काठमाडौं, १० साउन । नेपाली पुरुष भलिबल टोलीले काभा पुरुष भलिबल च्याम्पियनसिपमा लगातार चौथो हार बेहोरेको छ । पाकिस्तानको इस्लामाबादमा आइतबार भएको प्रतिस्पर्धात्मक खेलमा नेपालले दुई पटक सेटमा अग्रता बनाए पनि त्यसलाई कायम राख्न नसक्दा बंगलादेशसँग ३–२ को हार व्यहोर्नुपरेको हो ।
रोमाञ्चक बनेको खेलमा बंगलादेशले नेपाललाई १८–२५, २५–१९, २१–२५, २५–२३ र १५–११ को सेटमा पराजित गर्दै महत्वपूर्ण जित दर्ता ग¥यो । नेपालका लागि यो प्रतियोगितामा पाँचौँ सेटसम्म पुगेको तेस्रो खेल थियो । तर तीनवटै खेलमा निर्णायक सेटमा दबाब थेग्न नसक्दा जित हात पार्ने अवसर गुमाउनुपरेको छ ।
नेपालले पहिलो सेट उत्कृष्ट प्रदर्शन गर्दै २५–१८ ले आफ्नो पक्षमा पा¥यो । सुरुदेखि नै आक्रामक खेल प्रस्तुत गरेको नेपाली टोलीले सशक्त ब्लक, प्रभावकारी सर्भिस र संयमित आक्रमणका कारण बंगलादेशलाई दबाबमा राखेको थियो । तर दोस्रो सेटमा बंगलादेशले लय समात्दै खेलमा पुनरागमन ग¥यो । नेपालको रिसेप्सन र डिफेन्स कमजोर बनेपछि बंगलादेशले २५–१९ ले सेट जित्दै खेल १–१ को बराबरीमा ल्यायो ।
तेस्रो सेटमा नेपाल पुनः लयमा फर्कियो। कप्तानको नेतृत्वमा टोलीले सन्तुलित खेल प्रदर्शन गर्दै २५–२१ ले सेट जित्यो र २–१ को अग्रता बनायो । यससँगै नेपाल जितको नजिक पुगेको देखिएको थियो ।
तर चौथो सेटमा केही सामान्य गल्ती नेपालका लागि महँगो सावित भयो । सेटको अन्तिम समयमा प्राप्त अग्रता जोगाउन नसक्दा बंगलादेशले लगातार अंक जोड्दै २५–२३ ले सेट जित्यो । त्यसपछि खेल निर्णायक पाँचौँ सेटमा पुगेको थियो ।
निर्णायक सेटमा बंगलादेशले अनुभव र आत्मविश्वासको प्रदर्शन गर्दै सुरुदेखि नै अग्रता कायम राख्यो । नेपालले केही उत्कृष्ट ¥याली जिते पनि निर्णायक क्षणमा लगातार अंक गुमाउँदा १५–११ ले सेट तथा खेल दुवै बंगलादेशको पक्षमा गयो ।
यस हारसँगै नेपालले प्रतियोगितामा अहिलेसम्म खेलेका चारवटै खेल गुमाएको छ । पहिलो खेलमा नेपाल काजकस्तानसँग ३–२ ले पराजित भएको थियो । त्यस खेलमा पनि नेपालले २–० को पछाडि परेको अवस्थाबाट उत्कृष्ट पुनरागमन गर्दै खेललाई पाँचौँ सेटसम्म पु¥याएको थियो । दोस्रो खेलमा श्रीलंकाविरुद्ध २–१ को अग्रता बनाए पनि अन्तिम दुई सेट गुमाउँदै ३–२ ले हार बेहोरेको थियो । तेस्रो खेलमा आयोजक तथा उपाधि दाबेदार पाकिस्तानसँग भने नेपाल सोझै ३–० को सेटमा पराजित भएको थियो ।
लगातार चार हारपछि नेपालको सेमिफाइनल यात्रा निकै कठिन बनेको छ । प्रतियोगितामा नेपाल, पाकिस्तान, काजकस्तान, श्रीलंका, बंगलादेश र उज्वेकिस्तान गरी छ टोली सहभागी छन् । राउन्ड रोबिन लिग प्रणालीअनुसार सबै टोलीले एकअर्कासँग खेल्नेछन् र शीर्ष चार टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।
यद्यपि नेपालको सेमिफाइनल सम्भावना अन्य टोलीको नतिजामा समेत निर्भर रहने अवस्था बनेको छ । अंक तालिकामा सुधार गर्न नेपालले अन्तिम लिग खेलमा जित निकाल्नुपर्ने दबाबमा छ ।
नेपालले राउन्ड रोबिन चरणको आफ्नो अन्तिम खेल सोमबार उज्वेकिस्तान विरुद्ध खेल्नेछ । लगातार हारको शृङ्खला तोड्दै प्रतियोगिताको सुखद अन्त्य गर्ने लक्ष्यका साथ नेपाली टोली मैदानमा उत्रिनेछ । प्रशिक्षक र खेलाडीले अन्तिम खेलमा कमजोरी सुधार गर्दै उत्कृष्ट प्रदर्शन गर्ने अपेक्षा गरिएको छ ।
प्रतियोगिताले नेपाली पुरुष भलिबल टोलीलाई अन्तर्राष्ट्रिय स्तरको अनुभव दिलाएको भए पनि निर्णायक क्षणमा खेल आफ्नो पक्षमा पार्न नसक्ने कमजोरी पुनः उजागर भएको छ । आगामी प्रतियोगितामा प्रतिस्पर्धात्मक खेललाई जितमा रूपान्तरण गर्न मानसिक तयारी, स्थिर प्रदर्शन र निर्णायक सेटमा दबाब व्यवस्थापनमा विशेष ध्यान दिनुपर्ने आवश्यकता देखिएको छ ।
प्रतिक्रिया दिनुहोस्