काठमाडौं, २६ साउन । नेपाली चलचित्र ‘झिंगेदाउ २’को टिजरले दर्शकमाझ उत्साहजनक प्रभाव छाडेको छ । प्रदर्शनको तयारीमा रहेको चलचित्रको टिजर सार्वजनिक भएको एक साता नपुग्दै युट्युबमा १० लाखभन्दा बढी पटक हेरिएको छ । टिजरले सामाजिक सञ्जालमा समेत राम्रो चर्चा पाएपछि चलचित्रप्रति दर्शकको चासो बढेको निर्माण पक्षले जनाएको छ ।
सोमबार दिउँसोसम्म चलचित्रको टिजरले युट्युबमा १० लाख १० हजारभन्दा बढी भ्युज पाइसकेको थियो । निर्माण पक्षका अनुसार फेसबुक र टिकटकजस्ता सामाजिक सञ्जालमा समेत टिजरका विभिन्न अंश तथा दृश्यहरू एक करोडभन्दा बढी पटक हेरिएका छन् । विशेषगरी अभिनेत्री केकी अधिकारी र आँचल शर्माबीचको झगडाको दृश्य सामाजिक सञ्जालमा चर्चामा आएको छ ।
टिजरले चलचित्रको कथाको मुख्य द्वन्द्वलाई संकेत गरेको छ । जेठानी–देउरानीबीचको सम्बन्ध, दाजुभाइबीचको कलह र परिवारभित्र आमाले भोग्नुपर्ने मानसिक पीडालाई टिजरमा प्राथमिकताका साथ प्रस्तुत गरिएको छ । पारिवारिक सम्बन्धमा उत्पन्न हुने सामान्य विवाद कसरी ठूलो द्वन्द्वमा परिणत हुन्छ भन्ने विषयलाई चलचित्रले उठाएको देखिन्छ ।
निर्देशक ज्ञानेन्द्र देउजाका अनुसार ‘झिंगेदाउ २’ पारिवारिक कथामा आधारित चलचित्र हो । चलचित्रमा परिवारभित्र आमाको भूमिका र महत्वलाई समेत विशेष रूपमा प्रस्तुत गरिएको छ । मनोरञ्जनसँगै पारिवारिक सम्बन्ध, आपसी समझदारी र भावनात्मक पक्षलाई दर्शकमाझ पु¥याउने उद्देश्यले चलचित्र निर्माण गरिएको उहाँको भनाइ छ ।
टिजरमा देखिएका पारिवारिक द्वन्द्वका दृश्यले चलचित्रको विषयवस्तुप्रति दर्शकमा कौतुहलता बढाएको छ । विशेषगरी केकी अधिकारी र आँचल शर्माले निर्वाह गरेको जेठानी–देउरानीको भूमिकाबीचको टकरावलाई दर्शकले सामाजिक सञ्जालमा रुचाएका छन् । टिजर सार्वजनिक भएपछि आएको सकारात्मक प्रतिक्रियाले चलचित्रको प्रदर्शनलाई लिएर निर्माण पक्ष पनि उत्साहित बनेको छ ।
‘झिंगेदाउ २’ आगामी असोज २ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा छ । गोविन्द फुयाँल र शिशिर चालिसेको लेखन रहेको चलचित्रको पटकथा तथा संवाद परिच्छेद सेनको रहेको छ ।
चलचित्रमा आँचल शर्मा, केकी अधिकारी, आर्यन सिग्देल, महेश त्रिपाठी, कुशल विष्ट, सरोज खनाल, संगम भण्डारी, विजय देउजा, अंशु महर्जन, अभयराज बराल, उत्तम केसी, शिवहरि वैरागी, आशा भुषाल, रेनु प्रधान, विनोदकुमार पौडेल, आशिष पुरुष, विष्णु सापकोटा र नरेन्द्र थापालगायत कलाकारको अभिनय छ ।
कपनगढी सिनेमा प्रालि र फिल्म क्रिउ नेपाल प्रालिको ब्यानरमा निर्माण भएको चलचित्रमा सुलभ प्रतीक देउजा र समीक्षा देउजाको लगानी छ । रोशनी अधिकारी देउजा र नीतु श्रेष्ठ देउजा सहनिर्माताका रूपमा रहेका छन् ।
विष्णु घिमिरे ‘कल्पित’को छायांकन रहेको चलचित्रलाई मित्र डी गुरुङको सम्पादन, अर्जुन घिमिरेको संगीत, रामजी लामिछानेको कोरियोग्राफी तथा रोशन श्रेष्ठको द्वन्द्व निर्देशन रहेको छ ।
टिजरले पाएको प्रारम्भिक प्रतिक्रियालाई चलचित्रको सम्भावित व्यापारसँग जोडेर हेर्न थालिएको छ । यद्यपि डिजिटल प्लेटफर्ममा प्राप्त भ्युजले मात्र चलचित्रको व्यावसायिक सफलता निर्धारण नगर्ने भएकाले वास्तविक परिणाम भने प्रदर्शनपछि नै देखिनेछ । नेपालभर चलचित्रको वितरण एप्पल इन्टरटेन्मेन्टले गर्नेछ ।
प्रतिक्रिया दिनुहोस्