तीन महिनादेखि निःशुल्क वितरण गरिने औषधिको अभाव

काँक्रेविहार (सुर्खेत), १३ असारः सल्यानका अस्पताल तथा स्वास्थ्य संस्थामा तीन महिनादेखि निःशुल्क वितरण गरिने औषधिको अभाव भएको छ । यहाँका अस्पतालहरूमा उच्च रक्तचाप, मधुमेह, मानसिक रोग र परिवार नियोजनका औषधिको अभाव भएको हो ।
औषधि अभावका कारण दीर्घरोगी महँगोमा निजी मेडिकलबाट औषधि किन्न बाध्य भएका बिरामीले बताएका छन् । प्रदेश सरकारले अहिलेसम्म निःशुल्क वितरण गरिने औषधि नपठाएपछि जिल्ला अस्पताल सल्यानसहित पालिकाका स्वास्थ्य संस्थामा दीर्घरोगीले प्रयोग गर्ने औषधिको अभाव भएको छ ।
कपुरकोट गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सुवास हमालले पालिकाका सबै स्वास्थ्य संस्थामा उच्च रक्तचाप, मधुमेह, मानसिक रोग मात्र नभई परिवार नियोजनका लागि प्रयोग गरिने औषधिको अभाव भएको बताउनुभयो ।
दार्मा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख यज्ञबहादुर बस्नेतले निःशुल्क पाउने औषधि स्वास्थ्य संस्थामा नपाउँदा आर्थिक अवस्था कमजोर भएका नियमित सेवनबाट वञ्चित भएको बताउनुभयो । यो वर्षमा मात्र नभई प्रत्येक वर्ष औषधि ढिला पठाउँदा कहिले के त कहिले के औषधि अभाव भइरहने गरेको उहाँले बताउनुभयो ।
स्वास्थ्य सेवा कार्यालय सल्यानका प्रमुख डा अर्जुन बुढामगरले प्रदेश सरकारले अस्पतालबाट निःशुल्क वितरण गरिने ९८ प्रकारका औषधि पठाउनेमा यसपालि अहिलेसम्म नपठाएकाले उच्च रक्तचाप, मधुमेह, मानसिक रोगलगायत औषधिको अभाव भएको बताउनुभयो । अस्पतालमा उपचार गर्न आएका बिरामीलाई मेडिकल तथा अस्पतालको फार्मेसीबाट किन्न लगाउनुपरेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्