काठमाडौँ, ३२ असार । प्रतिनिधिसभाको बैठकमा सांसदहरूले सुकुमवासी समस्या, मिटरब्याजपीडित, महँगी नियन्त्रण, सुशासनका विषयमा सरकारको ध्यानाकर्षण गर्नुभएको छ । बुधबार बसेको प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद गीता गुरुङले सुकुमवासी समस्याको दीगो व्यवस्थापन, महँगी नियन्त्रण, शिथिल अर्थतन्त्रलाई नयाँ गति दिन तथा जनतामा आशा जगाउने गरी काम गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का गङ्गादेवी श्रेष्ठले कूटनीतिक प्रयासमार्फत नेपाल–भारत सीमा समस्या समाधान गर्न सरकारलाई सुझाव दिनुभयो । नेपाली कम्युनिष्ट पार्टीका महेन्द्रबहादुर शाहीले आरोपप्रत्यारोप त्यागेर समृद्धिको जनअपेक्षा पूरा गर्नेतर्फ सबैको प्रयास केन्द्रित हुनुपर्ने धारणा व्यक्त गर्नुभयो ।
श्रम संस्कृति पार्टीका अम्बिकादेवी सङ्ग्रौलाले नागरिकको जीउधनको रक्षा गर्ने जिम्मेवारी सत्ता र प्रतिपक्ष दुवैको भएको उल्लेख गर्दै कानुनी शासन कायम गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । राष्ट्रिय प्रजातन्त्र पार्टीका ताहीर अलि भाटले सदनको गतिरोध अन्त्य गरेर सभाका कामकारबाहीलाई व्यवस्थित बनाउने सन्दर्भमा नेतृत्वदायी भूमिका निर्वाह गर्न सभामुखलाई सुझाव दिनुभयो । त्यसअघि बैठक प्रारम्भ हुनेबित्तिकै विपक्षी दलहरुले आसनबाट उठेर विरोध जनाएका थिए ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसकी सांसद गीता गुरूङले सरकारले सुकुम्बासी बस्तीमा डोजर चलाएपछि मृत्यु हुनेको संख्या अहिलेसम्म ९ पुगेको बताउनुभएको छ । बुधबारको प्रतिनिधि सभा बैठकमा बोल्दै गुरूङले सुकुम्बासी व्यवस्थापनमा देखिएको कमजोरी र मानवीय संवेदना अभावले गम्भीर प्रश्न उठाएको उहाँले बताउनुभयो ।
‘सरकारले सुकुम्बासी बस्तीमा डोजर चलाएपछि मृत्यु हुनेको संख्या ९ पुगेको छ,’ उहाँले भन्नुभयो ‘१८ वर्षका रविन तामाङ, ५७ वर्षीय इन्द्रबहादुर राई, ५० वर्षीय कमला बलमपाखी, ६८ वर्षका कर्णबहादुर श्रेष्ठ, ३६ वर्षका भेषराज दर्जी, ६६ वर्षीय पार्वती विक, ३९ वर्षीय सुशीला थापा मगर, ७५ वर्षीय रतनदेवी मलहानीदेखि १८ महिनाका उज्वल तामाङसम्मले राज्यले लिएको अव्यावहारिक नीतिका कारण ज्यान गुमाउनुप¥यो । यो राज्य संयन्त्रले गरेको संस्थागत हत्याको निन्दा गर्दछु।’
प्रतिनिधिसभाको बैठकमा मिटरब्याजपीडित (अनुचित लेनदेन)को माग सम्बोधनका लागि सरकार गम्भीर हुनुपर्ने आवाज उठाइएको छ ।
केही समययता बढेका आत्महत्याका घटनाप्रति गम्भीर हुन, किसानलाई समयमा मलको व्यवस्था गर्न र सुकुमबासीको व्यवस्थापन गर्न आग्रह गरिएको छ ।
बैठकको शून्य समयमा सांसद लीमा अधिकारी आचार्यले मिटरब्याज पीडितको समस्या समाधानका लागि गम्भीर भएर सरकार लाग्नुपर्ने बताउनुभयो । सांसद विपिनकुमार आचार्यले कुनै पनि सरकारले राज्यसत्ता सम्हालेको १०० दिनपछि सरकारको समीक्षा हुने अभ्यास रहेको बताउँदै संसदबाट पनि हालसम्म भएका कामको समीक्षा गरिनुपर्नेमा जोड दिनुभयो ।
सांसद सन्तोष राजवंशीले राष्ट्रिय स्वतन्त्र पार्टीको वर्तमान सरकार मुलुकमा सुशासन कायम गर्न र समृद्धिका निम्ति योगदान गर्न प्रतिबद्ध रहेको बताउनुभयो । सांसद सन्दीप रानाले उहाँले अस्थायी र करार कर्मचारीको रोजगारीको सुनिश्चितता हुनुपर्ने बताउनुभयो ।
सांसद समीक्षा बास्कोटाले राष्ट्रिय स्वतन्त्र पार्टीले अराजनीतिक गतिविधि नगर्ने र स्वतन्त्र प्रेसप्रति पूर्ण प्रतिबद्ध रहने स्पष्ट गर्नुभयो ।
सांसद बोधनारायण श्रेष्ठले काठमाडौँ उपत्यकामा सञ्चालन हुने सवारी साधनको नवीकरण हचुवाका भरमा नगर्न आग्रह गर्नुभयो । सांसद विक्रम खनालले खेल पूर्वाधारका लागि नवलपरासीमा जग्गा रहेकाकाले लगानी गर्न आग्रह गर्नुभयो । सांसद शम्भुकुमार यादवले लोकतन्त्रका आधारभूत मूल्य मान्यतालाई पालना गर्दै प्रेस स्वतन्त्रतामा कतैबाट हस्तक्षेप हुन नहुने बताउनुभयो ।
सांसद क्षितिज थेवेले ताप्लेजुङ जिल्ला विपद्को उच्च जोखिममा रहेकाले पूर्वसचेतना अपनाउन आग्रह गर्नुभयो । सांसद ज्ञानु पौडेलले पोखरा र भैरहवा अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा ध्यान दिन माग गर्नुभयो ।
सांसदहरु लक्ष्मीप्रसाद पोखरेल, शम्भुप्रसाद ढकाल, शोभा खनाल, लालविक्रम थापा, श्रीराम न्यौपाने, सन्तोष सुब्बा, समिना मियाँ, सरस्वती लामा, सागर भुसाल, सीताराम साह, सृजना श्रेष्ठ, सुनील केसी, सुरेशकुमार चौधरी, सीता थपलिया, सुशीलकुमार कानु, सुशील खड्का, सुशीला ढकाल, सुषमा स्वर्णकार, सृष्टि भट्टराई, हरिनादेवी कामी, हरिमोहन भण्डारी, हरिप्रसाद भुसाल र ज्ञानेन्द्रसिंह महताले समसायिक विषयमा सरकार र सदनको ध्यनाकर्षण गराउनुभयो ।
यस्तै,प्रतिनिधि सभा बैठक दुई साताका लागि स्थगित भएको छ । बुधबार बसेको प्रतिनिधि सभा बैठकमा सभामुख डोल प्रसाद अर्यालले अर्को बैठक आगामी साउन १४ गते बस्ने जानकारी दिनुभएको छ ।
यसैगरी,राष्ट्रियसभाको अर्को बैठक आगामी साउन १५ गते बस्ने भएको छ । सभाको बुधबारको बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले उक्त जानकारी दिनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्