ट्राफिक कारबाहीबाट एकैदिन २१ लाखभन्दा बढी राजस्व संकलन

काठमाडौं, १३ असार । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीचालकमाथि गरिएको कारबाहीबाट राज्यकोषमा एकैदिन २१ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन भएको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार पछिल्लो २४ घण्टामा विभिन्न ट्राफिक कसुरमा दुई हजार १०२ जना चालक कारबाहीमा परेका छन् । उनीहरूबाट जरिवानास्वरूप रु २१ लाख १० हजार ५१४ राजस्व संकलन भएको हो ।

ट्राफिक नियमको प्रभावकारी कार्यान्वयनसँगै राजस्व संकलनमा उल्लेख्य वृद्धि भएको प्रहरीको भनाइ छ । कार्यालयका अनुसार सबैभन्दा बढी एक हजार ४८४ जना चालक अन्य विभिन्न ट्राफिक नियम उल्लङ्घनका कारण कारबाहीमा परेका छन् ।

यस अवधिमा मादकपदार्थ सेवन गरी सवारी चलाउने ८९ जना, नियमविपरीत ‘राइड सेयरिङ’ सञ्चालन गर्ने १०८ जना, ट्राफिक सङ्केत बत्ती उल्लङ्घन गर्ने ९९ जना तथा तीव्र गतिमा सवारी चलाउने ८३ जनालाई कारबाही गरिएको छ । त्यसैगरी लेन अनुशासन पालना नगर्ने ५९ जना, निषेधित क्षेत्रमा हर्न बजाउने १०० जना, एकतर्फी सडकमा सवारी सञ्चालन गर्ने ७८ जना र लागुपदार्थ सेवन गरी सवारी चलाउने दुई जनालाई पनि कानुनी दायरामा ल्याइएको छ ।

ट्राफिक प्रहरीले नियम उल्लङ्घन नियन्त्रणका लागि दैनिक रूपमा विशेष निगरानी, चेकिङ तथा प्रविधिमैत्री अनुगमनलाई प्राथमिकता दिँदै आएको जनाएको छ । यसले सडक सुरक्षा अभिवृद्धिसँगै सरकारी राजस्व सङ्कलनमा पनि योगदान पु¥याएको देखिएको छ ।

अर्थतन्त्रका दृष्टिले ट्राफिक जरिवानाबाट सङ्कलन हुने राजस्व सरकारको गैरकर आम्दानीको एउटा स्रोत हो । यद्यपि यसको मुख्य उद्देश्य राजस्व वृद्धि नभई सडक अनुशासन कायम गर्नु, दुर्घटना न्यूनीकरण गर्नु तथा सुरक्षित यातायात प्रणाली विकास गर्नु रहेको ट्राफिक प्रहरीको भनाइ छ ।

विशेषज्ञहरूका अनुसार ट्राफिक नियमको प्रभावकारी पालना हुन सके दुर्घटनाबाट हुने मानवीय तथा आर्थिक क्षति उल्लेखनीय रूपमा घटाउन सकिन्छ ।

सडक दुर्घटनाबाट हुने उपचार खर्च, उत्पादनशील समयको ह्रास तथा सम्पत्तिको क्षति कम हुँदा समग्र अर्थतन्त्रमा पनि सकारात्मक प्रभाव पर्छ । त्यसैले ट्राफिक नियमको कडाइलाई राजस्व सङ्कलनको माध्यमभन्दा पनि सुरक्षित र व्यवस्थित यातायात प्रणाली निर्माण गर्ने दीर्घकालीन लगानीका रूपमा हेर्नुपर्ने सरोकारवालाहरू बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्