‘टोलटोलमा फिल्म महोत्सव’ गर्दै काठमाडौँ महानगर

काठमाडौँ, २७ जेठः चलचित्रका पेसाकर्मीलाई समुदायसँग जोड्ने र समुदायका तर्फबाट सम्मान गर्ने कार्यक्रमअन्तर्गत काठमाडौँ महानगरपालिकाले ‘टोलटोलमा फिल्म महोत्सव’ गर्ने भएको छ ।

सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान सङ्गतले ‘टोलटोलमा फिल्म महोत्सव’ कार्यक्रमले चलचित्र क्षेत्रका सबै विधालाई समुदायसँग जोड्ने बताउनुभयो ।

कामनपाको सम्पदा तथा पर्यटन विभागले कार्यान्वयनमा ल्याउन लागेको ‘टोलटोलमा फिल्म फेस्टिभल’ कार्यक्रमको अपेक्षित नतिजाका विषयमा कुरा गर्दै उहाँले फिल्म क्षेत्रलाई सम्मानित पेसाका रूपमा समुदायमा परिचित गराउनुपर्छ भन्नुभयो ।

समुदायस्तरमा फिल्म महोत्सवका कार्यक्रम सञ्चालन व्यवस्थापन गर्न कामनपाले सामाजिक तथा सांस्कृतिक क्रियाकलापमा आबद्ध गैरनाफामूलक सङ्घसंस्था, युथ क्लब, सामुदायिक संस्था, टोल विकास समिति, सांस्कृतिक समूह, पुचःलाई जिम्मेवारी दिने निर्णय गरेको छ ।

फिल्म देखाइने स्थानहरू परम्परागत टोल, वहाः, वही, चोक, ननी, एम्पीथिएटर, पार्कजस्ता खुला स्थान हुनेछन् । यस प्रयोजनका लागि कामनपाले खुला प्रस्ताव आह्वान गरेको छ । जेठ २७ गते राति १२ः०० बजे अगाडि इच्छुकले कामनपाको वेबसाइटमा दिइएको ठेगानाबाट प्रस्ताव दिन सक्नेछन् ।

समुदायस्तरको कार्यक्रम भएकाले व्यवस्थापनमा सहकार्य गर्न इच्छुक सङ्घसंस्थालाई प्रस्ताव पेस गर्न विभागका प्रमुख कुमारी राईले आग्रह गर्नुभयो ।

चलचित्रको गुणस्तर, विषयवस्तु, प्रस्तुतिकरणजस्ता विषय छनोट गर्न, कार्यक्रमलाई उद्देश्यमूलक बनाउने उद्देश्यले निगरानी, नियमन तथा नियन्त्रण गर्न सङ्गतको संयोजकत्वमा समिति गठन भएको छ ।

प्रतिक्रिया दिनुहोस्