महिला क्रिकेटमा नेपालको उत्कृष्ट प्रदर्शन, सेमिफाइनल यात्रा तय

काठमाडौं,१४ जेठ । नेपाली महिला क्रिकेट टोलीले एसियाली खेलकुद महिला क्रिकेट छनोट प्रतियोगितामा लगातार दोस्रो जित निकाल्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ । मलेसियामा जारी प्रतियोगिताअन्तर्गत आज भएको खेलमा नेपालले इन्डोनेसियालाई चार विकेटले पराजित गर्दै समूह ‘बी’ को विजेताका रूपमा अन्तिम चारमा प्रवेश गरेको हो ।
यसअघि नेपालले पहिलो खेलमा चीनलाई १९ रनले हराएको थियो । लगातार दुई जितसँगै नेपालले चार अङ्क जोड्दै सेमिफाइनल यात्रा तय गरेको हो । अब नेपालले सेमिफाइनलमा समूह ‘ए’ को उपविजेता मलेसियासँग प्रतिस्पर्धा गर्नेछ । अर्को सेमिफाइनलमा थाइल्याण्ड र चीन आमनेसामने हुनेछन् ।
इन्डोनेसियाले दिएको १ सय १४ रनको लक्ष्य नेपालले १९ दशमलव ३ ओभरमा ६ विकेट गुमाएर पूरा ग¥यो । नेपालको जितमा कप्तान इन्दु बर्माले उत्कृष्ट तथा जिम्मेवार ब्याटिङ गर्दै टोलीलाई विजयतर्फ डो¥याइन् । उनले ४३ बलमा पाँच चौकाको सहयोगमा अविजित ४२ रन बनाइन् । कठिन परिस्थितिमा संयमित खेल प्रदर्शन गरेकी इन्दुको इनिङ्स नेपालको जितको मुख्य आधार बन्यो ।
नेपालले भने लक्ष्य पछ्याउने क्रममा राम्रो सुरुआत गर्न सकेन । ओपनर सम्झना खड्का एक रनमा आउट भइन् भने पूजा महतो नौ रन बनाएर पेभिलियन फर्किइन् । रुबी पोद्दारले खाता नै खोल्न सकिनन् । केवल २० रन बनाउँदा नेपालले तीन महत्वपूर्ण विकेट गुमाइसकेको थियो ।
सुरुआती दबाबपछि कप्तान इन्दु बर्माले इनिङ्स सम्हाल्दै टोलीलाई संकटबाट बाहिर निकालिन् । उनले मध्यक्रमका ब्याटरहरूसँग साझेदारी गर्दै रनगति कायम राखिन् । कविता कुँवरले १४ रनको योगदान दिइन् भने सीता राना मगर १३ रनमा अविजित रहिन् । अन्तिम समयमा इन्दु र सीताले धैर्यपूर्वक खेल्दै टोलीलाई जित दिलाए ।

इन्डोनेसियाका लागि नी मेडे र नी एरियानीले समान दुई विकेट लिए । तर उनीहरूको प्रयास टोलीलाई जित दिलाउन पर्याप्त हुन सकेन ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको इन्डोनेसियाले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै १ सय १३ रन बनाएको थियो । इन्डोनेसियाले सुरुमै दुई विकेट गुमाएर दबाबमा परेको थियो । ओपनर काडेक विनमडा गोल्डेन डकमा आउट भइन् भने अर्की ओपनर राहावटी पाङगेस्टुटी एक रनमै पेभिलियन फर्किइन् ।
दुई रनमै दुई विकेट गुमाएको अवस्थामा नी लु डिवी र नी पुटु आयुले तेस्रो विकेटका लागि ६५ रनको महत्वपूर्ण साझेदारी गर्दै टोलीलाई बलियो अवस्थामा पु¥याए । नेपालका बलरहरूलाई केही समय दबाबमा राखेको यो साझेदारी मनिषा उपाध्यायले तोडिन् । उनले नी लुलाई २३ रनमा एलबीडब्लु आउट गरिन् ।
नी मेडे १३ रन बनाएर आउट भइन् भने नी पुटु आयुले उत्कृष्ट अर्धशतकीय इनिङ्स खेलिन् । उनले ६२ बलमा तीन चौकासहित अविजित ५६ रन बनाइन् । उनको प्रदर्शनले इन्डोनेसियालाई सम्मानजनक योगफलसम्म पु¥याएको थियो ।
नेपालका बलरमध्ये मनिषा उपाध्याय सर्वाधिक प्रभावशाली रहिन् । उनले चार ओभरमा केवल नौ रन खर्चेर दुई विकेट लिइन् । रिया शर्माले एक विकेट हात पारिन् भने अन्य बलरहरूले पनि किफायती बलिङ गरे ।
प्रतियोगितामा नेपालले लगातार उत्कृष्ट प्रदर्शन गरिरहेको छ । विशेषगरी कप्तान इन्दु बर्माको नेतृत्व, बलिङ आक्रमणको अनुशासन र दबाबका बेला ब्याटिङ सम्हाल्ने क्षमताले टोली बलियो देखिएको छ ।
अब सेमिफाइनलमा पुगिसकेका चार टोलीमध्ये तीन टोलीले जापानमा हुने एसियाली खेलकुदमा स्थान बनाउनेछन् । त्यसैले आगामी खेल नेपालका लागि अत्यन्त महत्वपूर्ण रहनेछ । नेपाली महिला टोलीले हालसम्मको प्रदर्शनलाई कायम राख्न सके ऐतिहासिक उपलब्धि हासिल गर्ने सम्भावना बलियो देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्