गोदावरी (कैलाली), २६ जेठः गौरीगङ्गा नगरपालिका–१ की ३५ वर्षीया पूजा रावलले बङ्गुरका पाठापाठी बिक्रीबाट मासिक रु ७० हजार आम्दानी गर्दै आउनुभएको छ ।
सात वर्षअघि दुईवटा बङ्गुरबाट सुरु गरेको व्यवसायलाई उहाँले अहिले सानाठूला गरी ११० वटा बङ्गुरसम्म विस्तार गर्न सफल हुनुभएको छ । रावलले बङ्गुरका पाठापाठीलाई ४५ दिनसम्म हुर्काएर प्रतिपाठा रु सात हजारसम्ममा बिक्री गर्नुहुन्छ ।
बङ्गुरका पाठापाठी बिक्रीबाट मात्रै मासिक रु एक लाख ५० हजारसम्मको कारोबार हुने गरेको उहाँले बताउनुभयो । उहाँले सबै खर्च कटाएर मासिक रु ७० हजार बचत गर्ने गरेको सुनाउनुभयो । बङ्गुर खोरको दैनिक हेरचाह उहाँका बुबा र आमाले गर्दै आउनुभएको छ भने बजार व्यवस्थापन र बिक्री वितरणको जिम्मेवारी आफैँले सम्हाल्दै आउनुभएको छ ।
बङ्गुरका पाठापाठी कैलाली–कञ्चनपुरलगायत पहाडी जिल्लामा समेत बिक्री हुने गरेका छन् । बङ्गुरपालनसँगै उहाँले ब्रोइलर कुखुरापालन व्यवसाय पनि सञ्चालन गर्दै आएको बताउनुभयो । गाउँघरमै अवसर खोजेर मिहिनेत गर्नसके राम्रो आम्दानी गर्न सकिने अनुभव सुनाउँदै रावलले युवाहरूलाई पनि स्वदेशमै उद्यमशील बन्न आग्रह गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्