पर्वत, १३ असारः रोजगारीका लागि आठ वर्षसम्म खाडीमुलुक साउदी अरब बसे पनि भनेजस्तो कमाई गर्न नसकेपछि घर फर्किएर व्यावसायिक गाईपालन गर्नुभएका पर्वतका एक युवाले मासिक रु दुई लाखभन्दा बढी आम्दानी गर्दै आउनुभएको छ । पर्वतको जलजला गाउँपालिका-८ फर्सेका ४५ वर्षीय नारायण जिसीले स्वदेशमै बसेर मासिक रु दुई लाखभन्दा बढी आम्दानी गर्न सफल हुनुभएको हो ।
विगत १३ वर्षदेखि व्यावसायिक गाईपालनमा लाग्नुभएका जिसीको गोठमा १२ वटा गाई र एउटा भैँसी छ । उहाँले दैनिक रूपमा ७५ देखि ८० लिटर दूध उत्पादन गरी बजारमा बिक्री गर्दै आएको जानकारी दिनुभयो । “गाईपालन सुरु गरेपछि आठ वर्ष साउदी अरब गएर काम गरेँ, तर आफ्नै घरमा जस्तो कमाई नभएपछि पुनः फर्केर व्यवसाय विस्तार गरेको हुँ”, उहाँले भन्नुभयो ।
पछिल्लो पटक रु १५ लाख लगानी गरेर गाईपालनमार्फ दूध उत्पादन थाल्नुभएका जिसीले यो व्यवसायबाट आफू सन्तुष्ट रहेको बताउनुभयो । उहाँले दूध बिक्रीबाट वार्षिक रु २४ लाखभन्दा बढी आम्दानी हुने गरेको बताउनुभयो ।
उहाँले दानापानी, घाँस, परालका लागि मासिक रु ६० हजार खर्च हुने गरेको बताउँदै खर्च कटाएर वार्षिक रु १७ लाखदेखि रु १८ लाखसम्म बचत गर्ने गरेको जानकारी दिनुभयो । उहाँका अनुसार उत्पादित दूध बस्ती नजिकै रहेको सङ्गम दुग्ध उत्पादक तथा कृषि सहकारी संस्थाको सङ्कलन केन्द्रमा बिक्री हुँदै आएको छ ।
सहकारीले प्रतिलिटर गुणस्तरका आधारमा न्यूनतम रु ९६ देखि रु ११० सम्म रकम किसानलाई भुक्तानी दिने गरेको जिसीले उल्लेख गर्नुभयो । घरबाटै बिक्री गरी पर्याप्त मूल्यसमेत पाउने भएकाले व्यवसायमा सोचेभन्दा बढी सफलता पाएको उहाँको भनाइ छ । “नजिकैको सहकारीमा बिक्री हुने भएकाले बजारीकरणको समस्या पनि छैन, गुणस्तरका आधारमा मूल्य निर्धारण हुने भएकाले ढुक्क छु”, उहाँले भन्नुभयो ।
जिसीले एकीकृत विकास कार्यालय र गाउँपालिकाको कार्यालय दुवै स्थानमा फार्म दर्ता गरेर सञ्चालन गर्दै आएको जानकारी दिनुभयो । गाईवस्तुका लागि दानापानी आफैँ तयार गर्ने, घाँसपराल आफ्नै खेतबारीमा उत्पादन गर्ने भएकाले नियमित खर्चसमेत कम हुने उहाँको अनुभव छ ।
जिसीले आफ्नो फार्ममा परिवारका सदस्यले मात्र काम गर्दै आएका बताउनुभयो । आफू, श्रीमती, छोराछोरीले नियमित रेखदेख गर्ने गरेको बताउँदै उहाँले हालसम्म बाहिरी कामदार राख्नु नपरेको उल्लेख गर्नुभयो ।
भनेजस्तो कमाई भएपछि जिसी हौसिनुभएको छ । उहाँले यो व्यवसायलाई विस्तार गर्ने योजनासमेत बनाउनुभएको छ । अब गोठ तथा अन्य संरचना विस्तार गरी गाईभँैसीको सङ्ख्या २० पु¥याउने योजना रहेको उहाँले बताउनुभयो । जिसीले पालिका र जिल्लामा रहेको भेटेरीनरी अस्पतालले प्राविधिक सहयोग गर्दै आएको जानकारी दिनुभयो ।
यसबाहेक दूध ढुवानीमा प्रतिलिटर रु पाँच अनुदान पाउने भएपछि किसानलाई थप सहज भएको छ । आफूहरूलाई राज्यलेसमेत प्रोत्साहन गरेकाले यसतर्फ आकर्षण बढेको सञ्चालक जिसीले बताउनुभयो । उहाँले आफूजस्तै विदेशमा गएर भौतारिने युवायुवतीलाई स्वदेशमै कृषि तथा पशुपालन गर्न सुझाव दिनुभयो ।
पर्याप्त मात्रामा उत्पादन गर्ने हो भने बजारको अभाव नहुने बताउँदै जिसीले खाडी मुलुकमा पसिना बगाउनुभन्दा आधा कम कमाई भए पनि स्वदेशमै रमाउन आनन्द हुने अनुभव सुनाउनुभयो । फर्से गाउँमा जिसी मात्र नभई अन्य ३५ जना युवाले व्यवसायी गाईभैँसी पालन फार्म सञ्चालन गर्दै आएका छन् ।
यहाँको एउटै गाउँबाट दैनिक ८०० लिटर दूध उत्पादन हुने गरेको जिल्लास्थित भेटेरीनरी अस्पताल तथा पशुसेवा कार्यालयले जानकारी दिएको छ । कार्यालयका प्रमुख सुरेशकुमार श्रेष्ठले किसानलाई प्रोत्साहनका लागि प्रतिलिटर दूध ढुवानीमा रु पाँचका दरले अनुदान दिँदै आएको बताउनुभयो । यसबाहेक भकारो सुधार, गाईभैँसीलाई बस्ने म्याट खरिद, दूध सङ्कलनका लागि क्यानलगायत सामग्रीसमेत कार्यालयले सहयोग गर्दै आएको उहाँले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्