दक्षिण एसियाली स्वर्ण विजेता दिदीबहिनी दिया–दीक्षा तामाङलाई एक्सटेप नेपालको सम्मान

काठमाडौं, १० साउन । बंगलादेशको राजधानी ढाकामा सम्पन्न १०औँ दक्षिण एसियाली कराते च्याम्पियनसिप मा स्वर्ण पदक जित्दै नेपाललाई गौरवान्वित बनाएका दिदीबहिनी दिया तामाङ र दीक्षा तामाङ लाई एक्सटेप नेपालले सम्मान गरेको छ । शनिबार काठमाडौंको चक्रपथस्थित एक्सटेपको शोरुममा आयोजित विशेष कार्यक्रममा उनीहरूलाई प्रशंसापत्र र गिफ्ट ह्याम्पर प्रदान गर्दै सम्मान गरिएको हो ।
कार्यक्रममा दुवै खेलाडीका परिवारका सदस्य, प्रशिक्षक तथा खेलकुदसँग सम्बन्धित व्यक्तिहरूको उपस्थिति रहेको थियो । एक्सटेप नेपालका प्रबन्ध निर्देशक गणेश श्रेष्ठ ले स्वर्ण विजेता दिदीबहिनीलाई सम्मान गर्दै अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको झण्डा उचाल्न सफल भएकोमा बधाई तथा आगामी यात्राका लागि शुभकामना व्यक्त गरे ।
सोही कार्यक्रममा नेपाली करातेको अन्तर्राष्ट्रिय सफलतामा महत्वपूर्ण योगदान पु¥याउँदै आएका राष्ट्रिय कराते टोलीका प्रमुख प्रशिक्षक कुशल श्रेष्ठ लाई पनि विशेष सम्मान गरिएको थियो । पछिल्ला वर्षहरूमा नेपाली कराते टोलीले अन्तर्राष्ट्रिय प्रतियोगितामा हासिल गरेका उल्लेखनीय उपलब्धिमा उनको प्रशिक्षणको महत्वपूर्ण भूमिका रहेको भन्दै एक्सटेपले उनको योगदानको कदर गरेको हो ।
जुलाई १५ देखि १९ सम्म बंगलादेशको ढाकामा आयोजित दक्षिण एसियाली कराते च्याम्पियनसिपमा दिया तामाङले क्याडेट महिला ६१ केजीमुनिको स्पर्धामा स्वर्ण पदक जितेकी थिइन् । त्यस्तै उनकी बहिनी दीक्षा तामाङले चिल्ड्रेन ३५ केजीमुनि तौल समूहमा स्वर्ण पदक जित्दै नेपाललाई दोहोरो सफलता दिलाएकी थिइन् । दुवै दिदीबहिनीको प्रदर्शन प्रतियोगिताकै उत्कृष्टमध्ये एक मानिएको थियो ।
दियाका लागि यो उपलब्धि निरन्तरताको प्रतिफल पनि हो । उनले यसअघि श्रीलंकामा आयोजित नवौँ दक्षिण एसियाली कराते च्याम्पियनसिप मा रजत पदक जितेकी थिइन् । त्यसयता निरन्तर अभ्यास र अनुभवका आधारमा उनले यसपटक रजतलाई स्वर्णमा परिणत गर्न सफल भएकी हुन् ।
दिया र दीक्षाले दक्षिण एसियाली प्रतियोगितामात्र होइन, अन्य अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि नेपालको प्रतिनिधित्व गर्दै सफलता हासिल गरेका छन् । थाइल्यान्ड ओपन कराते च्याम्पियनसिप मा दियाले एक कांस्य पदक जितेकी थिइन् भने दीक्षाले दुई कांस्य पदक आफ्नो नाममा लेखाएकी थिइन् । त्यसैगरी जापानमा आयोजित अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा पनि दियाले कांस्य पदक जित्दै आफ्नो क्षमता प्रमाणित गरेकी थिइन् ।
सम्मान कार्यक्रममा बोल्दै प्रबन्ध निर्देशक गणेश श्रेष्ठले खेलकुद क्षेत्रमा अन्तर्राष्ट्रिय सफलता हासिल गर्ने खेलाडी राष्ट्रका सम्पत्ति भएको उल्लेख गर्दै निजी क्षेत्रले यस्ता प्रतिभालाई निरन्तर प्रोत्साहन गर्नुपर्ने बताए । उनले भविष्यमा पनि नेपाली खेलाडीलाई प्रेरणा दिने कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।
राष्ट्रिय टोलीका प्रमुख प्रशिक्षक कुशल श्रेष्ठले सम्मानका लागि एक्सटेप नेपालप्रति आभार व्यक्त गर्दै निजी क्षेत्रको यस्तो साथ र सहयोगले खेलाडीको मनोबल बढ्ने बताए । उनले खेलकुदको विकासका लागि सरकारी निकायसँगै निजी क्षेत्रको सक्रिय सहभागिता आवश्यक रहेको धारणा राखे ।
स्वर्ण विजेता दिया तामाङले आफ्नो सफलतामा परिवारको ठूलो भूमिका रहेको बताइन् । विशेषगरी कराते पृष्ठभूमि भएका आफ्ना बुवा दावा तामाङ को प्रेरणा र मार्गदर्शनकै कारण सानैदेखि करातेमा लागेको उनले सुनाइन् । नियमित अभ्यास, अनुशासन र अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने अवसरले आफूलाई परिपक्व बनाएको भन्दै उनले आगामी दिनमा अझ ठूलो प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै पदक जित्ने लक्ष्य रहेको बताइन् ।
हाल अल्ट्रा ट्रेल रनरका रूपमा सक्रिय रहेका दावा तामाङले छोरीहरूको खेल यात्रामा सुरुदेखि नै साथ दिएका छन् । परिवारको निरन्तर सहयोग, प्रशिक्षकको मेहनत र खेलाडीको समर्पणकै कारण दिदीबहिनीले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिष्ठा उँचो बनाउन सफल भएको खेलकुद क्षेत्रका जानकारहरूको भनाइ छ ।
पछिल्ला वर्षहरूमा नेपाली करातेले दक्षिण एसिया तथा अन्य अन्तर्राष्ट्रिय प्रतियोगितामा उल्लेखनीय सफलता हासिल गरिरहेको छ । यस्ता उपलब्धिले नयाँ पुस्ताका खेलाडीलाई प्रेरणा मिल्नुका साथै नेपालमा कराते खेलको विकास र लोकप्रियता बढाउन पनि महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्