काठमाडौं, ५ साउन । लमजुङमा निर्माणाधीन ५० मेगावाट क्षमताको मस्र्याङ्दी बेसी जलविद्युत् आयोजनाले वित्तीय व्यवस्थापन पूरा भएसँगै निर्माणमा उल्लेखनीय गति लिएको छ । अपि पावर कम्पनी लिमिटेडको सहायक कम्पनी दिव्यज्योति हाइड्रोपावर लिमिटेड प्रवद्र्धक रहेको आयोजनाको हालसम्म करिब २५ प्रतिशत भौतिक प्रगति सम्पन्न भएको छ ।
ऊर्जा उत्पादन बढाउने राष्ट्रिय लक्ष्यअनुसार निजी क्षेत्रबाट अघि बढाइएको यो आयोजना लमजुङको बेँसीसहर नगरपालिका र मस्र्याङ्दी गाउँपालिकामा निर्माण भइरहेको हो । कम्पनीका अनुसार सिभिल, हाइड्रो–मेकानिकल र इलेक्ट्रो–मेकानिकल तीनवटै क्षेत्रमा समानान्तर रूपमा काम भइरहेकाले निर्माण तालिकाअनुसार आयोजना अघि बढिरहेको छ ।
आयोजनाको इन्टेक र डिसेन्डर क्षेत्रमा निर्माणले उल्लेखनीय प्रगति हासिल गरेको छ । डिसेन्डरको मुख्य संरचना निर्माण, कङ्क्रिट ढलान, गुणस्तर परीक्षण तथा अन्य संरचनागत काम निरन्तर भइरहेको कम्पनीले जनाएको छ । निर्माण अवधि छोट्याउने उद्देश्यले केही चरणमा रातिको समयमा समेत कङ्क्रिट ढलान गरिएको थियो ।
त्यसैगरी, विद्युत्गृह (पावरहाउस) निर्माणका लागि आवश्यक उत्खनन तथा भू–संरचना व्यवस्थापनको काम पनि तीव्र गतिमा अघि बढिरहेको छ । आयोजनाको प्राविधिक आवश्यकताअनुसार कटिङ, ढलान नियन्त्रण तथा संरचनाको स्थायित्व सुनिश्चित गर्न आवश्यक पूर्वाधार निर्माणलाई प्राथमिकताका साथ अगाडि बढाइएको कम्पनीले जनाएको छ ।
सिभिल निर्माणसँगै हाइड्रो–मेकानिकल उपकरण उत्पादन पनि सुरु भइसकेको छ । आयोजनामा प्रयोग हुने स्टिल संरचना, गेट, पाइपलगायत उपकरणहरूको फेब्रिकेसन हेटौँडास्थित उत्पादन केन्द्रमा भइरहेको छ । यस्तै, इलेक्ट्रो–मेकानिकल उपकरण उत्पादन अन्तर्राष्ट्रिय सम्झौताअनुसार युरोप र भारतका उत्पादन केन्द्रमा भइरहेको कम्पनीले जनाएको छ । उपकरण निर्माण सम्पन्न भएपछि नेपाल ल्याएर आयोजना स्थलमा जडान गरिनेछ ।
करिब ११ अर्ब ३० करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनाको वित्तीय व्यवस्थापन पनि पूरा भइसकेको छ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको नेतृत्वमा विभिन्न बैंक तथा वित्तीय संस्थाले ७ अर्ब ५० करोड रुपैयाँ सह–वित्तीयकरण ऋण उपलब्ध गराउने सम्झौता गरेका छन् भने बाँकी लगानी कम्पनीले स्वपुँजीमार्फत जुटाउने योजना बनाएको छ ।
आयोजनाबाट उत्पादित विद्युत् करिब आठ किलोमिटर दूरीमा रहेको नेपाल विद्युत् प्राधिकरणको १३२ केभी उदिपुर सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिनेछ । यसका लागि नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद–बिक्री सम्झौता (पीपीए) यसअघि नै सम्पन्न भइसकेको छ । आयोजना सञ्चालनमा आएपछि राष्ट्रिय प्रसारण प्रणालीमा थप स्वदेशी विद्युत् आपूर्ति हुने र ऊर्जा आयातमा निर्भरता घटाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
प्रवद्र्धक कम्पनीका अनुसार आयोजना निर्माणमा स्थानीय समुदायको पनि उल्लेखनीय सहभागिता रहेको छ । प्रभावित क्षेत्रका बासिन्दाले लगानी र सहकार्य दुवै माध्यमबाट आयोजना सफल बनाउन साथ दिएका छन् । कम्पनीले यसलाई आयोजना कार्यान्वयनको सकारात्मक पक्षका रूपमा लिएको छ ।
स्थानीय सहभागितालाई अझ विस्तार गर्ने उद्देश्यले आयोजना प्रभावित बासिन्दा तथा सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने तयारीसमेत अघि बढाइएको कम्पनीले जनाएको छ । आवश्यक नियामकीय प्रक्रिया पूरा भएपछि आईपीओ निष्कासन गरिने कम्पनीको योजना छ ।
ऊर्जा क्षेत्रका जानकारहरूका अनुसार मस्र्याङ्दी नदी बेसिनमा निर्माण भइरहेका नयाँ आयोजनाले आगामी वर्षहरूमा नेपालको विद्युत् उत्पादन क्षमतामा उल्लेखनीय वृद्धि गर्नेछन् । तीमध्ये मस्र्याङ्दी बेसी आयोजना पनि एक महत्त्वपूर्ण परियोजनाका रूपमा हेरिएको छ । निर्माण कार्य निर्धारित समयमै सम्पन्न भएमा यसले राष्ट्रिय ऊर्जा सुरक्षासँगै स्थानीय आर्थिक गतिविधि, रोजगारी सिर्जना तथा पूर्वाधार विकासमा समेत सकारात्मक योगदान पु¥याउने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्