शेयर बजारमा लगातार दोस्रो दिन गिरावट, नेप्से २६ सय अंकमा झ¥यो

काठमाडौं, १६ असार । नेपाली शेयर बजारमा लगातार दोस्रो कारोबार दिन पनि गिरावट कायम रहँदा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २६ सय अंकको विन्दुमा झरेको छ । लगानीकर्ताको मनोबल कमजोर बन्दै जाँदा अधिकांश कम्पनीको शेयर मूल्य घटेको छ भने कारोबार रकममा पनि अपेक्षाकृत सुधार देखिन सकेको छैन ।

मंगलबार नेप्से परिसूचक २४.६३ अंक अर्थात् ०.९३ प्रतिशतले घटेर २६०८.३३ अंकमा बन्द भएको हो । पछिल्ला केही दिनयता बजारमा बिक्री दबाब बढ्दै गएको र खरिदकर्ताको सक्रियता अपेक्षाकृत कमजोर रहेकाले परिसूचक निरन्तर ओरालो लागिरहेको विश्लेषकहरू बताउँछन् ।

कारोबारमा सूचीकृत सबै उपसमूहका परिसूचक घटेका छन् । कुनै पनि क्षेत्र हरियो हुन नसक्दा बजार पूर्ण रूपमा राताम्मे देखिएको थियो । सबैभन्दा बढी गिरावट ट्रेडिङ समूहमा देखिएको छ, जसको परिसूचक १.७४ प्रतिशतले घटेको छ । अन्य बैंकिङ, विकास बैंक, जलविद्युत, वित्त, लघुवित्त, होटल तथा पर्यटन, उत्पादन, लगानी, जीवन बीमा, निर्जीवन बीमा, म्युचुअल फन्डलगायत सबै उपसमूह पनि नकारात्मक बने ।

कारोबारतर्फ ३६५ कम्पनीका ८७ लाख ३७ हजार ३९२ कित्ता शेयर खरिद–बिक्री हुँदा कुल ३ अर्ब २५ करोड ८७ लाख ५८ हजार रुपैयाँभन्दा बढीको कारोबार भएको नेप्सेले जनाएको छ । अघिल्लो कारोबार दिनको तुलनामा कारोबार रकममा सामान्य वृद्धि देखिए पनि त्यसले बजारलाई सकारात्मक दिशातर्फ लैजान सकेन ।

बजार समग्रमा घटे पनि केही कम्पनीका लगानीकर्ताले उल्लेखनीय प्रतिफल कमाएका छन् । स्नो रिभर माइक्रोफाइनान्सका लगानीकर्ताले सबैभन्दा बढी १४.९९ प्रतिशत नाफा कमाए । त्यसपछि कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर मूल्य १३.०४ प्रतिशत र स्वाभिमान लघुवित्तको १०.८० प्रतिशतले बढेको छ । यता टक्सार पिखुवा हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा बढी ५.९६ प्रतिशतले मूल्य घटेको सामना गर्नुपरेको छ ।

कारोबार रकमका आधारमा भने सिद्धार्थ बैंक अग्रस्थानमा रह्यो । बैंकको १३ करोड ३९ लाख रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ, जुन दिनभरको सबैभन्दा ठूलो कारोबार हो ।

यसअघि साताको पहिलो कारोबार दिन सोमबार पनि नेप्से १६.५४ अंकले घटेको थियो । त्यस दिन २ अर्ब ६७ करोड १८ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । लगातार दुई दिनको गिरावटपछि बजार पुनः २६ सय अंकको तहमा झरेको छ ।

बजार विश्लेषकहरूका अनुसार पछिल्लो समय लगानीकर्तामा देखिएको ‘पर्ख र हेर’ रणनीति, नाफा सुरक्षित गर्ने प्रवृत्ति तथा बजारमा नयाँ लगानीको गति सुस्त रहनुले परिसूचकमा दबाब परेको देखिन्छ । आगामी कारोबार दिनमा लगानीकर्ताको मनोविज्ञान र बजारमा नयाँ पूँजीको प्रवेशले बजारको दिशा निर्धारण गर्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्