई केवल ब्याज आम्दानीको विस्तारले मात्रै धानेको भने देखिँदैन । शुल्क तथा कमिसनबाट हुने आम्दानी बढ्नु र समग्र सञ्चालन आम्दानीमा सुधार आउनुले पनि नाफा वृद्धिमा योगदान गरेको छ ।
गत असारसम्म बैंकको खुद ब्याज आम्दानी ५ अर्ब ३३ करोड ४३ लाख १० हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो आम्दानी ५ अर्ब २६ करोड ६० लाख ४४ हजार रुपैयाँ थियो । खुद ब्याज आम्दानीमा सामान्य वृद्धि भए पनि शुल्क तथा कमिसनतर्फ भने बैंकले थप आम्दानी गरेको छ ।
बैंकको खुद शुल्क तथा कमिसन आम्दानी १ अर्ब ३० करोड २७ लाख ६८ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो आम्दानी १ अर्ब २१ करोड ६१ लाख ७९ हजार रुपैयाँ थियो । त्यस्तै, कुल सञ्चालन आम्दानी पनि ६ अर्ब ८० करोड ३५ लाख ९० हजार रुपैयाँबाट बढेर ७ अर्ब १५ करोड ७८ लाख २४ हजार रुपैयाँ पुगेको छ ।
सञ्चालन आम्दानीमा भएको वृद्धिको प्रभाव सञ्चालन नाफामा पनि परेको छ । बैंकको सञ्चालन नाफा अघिल्लो आर्थिक वर्षको २ अर्ब ७४ करोड ५२ लाख ४९ हजार रुपैयाँबाट बढेर २ अर्ब ९१ करोड ६१ लाख ४१ हजार रुपैयाँ पुगेको छ ।
कर्जा विस्तारको गति बढ्यो
बैंकको व्यवसाय विस्तारलाई हेर्दा गत आर्थिक वर्षमा कर्जा लगानीले निक्षेप वृद्धिभन्दा बढी गति लिएको देखिन्छ । बैंकले एक वर्षको अवधिमा कर्जा लगानी ८.२३ प्रतिशतले बढाएको छ ।
गत असारसम्म बैंकको कर्जा लगानी १ खर्ब ४६ अर्ब ७ करोड ७७ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले १ खर्ब ३४ अर्ब ९६ करोड ३७ लाख रुपैयाँ कर्जा लगानी गरेको थियो । एक वर्षमा बैंकले करिब ११ अर्ब रुपैयाँ थप कर्जा प्रवाह गरेको देखिन्छ ।
कर्जा विस्तारका लागि आवश्यक स्रोतका रूपमा रहेको निक्षेप पनि बढेको छ । बैंकको कुल निक्षेप ६.६२ प्रतिशतले बढेर २ खर्ब १२ अर्ब ८२ करोड ६४ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षमा बैंकसँग १ खर्ब ९९ अर्ब ६० करोड ३४ लाख रुपैयाँ निक्षेप थियो ।
बैंकको निक्षेप–कर्जा अनुपात ७१.१६ प्रतिशत रहेको छ । यसले बैंकको व्यवसाय विस्तारका लागि स्रोत व्यवस्थापन तुलनात्मक रूपमा सहज रहेको देखाउँछ ।
खराब कर्जा घट्नु मुख्य उपलब्धि
नेपाल एसबिआई बैंकको गत आर्थिक वर्षको वित्तीय विवरणमा सबैभन्दा सकारात्मक पक्षका रूपमा खराब कर्जा घटेको विषयलाई लिन सकिन्छ । कर्जा विस्तार भइरहेका बेला खराब कर्जा अनुपात घट्नु बैंकको जोखिम व्यवस्थापनका लागि महत्वपूर्ण मानिन्छ ।
अघिल्लो आर्थिक वर्ष ३.३५ प्रतिशत रहेको बैंकको खराब कर्जा गत आर्थिक वर्षमा घटेर २.९२ प्रतिशतमा झरेको छ । अर्थात् बैंकले कर्जा व्यवसाय विस्तार गर्दा खराब कर्जाको दबाबलाई केही हदसम्म नियन्त्रण गर्न सकेको छ ।
खराब कर्जा घट्नुले कर्जा असुली तथा जोखिम व्यवस्थापनमा बैंकको अवस्था सुधार हुँदै गएको संकेत गर्छ । बैंकिङ क्षेत्रमा कर्जा विस्तारसँगै खराब कर्जा बढ्ने जोखिम रहने भएकाले व्यवसाय विस्तारकै क्रममा यसको अनुपात घटाउनुलाई बैंकको सकारात्मक उपलब्धिका रूपमा हेर्न सकिन्छ ।
प्रतिसेयर आम्दानी पनि बढ्यो
नाफा वृद्धिको प्रभाव बैंकको प्रतिसेयर आम्दानीमा समेत परेको छ । अघिल्लो आर्थिक वर्ष १५.९८ रुपैयाँ रहेको बैंकको प्रतिसेयर आम्दानी गत आर्थिक वर्षमा बढेर १८.०४ रुपैयाँ पुगेको छ ।
बैंकको प्रतिसेयर नेटवर्थ १९४.७३ रुपैयाँ रहेको छ भने मूल्य–आम्दानी अनुपात २१.७७ गुणा रहेको छ । बैंकको चुक्ता पुँजी ११ अर्ब ३३ करोड ५१ लाख २४ हजार रुपैयाँ छ । त्यस्तै, जगेडा कोषमा ९ अर्ब ४८ करोड ६१ लाख २४ हजार रुपैयाँ सञ्चित रहेको छ ।
बैंकले गत आर्थिक वर्षमा १ अर्ब २५ करोड १६ लाख ३९ हजार रुपैयाँ वितरणयोग्य नाफा कमाएको छ । यसअनुसार बैंकको लाभांश वितरण क्षमता ११.०४ प्रतिशत पुगेको छ । अघिल्लो वर्ष यस्तो क्षमता १०.९८ प्रतिशत थियो ।
समग्र वित्तीय सूचकलाई हेर्दा नेपाल एसबिआई बैंकका लागि गत आर्थिक वर्ष ‘नाफा बढाउने, व्यवसाय विस्तार गर्ने र जोखिम घटाउने’ तीनवटै मोर्चामा सुधार भएको वर्ष बनेको देखिन्छ ।
अब बैंकका लागि चुनौती भनेको यही गतिलाई कायम राख्दै कर्जा विस्तारसँगै खराब कर्जालाई थप नियन्त्रणमा राख्नु हुनेछ । विशेषगरी बैंकिङ क्षेत्रमा कर्जाको गुणस्तरलाई लिएर दबाब कायम रहेका बेला एसबिआई बैंकले खराब कर्जा घटाउँदै नाफा बढाउनुलाई आगामी वित्तीय प्रदर्शनका लागि सकारात्मक आधार मान्न सकिन्छ ।
प्रतिक्रिया दिनुहोस्