काठमाडौँ, १३ साउन । वीरगञ्जस्थित नारायणी अस्पतालमा चिकित्सकमाथि भएको कुटपिट र तोडफोडको घटनाले देशव्यापी स्वास्थ्य सेवा प्रभावित भएको छ । चिकित्सकहरूले सुरक्षाको प्रत्याभूति नपाएको भन्दै सामूहिक राजीनामा दिने र सेवा स्थगित गर्ने निर्णय लिएपछि हजारौँ बिरामी प्रत्यक्ष रूपमा प्रभावित भएका छन् ।
शनिबार वीरगञ्ज महानगरपालिका–२५ का ४५ वर्षीय राजकुमार पटेललाई हृदयाघात भएपछि नारायणी अस्पतालको आकस्मिक कक्षमा ल्याइएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएपछि आक्रोशित आफन्तले उपचारमा लापरबाही भएको आरोप लगाउँदै अस्पतालभित्र तोडफोड गर्नुका साथै आकस्मिक कक्षमा कार्यरत मेडिकल अफिसर डा. प्रमोद राममाथि निर्घात कुटपिट गरेका थिए ।
यस घटनाले चिकित्सक र स्वास्थ्यकर्मीको सुरक्षामाथि गम्भीर प्रश्न खडा गरेको छ । अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. चितरञ्जन साहका अनुसार अस्पतालमा कार्यरत करिब ९० जना चिकित्सकमध्ये ६८ जनाले सामूहिक रूपमा राजीनामा दिएका छन् । उनीहरूले कार्यस्थलमा सुरक्षा सुनिश्चित नभएसम्म सेवा सञ्चालन गर्न नसकिने अडान लिएका छन् ।
यससँगै अस्पतालमा आकस्मिक सेवासमेत प्रभावित भएको छ, जसले स्थानीय स्तरमै स्वास्थ्य सेवा संकटको अवस्था सिर्जना गरेको छ । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जनाएको छ । तर चिकित्सकहरूका अनुसार केवल एक–दुई व्यक्तिलाई पक्राउ गर्नु मात्र पर्याप्त नभई स्वास्थ्यकर्मीमाथि हुने यस्ता आक्रमण रोक्न संरचनात्मक सुधार आवश्यक छ ।
आन्दोलनको देशव्यापी प्रभाव वीरगञ्जको घटनाले सीमित क्षेत्रमै सीमित नरही देशका अन्य जिल्लामा पनि प्रभाव पारेको छ । नेपाल चिकित्सक सङ्घको आह्वानमा विभिन्न स्थानमा विरोध कार्यक्रम सञ्चालन भइरहेका छन् । चितवन जिल्लामा त यसको प्रत्यक्ष असर व्यापक देखिएको छ, जहाँ अधिकांश अस्पतालमा बहिरङ्ग (ओपीडी) सेवा बन्द गरिएको छ ।
चितवनका प्रमुख स्वास्थ्य संस्थाहरू भरतपुर अस्पताल, बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, दुई मेडिकल कलेज तथा २३ वटा निजी अस्पतालमा बहिरङ्ग सेवा बन्द हुँदा दैनिक ११ हजारभन्दा बढी बिरामी प्रभावित भएका छन् । ओपीडी सेवा बन्द हुँदा दीर्घरोगीहरू सबैभन्दा बढी प्रभावित भएका छन् ।
नेपाल चिकित्सक सङ्घ, चितवनका वरिष्ठ उपाध्यक्ष डा. दीपेन्द्र न्यौपानेले आकस्मिक सेवाबाहेक अन्य सेवा बन्द गरिएको जानकारी दिँदै चिकित्सकमाथि भएको आक्रमणको कडा निन्दा गर्नुभएको छ । उहाँले दोषीमाथि कडा कारबाही नभएसम्म सेवा पूर्ण रूपमा सञ्चालन गर्न कठिन हुने बताउनुभयो ।
यसैबीच, पोखराका विभिन्न अस्पतालमा पनि आन्दोलनको असर देखिएको छ । नेपाल चिकित्सक सङ्घको गण्डकी शाखाका अध्यक्ष डा. सुनिल पनेरुका अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, गण्डकी मेडिकल कलेज, मणिपाल शिक्षण अस्पताल, चरक मेमोरियल अस्पताल तथा फेवा सिटी अस्पताललगायतमा बहिरङ्ग सेवा बन्द गरिएको छ ।
उहाँका अनुसार आकस्मिक सेवा भने सञ्चालनमा रहे पनि ओपीडी बन्द हुँदा सयौँ बिरामी सेवा पाउनबाट वञ्चित भएका छन् । “यो केन्द्रबाटै तय गरिएको आन्दोलन हो, त्यसैले यसको निरन्तरता वा अन्त्य केन्द्रकै निर्णयमा निर्भर हुनेछ,” उहाँले बताउनुभयो ।
यस्तै, नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आन्दोलनरत चिकित्सक तथा स्वास्थ्यकर्मीका माग तत्काल सम्बोधन गर्न सरकारसँग आग्रह गर्नुभएको छ । उहाँले स्वास्थ्यकर्मीमाथि आफ्नै कार्यस्थलमा हुने आक्रमण कुनै पनि सभ्य समाजमा स्वीकार्य नहुने उल्लेख गर्दै सरकारलाई शीघ्र हस्तक्षेप गर्न आग्रह गर्नुभएको छ ।
उहाँको भनाइमा स्वास्थ्यकर्मी नागरिकको जीवन रक्षा गर्ने संवेदनशील पेशामा संलग्न हुने भएकाले उनीहरूको सुरक्षा सुनिश्चित गर्नु राज्यको दायित्व हो । यस प्रकारका घटनाले स्वास्थ्य प्रणालीप्रतिको विश्वास कमजोर पार्ने खतरा पनि उत्तिकै
यो घटनाले स्वास्थ्य क्षेत्रमा गहिरो प्रश्न उठाएको छ के चिकित्सक सुरक्षित छन ? यदि स्वास्थ्यकर्मी नै असुरक्षित महसुस गर्छन् भने सेवा निरन्तरता कसरी सुनिश्चित हुन्छ ? नेपालमा विगत केही वर्षयता स्वास्थ्य संस्थामा तोडफोड र चिकित्सकमाथि आक्रमणका घटनाहरू पटक–पटक दोहोरिँदै आएका छन् ।
यस्ता घटनाले चिकित्सकहरूमा मनोवैज्ञानिक दबाब सिर्जना गर्नुका साथै पेशाप्रतिको आकर्षणमा समेत असर पार्ने खतरा देखिएको छ ।नारायणी अस्पतालको घटना केवल एउटा अस्पताल वा जिल्लामा सीमित छैन; यसले समग्र स्वास्थ्य प्रणालीको संवेदनशीलता उजागर गरेको छ ।
प्रतिक्रिया दिनुहोस्