काठमाडौँ, २१ साउनः प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले पदोन्नति हुनुभएका १० जना प्राविधिक प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको छ ।
आज नेपाल प्रहरी प्रधान कार्यालयमा प्राविधिक प्रहरी उपरीक्षकबाट प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक पदमा एक जना र प्राविधिक प्रहरी नायब उपरीक्षकबाट प्रहरी उपरीक्षक पदमा चार जना, प्राविधिक प्रहरी निरीक्षकबाट प्राविधिक प्रहरी नायब उपरीक्षक पदमा चार जना र प्राविधिक प्रहरी वरिष्ठ नायब निरीक्षकबाट प्राविधिक प्रहरी निरीक्षक पदमा एक जना गरी जम्मा १० जना प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको हो ।
दर्ज्यानी चिन्हद्वारा प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक दामोदर कँडेल, प्राविधिक प्रहरी उपरीक्षकमा प्राविधिक अमरेन्द्रप्रसाद सिंह, रामबाबु राना, अभयकुमार झा र अनुप श्रेष्ठ, प्राविधिक प्रहरी नायब उपरीक्षमा निशा चौधरी, सञ्जिव दाहाल, रमेशकुमार साह र अञ्जनराज खरेल तथा प्राविधिक प्रहरी निरीक्षक मिनप्रसाद खत्री रहनुभएको छ ।
आज दज्र्यानी चिन्ह प्रदान गर्दै प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले दैनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन एवं शान्तिसुरक्षाको व्यवस्थापन, अपराध नियन्त्रण तथा अनुसन्धानलगायत प्रहरी कार्यलाई छिटो, छरितो र प्रभावकारी बनाउन प्राविधिक समूहको महत्वपूर्ण भूमिका हुने चर्चा गर्नुभयो ।
समारोहमा पदोन्नति हुनुभएका प्रहरी अधिकृतकोतर्फबाट प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक दामोदर कँडेलले प्रहरी सङ्गठनको गरिमा, प्रतिष्ठा र सङ्गठनप्रतिको विश्वासलाई उच्च बनाउनमा सदैव इमानदार, निष्पक्ष, अनुशासित, व्यावसायिक, प्रविधिमैत्री र सेवामुखी रही जिम्मेवारी निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । समारोहमा वरिष्ठ प्रहरी अधिकृत र जवानहरूको उपस्थिति थियो ।
प्रतिक्रिया दिनुहोस्