कोशी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डमा सुनसरी च्याम्पियन, राष्ट्रिय प्रतियोगिताका लागि ११५ खेलाडी छनोट

काठमाडौं, १९ जेठ । कोशी प्रदेशस्तरीय १६औँ राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगितामा सुनसरी जिल्ला च्याम्पियन बनेको छ । इटहरीमा सम्पन्न तीनदिने प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै सुनसरीले २१ स्वर्ण पदक जितेर उपाधि आफ्नो नाममा लेखाएको हो ।

प्रतियोगितामा झापाले १८ स्वर्ण पदक जित्दै दोस्रो स्थान हासिल गर्यो भने मोरङले १६ स्वर्ण पदकसहित तेस्रो स्थानमा चित्त बुझायो । प्रदेशका १४ वटै जिल्लाबाट छनोट भएका खेलाडीहरूको सहभागिता रहेको प्रतियोगितामा खेलाडीहरूले विभिन्न विधामा प्रतिस्पर्धा गर्दै आफ्नो क्षमता प्रदर्शन गरेका थिए ।

कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजनामा सम्पन्न प्रतियोगितामा प्रदेशभरबाट करिब एक हजार ७०० खेलाडी सहभागी भएको बोर्डका सदस्य सचिव विप्लब घोषले जानकारी दिनुभयो । प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, कराते, तेक्वान्दो तथा उसु गरी छ खेल विधा समावेश गरिएको थियो ।

प्रदेशस्तरीय प्रतियोगिता केवल पदक जित्ने प्रतिस्पर्धामा सीमित नभई राष्ट्रिय प्रतियोगिताका लागि उत्कृष्ट खेलाडी छनोट गर्ने महत्वपूर्ण माध्यमका रूपमा रहेको आयोजकले जनाएको छ । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीहरूमध्ये ११५ जना खेलाडी तथा अफिसियल राष्ट्रियस्तरको प्रतियोगिताका लागि छनोट भएका छन् ।

छनोट भएका खेलाडी तथा अफिसियललाई सोमबार साँझ विशेष कार्यक्रमबीच काठमाडौंका लागि बिदाइ गरिएको थियो । कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले खेलाडीहरूलाई शुभकामना दिँदै राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शनमार्फत प्रदेशको प्रतिष्ठा उँचो बनाउने विश्वास व्यक्त गर्नुभयो ।

मुख्यमन्त्री कार्कीले खेलाडीहरूलाई अनुशासन, मेहनत र खेलभावनाका साथ प्रतिस्पर्धा गर्न आग्रह गर्दै खेलकुदले युवाहरूको व्यक्तित्व विकाससँगै प्रदेशको पहिचान स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँले प्रदेश सरकारले खेलकुद क्षेत्रको विकास र खेलाडीको प्रोत्साहनका लागि आवश्यक सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

यसैबीच, राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा १६औँ केन्द्रीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता जेठ २० गतेदेखि काठमाडौंमा सुरु हुँदैछ । तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा सातै प्रदेशका ६८६ खेलाडी सहभागी हुने राखेपले जनाएको छ ।

राष्ट्रिय प्रतियोगितामा पनि एथलेटिक्स, भलिबल, कबड्डी, कराते, तेक्वान्दो र उसु गरी छ खेल विधामा प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा कुल ६६ स्वर्ण पदकका लागि खेलाडीहरूबीच प्रतिस्पर्धा हुने कार्यक्रम रहेको छ ।
एथलेटिक्सतर्फ २६ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ भने भलिबल र कबड्डीमा समान दुई–दुई स्वर्ण पदकका लागि खेल हुनेछ । त्यस्तै कराते, तेक्वान्दो र उसुमा समान १२–१२ स्वर्ण पदकका लागि प्रतिस्पर्धा गराइनेछ ।

राखेपका सदस्य सचिव रामचरित्र मेहताका अनुसार एथलेटिक्सका खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सञ्चालन हुनेछन् । भलिबल प्रतियोगिता राखेपको कभर्डहलमा, कबड्डी लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा, कराते कीर्तिपुर कभर्डहलमा, तेक्वान्दो सातदोबाटोस्थित नेपाल तेक्वान्दो एकेडेमीमा तथा उसुका खेल त्रिपुरेश्वरस्थित राखेपको सेमी कभर्डहलमा सञ्चालन गरिनेछ ।

कोशी प्रदेशस्तरीय प्रतियोगितामा देखिएको उत्साहजनक सहभागिता र प्रतिस्पर्धाले प्रदेशमा खेलकुदप्रतिको आकर्षण बढ्दै गएको संकेत गरेको छ । अब राष्ट्रिय प्रतियोगितामा कोशी प्रदेशका खेलाडीहरूले कस्तो प्रदर्शन गर्छन् भन्ने विषय खेलप्रेमीहरूको चासोको केन्द्र बनेको छ ।

प्रतिक्रिया दिनुहोस्