नेपाली कांग्रेसभित्र आन्तरिक मतभेद चर्किदै, पूर्वसभापति देउवा छिट्टै स्वदेश फर्किदै

 

काठमाडौँ, ६ साउन । नेपाली कांग्रेसभित्र बढ्दो आन्तरिक ध्रुवीकरणका बीच पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिशोधको राजनीतिबाट माथि उठ्न आग्रह गर्दै छिट्टै स्वदेश फर्किने सन्देश दिनुभएको छ । स्वास्थ्य उपचारका क्रममा हाल विदेशमा रहनुभएको पूर्वसभापति देउवाले बीपी स्मृति दिवसको सन्दर्भमा मंगलबार जारी गरेको वक्तव्यले एकातिर वर्तमान राजनीतिक प्रवृत्तिप्रति असन्तुष्टि व्यक्त गरेको छ भने अर्कोतिर पार्टीभित्रको असहज अवस्थालाई थप उजागर पनि गरेको छ ।

वक्तव्यमा देउवाले आफू नेपाली भूमिमा पुनः पाइला टेक्ने तयारीमा रहेको उल्लेख गर्नुभएको छ । आठ दशक लामो जीवन र करिब छ दशक लामो सक्रिय राजनीतिक यात्राको स्मरण गर्दै देउवाले लोकतन्त्र, संविधानवाद र नागरिक अधिकारप्रतिको आफ्नो प्रतिबद्धता अडिग रहेको दोहो¥याउनुभएको छ ।

उहाँले पछिल्लो समय मुलुकको राजनीतिक वातावरण प्रतिशोधमुखी बन्दै गएको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ । फरक विचारप्रति देखिएको असहिष्णुता र राज्य संयन्त्रको प्रयोगमार्फत प्रतिपक्षलाई दबाउने प्रवृत्तिले लोकतान्त्रिक मूल्यलाई कमजोर पार्ने उहाँको संकेत छ ।

देउवाले आफ्नो वक्तव्यमा राज्यशक्तिको प्रयोगको प्रकृतिप्रति पनि प्रश्न उठाउनुभएको छ । स्वतन्त्र न्यायपालिका र संवैधानिक निकायहरूलाई दबाबमा राखेर राजनीतिक उद्देश्य पूर्तिका लागि प्रयोग गर्न खोजिएको आरोप उहाँले लगाउनुभयो । यस्ता गतिविधिले संस्थागत सन्तुलनमा असर पार्ने मात्र नभई लोकतन्त्रप्रतिको जनविश्वासमा समेत क्षति पु¥याउन सक्ने उहाँको भनाइ छ ।

उहाँले जननायक बीपी कोइरालाको मेलमिलाप नीति स्मरण गर्दै अहिलेको आवश्यकता विभाजन होइन, सहकार्य भएको बताउनुभएको छ । “अविश्वास होइन विश्वास, द्वन्द्व होइन सहकार्य” भन्ने भावनासहित उहाँले राजनीतिक दलहरूबीच संवाद र सहमतिको वातावरण निर्माण गर्नुपर्नेमा जोड दिनुभएको छ । पुरानो अनुभव र नयाँ पुस्ताको ऊर्जा जोडेर राष्ट्रिय हितका मुद्दामा साझा प्रतिबद्धता आवश्यक रहेको उहाँको धारणा छ ।

यसले उहाँको राजनीतिक सक्रियता पुनः बढ्ने संकेत दिएको छ, विशेषगरी कांग्रेसभित्रको जारी शक्ति संघर्षको सन्दर्भमा यसलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
देउवाको वक्तव्य सार्वजनिक भइरहँदा कांग्रेसभित्र आन्तरिक मतभेद झन् स्पष्ट देखिएको छ ।

बीपी स्मृति दिवसकै अवसरमा पार्टीभित्र फरक–फरक समूहले अलग–अलग कार्यक्रम आयोजना गर्ने तयारी गरेका छन् । संस्थापन पक्षले ‘ग्रीन रन’ लगायतका कार्यक्रम राखेको छ भने संस्थापनइतर समूहले प्रज्ञा भवनमा भेला गर्ने योजना बनाएको छ ।

गत पुसमा सम्पन्न विशेष महाधिवेशनपछि उत्पन्न विवाद अझै समाधान हुन सकेको छैन । सो महाधिवेशनलाई सर्वोच्च अदालतले वैधानिकता दिइसकेको भए पनि त्यसप्रति असन्तुष्टि राख्ने समूह सक्रिय नै छ । देउवा निकट समूहले चुनदेवीमा सम्पर्क कार्यालय स्थापना गरेर समानान्तर गतिविधि अघि बढाइरहेको छ, जसले पार्टीभित्रको विभाजनलाई औपचारिक स्वरूप दिन सक्ने संकेत गरेको छ ।

संस्थापनइतर समूहको नेतृत्व निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले गरिरहनुभएको छ । उक्त समूहले बीपी स्मृति दिवसका अवसरमा विशेष कार्यक्रम आयोजना गर्ने र त्यसै अवसरमा राष्ट्रिय भेलाको मिति तय गर्ने तयारी गरेको छ । सातै प्रदेशमा भेला सम्पन्न गरिसकेको यो समूहले साउनभित्रै राष्ट्रिय स्तरको शक्ति प्रदर्शन गर्ने रणनीति बनाएको देखिन्छ । निवर्तमान प्रवक्ता प्रकाशशरण महतका अनुसार कमलादीस्थित कार्यक्रममा विभिन्न राजनीतिक सन्देशहरू प्रवाह गरिनेछ । नेता मीनबहादुर विश्वकर्माले पनि उक्त भेलाबाट आगामी रणनीति स्पष्ट पारिने बताउनुभएको छ । यसले पार्टीभित्रको प्रतिस्पर्धा अझ औपचारिक र संगठित हुने संकेत गर्छ ।

देउवा पक्षले विशेष महाधिवेशनबाट आएको कार्यसमितिमा १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमिति समावेश गर्दै १५औँ महाधिवेशनतर्फ जानुपर्ने माग राख्दै आएको छ । तर संस्थापन पक्षले यसलाई विधानविपरीत ठहर गर्दै अस्वीकार गरेको छ ।

सभापति गगन थापाले विधानविपरीत कुनै पनि माग सम्बोधन गर्न नसकिने स्पष्ट पार्नुभएको छ । यसले पार्टीभित्रको मतभेद केवल रणनीतिक मात्र नभई संरचनात्मक र वैधानिक तहसम्म पुगेको देखिन्छ । दुवै पक्ष आफ्नो अडानबाट पछि हट्न तयार नदेखिँदा सहमतिको सम्भावना कमजोर बन्दै गएको छ ।

कांग्रेसभित्र केही नेताहरूले एकता सम्भव नभए नयाँ पार्टी गठनको विकल्प पनि खुला राख्नुपर्ने धारणा व्यक्त गर्न थालेका छन् । यद्यपि यो औपचारिक निर्णयको चरणमा पुगेको छैन, तर यस्तो अभिव्यक्तिले पार्टीभित्रको असन्तुष्टि गहिरो भएको संकेत गर्छ ।

बीपी कोइरालाको नाममा मनाइने स्मृति दिवसमै विभाजित कार्यक्रम हुनु आफैंमा प्रतीकात्मक रूपमा महत्वपूर्ण छ । बीपीले प्रतिपादन गरेको मेलमिलाप र सहकार्यको दर्शनलाई स्मरण गर्ने दिनमै कांग्रेसभित्र विभाजन देखिनु पार्टीका लागि चुनौतीपूर्ण अवस्था हो ।

देउवाको वक्तव्यलाई केवल व्यक्तिगत धारणा मात्र नभई व्यापक राजनीतिक सन्देशका रूपमा पनि हेरिएको छ । उनले उठाएका मुद्दा—प्रतिशोधको राजनीति, संस्थागत दबाब, लोकतान्त्रिक मूल्य—यी सबै अहिलेको राष्ट्रिय राजनीतिक बहससँग प्रत्यक्ष सम्बन्धित छन् ।

उहाँको स्वदेश फर्किने घोषणा पनि सामान्य औपचारिकता मात्र होइन, कांग्रेसभित्रको शक्ति समीकरणमा प्रभाव पार्ने सम्भावित घटनाक्रम हो । विशेषगरी संस्थापनइतर समूहलाई बल प्रदान गर्ने र वार्ताको नयाँ ढोका खोल्ने सम्भावना यसमा देखिन्छ ।

नेपाली कांग्रेस अहिले आन्तरिक समायोजन र वैचारिक स्पष्टताको मोडमा उभिएको छ । देउवाको सन्देशले मेलमिलाप र सहकार्यको आवश्यकता औंल्याए पनि व्यवहारमा पार्टीभित्र विभाजन गहिरिँदै गएको देखिन्छ ।
यदि संवाद र सहमतिको प्रयास प्रभावकारी रूपमा अघि बढ्न सकेन भने कांग्रेस केवल आन्तरिक विवादमा अल्झिने मात्र होइन, समग्र लोकतान्त्रिक राजनीतिक प्रक्रियामा पनि असर पार्न सक्छ ।

यस्तो अवस्थामा नेतृत्वले व्यक्तिगत र समूहगत स्वार्थभन्दा माथि उठेर संस्थागत एकता र लोकतान्त्रिक मूल्यलाई प्राथमिकता दिनु जरुरी देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्