४२ वर्ष पूरा गर्दै नबिल बैंकको नयाँ संकल्प, एआईमार्फत भविष्यको बैंकिङ नेतृत्व गर्ने घोषणा

काठमाडौं, २८ असार । नेपालको पहिलो निजी क्षेत्रको वाणिज्य बैंक नबिल बैंक लिमिटेडले स्थापनाको ४२ वर्ष पूरा गर्दै कृत्रिम बुद्धिमत्ता (एआई) मा आधारित आधुनिक बैंकिङ सेवाको नेतृत्व गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

वार्षिकोत्सवको अवसरमा बैंकले ‘बैंकिङ एन्ड बियोन्ड’ अवधारणालाई अझ प्रभावकारी रूपमा अघि बढाउने घोषणा गर्दै ग्राहक, उद्यमी, लगानीकर्ता र समग्र अर्थतन्त्रका लागि प्रविधिमैत्री, समावेशी तथा दिगो वित्तीय सेवा विस्तार गर्ने लक्ष्य सार्वजनिक गरेको हो ।

वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा बैंकका अध्यक्ष निर्वाणकुमार चौधरीले विगत चार दशकको यात्रालाई स्मरण गर्दै नबिल बैंकको सबैभन्दा ठूलो शक्ति ग्राहकको विश्वास भएको बताउनु भयो । उहाँले बैंकले परिवर्तनको प्रतीक्षा गर्ने नभई परिवर्तनको नेतृत्व गर्ने संस्थाका रूपमा आफूलाई स्थापित गरेको उल्लेख गर्दै आधुनिक बैंकिङ प्रणालीदेखि डिजिटल सेवासम्मका नयाँ अभ्यासमा नबिल अग्रणी रहेको दाबी गर्नुभयो ।

उहाँका अनुसार नबिल बैंकले नेपालको बैंकिङ क्षेत्रमा धेरै पहिलो अभ्यासको सुरुआत गरेको छ । डिजिटल बैंकिङ प्लेटफर्म ‘एनबैंक (लद्यबलप)’ मार्फत ग्राहकलाई सहज, सुरक्षित र छिटो सेवा प्रदान गर्दै आएको बैंकले अब कृत्रिम बुद्धिमत्तालाई बैंकिङ सेवाको केन्द्रमा राखेर नयाँ चरणको विकास गर्ने रणनीति बनाएको छ ।

अध्यक्ष चौधरीले एआई बैंकिङ क्षेत्रको सबैभन्दा ठूलो रूपान्तरणकारी प्रविधि भएको उल्लेख गर्दै यसले निर्णय प्रक्रिया, जोखिम व्यवस्थापन, ग्राहक सेवा, कर्जा प्रवाह तथा सुरक्षा प्रणालीलाई अझ प्रभावकारी बनाउने बताउनु भयो । उहाँका अनुसार आगामी दिनमा एआईको प्रयोगमार्फत ग्राहकको आवश्यकताअनुसार व्यक्तिगत सेवा, द्रुत कर्जा स्वीकृति, प्रभावकारी जोखिम विश्लेषण र वित्तीय पहुँच विस्तार गरिनेछ । प्रविधि जति विकसित भए पनि बैंकिङको मूल आधार मानवीय विश्वास र सम्बन्ध नै रहने उहाँको भनाइ थियो ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले १९८४ मा स्थापना भएको नबिल बैंक आज लाखौँ ग्राहकको विश्वास र हजारौँ कर्मचारीको समर्पणका कारण नेपालको अग्रणी वित्तीय संस्थाका रूपमा स्थापित भएको बताउनु भयो । उहाँले आगामी दिनमा पनि नवीन प्रविधि, गुणस्तरीय सेवा र दिगो विकासलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

बैंकले सार्वजनिक गरेको विवरणअनुसार उत्पादनशील क्षेत्रमा लगानी विस्तारलाई प्राथमिकता दिइएको छ । हाल बैंकले कृषि क्षेत्रमा ५३ अर्ब ३१ करोड रुपैयाँ, ऊर्जा क्षेत्रमा ५१ अर्ब ६ करोड रुपैयाँ, लघु, घरेलु, साना तथा मझौला उद्योगमा ४५ अर्ब ९२ करोड रुपैयाँ तथा पर्यटन क्षेत्रमा ११ अर्ब १० करोड रुपैयाँभन्दा बढी कर्जा लगानी गरेको जनाएको छ ।

वित्तीय सूचकांकमा पनि बैंकले उल्लेखनीय वृद्धि हासिल गरेको छ । स्थापना कालमा २ करोड ८० लाख रुपैयाँ रहेको बैंकको नेटवर्थ चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ७० अर्ब ८३ करोड रुपैयाँ पुगेको छ ।

त्यस्तै, १० लाख रुपैयाँ रहेको वार्षिक खुद नाफा बढेर ६ अर्ब ७६ करोड रुपैयाँ पुगेको छ । निक्षेप संकलन १४ करोड ६० लाख रुपैयाँबाट बढेर ५ खर्ब ८८ अर्ब ८५ करोड रुपैयाँ पुगेको छ भने कर्जा प्रवाह १३ करोड ३० लाख रुपैयाँबाट वृद्धि भएर ४ खर्ब ६४ अर्ब १० करोड रुपैयाँ पुगेको बैंकले जनाएको छ । कुल सम्पत्ति पनि ७ खर्ब १८ अर्ब ४२ करोड रुपैयाँ पुगेको छ ।

सेवा सञ्जालको विस्तारमा पनि बैंकले उल्लेखनीय प्रगति गरेको छ । दुई शाखा र १४४ कर्मचारीबाट सेवा सुरु गरेको नबिल बैंकले हाल देशभर २६४ शाखा, ३१५ एटीएम, १८ एक्सटेन्सन काउन्टर तथा २ हजार ४६९ कर्मचारीमार्फत २६ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।

४२औँ वार्षिकोत्सवको अवसरमा बैंकले ४२ दिनसम्म सञ्चालन हुने विशेष ग्राहकमुखी योजना पनि सार्वजनिक गरेको छ । सडक विस्तारबाट प्रभावित हेटौँडा र वीरगञ्जका सेवाग्राहीका लागि सहुलियतपूर्ण पुनःनिर्माण घर कर्जा योजना ल्याइएको छ । त्यसैगरी लकर सुविधा, डेबिट तथा क्रेडिट कार्ड, इलेक्ट्रोनिक पेमेन्ट गेटवे सेवामा विशेष छुटको व्यवस्था गरिएको छ ।

केही सेवामा ४२ प्रतिशतसम्म छुट तथा कार्ड सेवामा आवेदन र सदस्यता शुल्कमा विशेष सहुलियत प्रदान गरिने बैंकले जनाएको छ ।
डिजिटल रूपान्तरण, कृत्रिम बुद्धिमत्ताको प्रयोग, उत्पादनशील क्षेत्रमा लगानी विस्तार र ग्राहकमैत्री सेवालाई प्राथमिकतामा राख्दै नबिल बैंकले आगामी वर्षहरूमा नेपालको सबैभन्दा विश्वासिलो, नवप्रवर्तनशील र भविष्यका लागि तयार बैंक बन्ने लक्ष्यसहित आफ्नो नयाँ यात्रा अघि बढाएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्