काठमाडौँ, १८ जेठः कलाकर्मी, खेलाडी, उद्यमी र सञ्चारकर्मीले ‘विवाहमुक्त वाल्यकाल’ अभियानप्रति सामूहिक प्रतिबद्धता व्यक्त गरेका छन् । ‘प्लान इन्टरनेशन नेपाल’को सहकार्यमा महिला सेवा संस्था नेपालद्वारा आज यहाँ आयोजित कार्यक्रममा कलाकर्मी, खेलाडी, उद्यमी र सञ्चारकर्मीले बालविवाह दण्डनीय अपराध भएकाले यसको अन्त्यका लागि आफ्नो पेसा र क्षेत्रबाट निरन्तर लाग्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
कार्यक्रममा कलाकारहरू जितु नेपाल, शिवशङ्कर रिजाल, लक्ष्मी नेपाली, राधिका हमाल, मनिष रावल, इष्टु कार्की, श्वेता खड्का, आस्था राउत, सदिक्षा नेपाल, रूपेश झा, खेलाडी तारादेवी पुन, सञ्चारकर्मीहरू अनिता विन्दु, विजय पौडेल, कल्पना आचार्य, प्रकाश सिलवाल, मनोपरामर्शकर्ता जमुना शर्मालगायतले अभियानमा ऐक्यबद्धता जनाउनुभएको हो ।
प्लान नेपालका निमित्त राष्ट्रिय निर्देशक सृजना गुरूङले संस्थागत र व्यक्तिगतरू यस अभियानमा लाग्नुपर्ने बताउनुभयो । सेवा संस्थाका अध्यक्ष भावना भट्टले २० वर्षपछि विवाह गर्ने विद्यमान कानुनी व्यवस्थामा परिवर्तन गर्न नहुनेमा जोड दिनुभयो । कार्यक्रममा वालविवाह अन्त्य अभियानको प्रवद्र्धनमा केन्द्रित प्रत्यक्ष चित्रकला निर्माण, भिडियो तथा रचनाहरू प्रस्तुत गरिएको थियो ।
नेपालको संविधानको धारा ३९ ले बालबालिकालाई बालविवाह गर्न बाध्य पार्न नहुने व्यवस्था गरेको छ भने मुलुकली अपराध संहिता, २०७४ को दफा १७३ मा २० वर्ष नपुगी गरिने विवाहलाई दण्डनीय मानेको छ । यसैबीच, नेपालले सन् २०३० भित्र बालविवाह अन्त्य गर्ने लक्ष्य लिएको छ ।
प्रतिक्रिया दिनुहोस्