सिलिचोङमा पहिरो जाँदा सात परिवार विस्थापित

 

किमाथाङ्का (सङ्खुवासभा), १६ असारः सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–१ म लगातारको वर्षापछि आएको बाढीपहिरोले सात परिवार विस्थापित भएका छन् । अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण सिलिचोङ–१ तेन्छोङका सात परिवार विस्थापित भएका हुन् ।

शनिबार रातिदेखि आएको अविरल वर्षाका कारण बाढीपहिरो आउँदा सिलिचोङ–१ तल्लो तेन्छोङका सात परिवार विस्थापित भएका जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख एवं प्रहरी निरीक्षक धनबहादुर राजवंशीले जानकारी दिनुभयो । उहाँका अनुसार कुन्ती राईसहित परिवारका पाँच जना, धनपूर्ण राईको सात जनाको परिवार, मङ्गलबहादुर राईको छ जनाको विस्थापित भएको हो ।

त्यस्तै, सुकप्रसाद राईको चार जनाको, मिरा राईको पाँच जनाको धनमान राईको तीन जनाको र अरुणसङ्गम राईको परिवार विस्थापित भएको प्रहरी निरीक्षक राजवंशीले बताउनुभयो । पहिरोबाट विस्थापित सात परिवारलाई गाउँपालिकाको सहयोगमा सुरक्षित स्थानमा सारिएको छ ।

बस्तीमाथिको जमिन चिरा परेपछि स्थानीयलाई सिसुवा प्रहरी चौकीको सहयोगमा सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । घटना लगत्तै सोमबार बिहान जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाबाट प्रहरी नायब निरीक्षक अनिल भुजेलको नेतृत्वमा १० जनाको टोली घटनास्थलमा खटिएको प्रहरी निरीक्षक राजवंशीले जानकारी दिनुभयो । उहाँका अनुसार थप क्षतिको विवरण सङ्कलन तथा अनुगमन भइरहेको छ ।

यसैबीच सिलिचोङ गाउँपालिकाले सोमबार एक विज्ञप्ती जारी गर्दै जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन तथा आवश्यक परे सुरक्षित स्थानमा जान आग्रह गरेको छ । बाढीपहिरोले विद्युत्, सञ्चार तथा यातायात सेवा अवरुद्ध भएका छन् । सिलिचोङ–१ सिसुवाखोलामा अविरल वर्षासँगै आएको बाढीका कारण दुई वटा विद्यालयमा क्षति पुगेपछि पठनपाठन पूर्ण रूपमा ठप्प भएको गाउँपालिकाका अध्यक्ष भूपालराज मेवाहाङले जानकारी दिनुभयो । बाढीपहिरोका कारण गाउँपालिका केन्द्रसम्म पुग्ने सडक अवरुद्ध हुनुका साथै केन्द्रीय विद्युत्, माइक्रोहाइड्रो, इन्टरनेट तथा सञ्चार सेवा प्रभावित भएपछि सरकारी सेवा प्रवाहसमेत प्रभावित भएको उहाँले बताउनुभयो ।

अध्यक्ष मेवाहाङका अनुसार पहिरोले गाउँपालिकाभित्रका सबै सडक तथा गोरेटो बाटो अवरुद्ध भएका छन् । बाढीले स्थानीय दुई वटा माइक्रोहाइड्रो आयोजना पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने करिब ७० प्रतिशत सञ्चार सेवा अवरुद्ध हुँदा जनजीवन थप प्रभावित बनेको छ ।

माथिबाट खसेको पहिरोले सिलिचोङ–१ नेवाटारको कालिका माध्यमिक विद्यालयमा क्षति पुगेको छ । विद्यालयको १५ वटा कक्षा कोठा चिराचिरा परेका छन् भने शैक्षिक सामग्रीसमेत क्षति भएका छन् ।

त्यसैगरी सिलिचोङ–४ स्थित बागेश्वरी आधारभूत विद्यालयमा समेत क्षति पुगेको छ । पहिरोले विद्यालय भवन तथा शैक्षिक सामग्रीमा ठूलो क्षति पु¥याएपछि दुई विद्यालयको पठनपाठन रोकिएको गाउँपालिकाका अध्यक्ष मेवाहाङले जानकारी दिनुभयो । पहिरोको उच्च जोखिममा परेकाले विद्यालयलाई पूर्ण रूपमा सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्ने अवस्था सिर्जना भएको उहाँको भनाइ छ ।

बाढीपहिरो प्रभावित बस्तीको अनुगमन, सुरक्षित स्थानमा स्थानान्तरण, राहत वितरण तथा पुनस्र्थापनाका लागि कोशी प्रदेश सरकार र सङ्घीय सरकारसँग तत्काल आवश्यक सहयोग उपलब्ध गराउन आग्रह गरिएको गाउँपालिकाका अध्यक्ष मेवाहाङले बताउनुभयो । उहाँका अनुसार सिलिचोङका तेन्छोङ, होयेङ्ला, चेप्चेवा, नेवाटार, याङसिम र गोगानेका दर्जनौँ गाउँ पहिरोको उच्च जोखिममा परेका छन् ।

पहिरोको उच्च जोखिम भएपछि स्थानीयवासी घर छाडेर सुरक्षित स्थानमा सामूहिक रूपमा आश्रय लिएर बसेका छन् । स्थानीय जनप्रतिनिधि, वडा कार्यालय, गाउँपालिका र सुरक्षा निकायको संयुक्त टोलीले प्रभावित क्षेत्रको अनुगमन गरिरहेको जनाउँदै निरन्तर वर्षा हुँदा सडक अवरुद्ध भएकाले राहत तथा उद्धार व्यवस्थापनमा कठिनाइ भइरहेको गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्