‘गणतन्त्र मैले चाहेर आएको होइन, मैले चाहेर जाने पनि होइन’,देउवाको स्वदेश फिर्तीसँगै कांग्रेस संस्थापनइतर समूहको राष्ट्रिय भेला 

काठमाडौँ, २९ साउन । नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा पाँच महिनापछि स्वदेश फर्किनुभएको छ । उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्न कांग्रेसका शीर्ष नेताहरू पूर्णबहादुर खड्का, डा शशाङ्क कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधी, कृष्णप्रसाद सिटौला, डा प्रकाशशरण महत, एनपी साउद, अम्बिका बस्नेत, ईश्वरी न्यौपाने, मीन विश्वकर्मा, मोहनबहादुर बस्नेत, उमाकान्त चौधरीलगायत पुग्नुभएको थियो । पूर्व प्रधानमन्त्री देउवालाई विमानस्थल परिसरदेखि निवाससम्म देशभरबाट आएका कांग्रेसका सयौँ नेता कार्यकर्ताहरूले नाराजुलुशसहित स्कर्टिङ गरेका थिए ।
उपचारका लागि लामो समय विदेशमा रहेका देउवा बिहीबार काठमाडौं फर्किएलगत्तै कांग्रेसको संस्थापनइतर समूहले चुनदेवीमा सञ्चालन गर्दै आएको सम्पर्क कार्यालय पुग्नुभएको छ । त्यहाँ उहाँले नेता तथा कार्यकर्तालाई सम्बोधन गर्दै आफूविरुद्ध भइरहेका अनुसन्धान, कानुनी प्रक्रियालगायत विषयमा आफ्नो धारणा राख्नुभयो ।
नेता देउवाले एक अपिल जारी गर्दै आफूलाई हिमालका शिखर, पहाडका हरियाली हराभरा र तराईका विशाल मैदानहरूले पुनः आफ्नै घरतर्फ बोलाएको उल्लेख गर्नुभएको छ । उहाँले आफू नेता बनेर नभई राष्ट्रको आजीवन नागरिक बनेर फर्किएको र विनम्रता, समर्पण र प्रेमका साथ सेवा गर्न तत्पर रहेको उल्लेख गर्नुभएको छ । पूर्व प्रधानमन्त्री देउवाले कांग्रेस केवल लोकतान्त्रिक इतिहास बोकेको दल मात्र नभई दशकौंको राजनीतिक सङ्घर्ष सहेर आफ्नो अस्तित्व र मर्यादा जोगाइराख्न सफल पार्टी भएको बताउनुभयो ।
“मैले हाम्रो युवा पुस्ताको मौन पीडा र प्रखर आवाज दुवै सुनेको छु । म स्पष्ट रूपमा भन्न चाहन्छु । कांग्रेसले युवा पुस्ताले माग गरेको परिवर्तनलाई आत्मसात् गरेको छ,” उहाँले भन्नुभएको छ, “विश्व बदलिएको छ, र हामी पनि समयको गतिसँगै अघि बढ्नुपर्छ भन्ने सत्यलाई हामी स्वीकार गछौँ ।
त्यसैले भौतिक पीडा सहँदासहँदै पनि गत भदौमा भएको जेनजी आन्दोलनको जायज मागलाई मैले सम्बोधन वोधन गर्नुपर्ने धारणा त्यति बेला नै राखेको थिएँ ।” उहाँले आफूले राजनैतिक रूपमा लिनुपर्ने केही नभएको तर मेरो विगतको अनुभव मुलुक मुलुक र पार्टीले लिन सक्नु पर्ने र त्यो अनुभव नयाँ पुस्तालाई शेयर गर्नु आफ्नो दायित्व भएको पनि उल्लेख गर्नुभएको छ ।
पूर्व प्रधानमन्त्री देउवाले आफ्नो पार्टीका साथीहरू अहिले निराश भएको अवस्थामा रहेका र उनीहरूको मनोबल बढ्ने गरी पार्टीभित्रका साथीहरूको भावनालाई पुनः एक पटक जोड्नु पर्ने समय आएको बताउनुभएको छ । उहाँले २०३३ सालमा वीपी कोइराला भारत निर्वासनबाट नेपाल फर्कंदा सबै राष्ट्रवादी र प्रजातन्त्रवादी शक्तिहरू एक हुनु पर्ने समय आएको उद्घोष गर्नु भएको स्मरण गर्दै फेरि ४७ वर्षपछि राष्ट्रिय एकतालाई मजबुत गर्न सर्वपक्षीय राष्ट्रिय एकताको आवश्यकता देखिएको बताउनुभएको छ ।
“मैले सँधै भन्ने गरेको छु मैले जीवनमा राष्ट्र, लोकतन्त्र, नागरिक, संविधान र कानुनलाई सर्वोपरी मानी काम गरेको छु,” उहाँले अपिलमा भन्नुभएको छ, “कानुन र नीति विपरित परित कुनै काम गरेको छैन । मेरो जीवन खुला किताब हो । म प्रतिज्ञा गर्दछु अझ पनि जीवन रहँदासम्म राष्ट्र, राष्ट्रियता, लोकतन्त्र, मुलुक र जनताको सर्वोत्तमहीत, संविधान कानुन र नैतिकता मूल्य मान्यता अनुरूप काम गर्नेछु ।”
नेता तथा कार्यकर्तालाई सम्बोधन गर्दै देउवाले आफ्नो करिब पाँच दशक लामो राजनीतिक जीवनमा आफूले भ्रष्टाचार नगरेको दाबी गर्नुभएको छ । आफूविरुद्ध विभिन्न उजुरी, अनुसन्धान र कानुनी प्रक्रिया अघि बढाइएको भए पनि त्यसबाट आफू विचलित नहुने उहाँको भनाइ थियो ।
आफू अदालत जान नडराउने बताउँदै उहाँले लामो राजनीतिक जीवनमा आफूले गलत आर्थिक काम नगरेको दाबी गर्नुभयो । पटकपटक अनुसन्धान भए पनि आफ्नो विरुद्ध केही प्रमाणित नभएको उहाँको तर्क थियो ।
देउवाले आफूविरुद्ध भइरहेका कानुनी प्रक्रियालाई राजनीतिक रूपमा आफूलाई कमजोर बनाउने प्रयासका रूपमा समेत संकेत गर्नुभयो ।
तर, यस्ता घटनाबाट आफू पछि नहट्ने र राजनीतिक रूपमा सामना गरिरहने उहाँको भनाइ थियो । उहाँले आफ्नो सम्बोधनमा आफू र पत्नी आरजु राणा देउवामाथि भएका अनुसन्धानतर्फ पनि संकेत गर्नुभयो । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पटकपटक अनुसन्धान गरेको उल्लेख गर्दै उहाँले ती अनुसन्धानमा आफूहरूले केही नपरेको दाबी गर्नुभयो ।
यसअघि सर्वोच्च अदालतले देउवा दम्पतीलाई पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको थियो । सम्पत्ति शुद्धीकरण अनुसन्धानसँग जोडिएको उक्त विषयमा अदालतको आदेशपछि देउवा पक्षले कानुनी प्रक्रियामाथि प्रश्न उठाउँदै आएको छ ।
देउवाले आफूविरुद्ध राजनीतिक तथा कानुनी रूपमा जति दबाब आए पनि प्रतिशोधको राजनीति गर्ने पक्षमा आफू नरहेको बताउनुभयो । आफूलाई असजिलोमा पार्न खोज्नेहरूलाई समयले नै जवाफ दिने उहाँको भनाइ थियो ।
उहाँको सम्बोधनमा आक्रोशभन्दा पनि आफू लामो राजनीतिक यात्राबाट प्राप्त अनुभवका आधारमा परिस्थितिको सामना गर्न तयार रहेको सन्देश दिन खोजेको देखिन्थ्यो । उहाँले अदालत र जनतामाथि आफूलाई विश्वास रहेको बताउनुभएको थियो ।
देउवाले सर्वोच्च अदालतप्रति समेत विश्वास व्यक्त गर्दै न्यायिक संस्थाले निष्पक्ष निर्णय गर्ने अपेक्षा राखेको बताउनुभयो । आफ्नो राजनीतिक जीवनमा आउने कानुनी चुनौतीलाई अदालतबाटै सामना गर्ने उहाँको भनाइ थियो ।
देउवाले पछिल्लो समय चर्चामा आउने गरेको राजतन्त्र पुनःस्थापनाको बहसलाई पनि सम्बोधन गर्नुभयो । उहाँले पूर्वराजा ज्ञानेन्द्र शाहको उदाहरण दिँदै आफूलाई राजनीतिक रूपमा कमजोर बनाउन खोज्नेहरूलाई प्रश्न गर्नुभयो, ज्ञानेन्द्रले त नसकेको अवस्थामा अरूले के गर्न सक्छन ?
उहाँले गणतन्त्र कुनै एक व्यक्तिको चाहनाबाट आएको व्यवस्था नभएको स्पष्ट पार्नुभयो । संविधानसभाको पहिलो बैठकले गणतन्त्र स्थापना गरेको र त्यसको मालिक नेपाली जनता भएको उहाँको भनाइ थियो ।
‘गणतन्त्र मैले चाहेर आएको होइन, मैले चाहेर जाने पनि होइन’ भन्ने उहाँको तर्कको केन्द्रमा जनताको सार्वभौमिकता थियो । नेपाली जनता नै देशको वास्तविक मालिक भएकाले जनताले जे निर्णय गर्छन्, त्यही स्वीकार गर्नुपर्ने उहाँले बताउनुभयो ।
पाँच महिनापछि नेपाल फर्किएका देउवा तत्कालै संस्थापनइतर समूहको सम्पर्क कार्यालय पुग्नुले कांग्रेसभित्र उहाँको राजनीतिक भूमिका समाप्त नभएको सन्देश दिएको छ । यद्यपि कांग्रेसको औपचारिक नेतृत्व अहिले गगन थापा नेतृत्वको कार्यसमितिसँग रहेको छ ।
सर्वोच्च अदालतले वैशाख ४ गते विशेष महाधिवेशनबाट निर्वाचित थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिने निर्वाचन आयोगको निर्णय सदर गरेको थियो । त्यसपछि देउवा पक्षले उक्त निर्णय पुनरावलोकन गर्न माग गर्दै सर्वोच्चमा निवेदन दिएको हो । उक्त पुनरावलोकन निवेदनमा अब तीन सदस्यीय इजलासले प्रारम्भिक निर्णय गर्नेछ ।
यसैबीच देउवा पक्षले चुनदेवीमा छुट्टै सम्पर्क कार्यालय सञ्चालन गर्दै आएको छ । कांग्रेसको वर्तमान अवस्था हेर्दा विवाद केवल व्यक्तिको नेतृत्वमा सीमित छैन । विशेष महाधिवेशनको वैधता, निर्वाचन आयोगको निर्णय, अदालतको फैसला र त्यसविरुद्ध परेको पुनरावलोकन निवेदनले पार्टीको संस्थागत संरचनामै प्रश्न खडा गरेको छ ।
एकातिर गगन थापा नेतृत्वको कार्यसमिति पार्टीको आधिकारिक नेतृत्वका रूपमा अघि बढिरहेको छ । अर्कोतिर देउवा पक्षले विशेष महाधिवेशनको प्रक्रियामाथि प्रश्न उठाउँदै आफ्नो राजनीतिक गतिविधिलाई निरन्तरता दिइरहेको छ । सर्वोच्चमा पुनरावलोकन निवेदन विचाराधीन रहेकाले विवादको कानुनी पाटो अझै पूर्ण रूपमा समाप्त भएको छैन ।
यस्तो अवस्थामा देउवाको नेपाल आगमन कांग्रेसभित्रको शक्ति संघर्षका लागि महत्वपूर्ण मोड बन्न सक्छ । कांग्रेसको नेतृत्व विवाद, आफ्नै पक्षको संगठनात्मक पुनर्संरचना र कानुनी प्रक्रियाका बीच आफ्नो राजनीतिक प्रभाव कायम राख्नु उहाँका लागि अर्को ठूलो परीक्षा बन्ने देखिन्छ ।
देउवाको स्वदेश फिर्तीसँगै राष्ट्रिय भेला आयोजना गर्ने तयारीसमेत गरिएको छ । शुक्रबार (आज) देखि आइतबारसम्म राष्ट्रिय भेला गर्ने कार्यक्रमले कांग्रेसको संस्थापनइतर समूहको गतिविधिलाई थप गति दिने देखिन्छ ।
चुनदेवीमा देउवाका लागि छुट्टै कार्यकक्षसमेत तयार गरिएको छ । कार्यकक्षबाहिर र भित्र ‘शेरबहादुर देउवा, सभापति’ लेखिएको नेमप्लेट राखिएको छ । संस्थापनइतर समूहले पूर्वमहामन्त्री शशांक कोइरालासहितका नेताहरूका लागि पनि छुट्टाछुट्टै कक्षको व्यवस्था गरेको छ ।
गत पुसमा भएको कांग्रेसको विशेष महाधिवेशनमा देउवा पक्ष सहभागी भएको थिएन । विशेष महाधिवेशनबाट गगनकुमार थापा सभापतिमा निर्वाचित भएपछि कांग्रेसको नेतृत्वलाई लिएर दुई धार स्पष्ट रूपमा देखिएका छन् । निर्वाचन आयोगले थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिएको थियो भने सर्वोच्च अदालतले पनि वैशाखमा आयोगको निर्णय सदर गरेको थियो । तर, देउवा पक्षले उक्त फैसलाविरुद्ध पुनरावलोकन निवेदन दर्ता गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्