उच्चशिक्षामा कृत्रिम बौद्धिकताको विवेकशील प्रयोगमा जोड

कीर्तिपुर (काठमाडौँ), ७ जेठः सार्क देशका विज्ञहरूले  कृत्रिम बौद्धिकतालाई मानव सेवामा लगाउन यसको विवेकशील प्रयोगमा जोड दिएका छन् । राज्यले जतिसक्दो छिटो नीति बनाएर यसको दुरुपयोग रोक्नुपर्ने विज्ञको धारणा छ ।
त्रिभुवन विश्वविद्यालयको आयोजना र एसियाली विकास बैङ्क तथा संयुक्त राष्ट्र शैक्षिक, वैज्ञानिक र सांस्कृतिक सङ्गठन (युनेस्को) को आर्थिक सहयोगमा    बुधबारदेखि राजधानीमा सुरु भएको ‘उच्चशिक्षामा जिम्मेवार र नवप्रवर्तनात्मक कृत्रिम बौद्धिकताको नक्साङ्कन’ सम्बन्धी बहसमा विज्ञहरूले यस्तो बताएका हुन् ।
कार्यक्रममा नेपालका साथै चीन, भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का, माल्दिभ्स, भूटानलगायत देशका प्रतिष्ठित विश्वविद्यालयका उपकुलपति, प्राध्यापक तथा  अनुसन्धानकर्ताहरूको उपस्थिति रहेको छ ।
कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा सुशीलबहादुर बज्राचार्यले कृत्रिम बौद्धिकताको सचेत प्रयोग गरी उच्चशिक्षालाई थप गुणस्तरीय, प्रभावकारी तथा विश्वपरिवेश अनुरूपको बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले कृत्रिम बौद्धिकताको प्रयोगबारे प्राध्यापक र विद्यार्थीलाई दक्ष बनाई संस्थागत विकासमा केन्द्रित गर्नुपर्ने, अनुसन्धान दक्षता अभिवृद्धि गर्नुपर्ने र नीतिगत रूपमा सरकारले कृत्रिम बौद्धिकताको प्रयोगलाई सहज बनाउने नीति तथा कानुन निर्माण गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
नेपालका लागि चीनका राजदूत छाङ म्याओमिङले कृत्रिम बौद्धिकताको विकासले  मानवीय चिन्तन प्रणालीमा व्यापक परिवर्तन ल्याएको धारणा व्यक्त गर्दै कृत्रिम बौद्धिकताको दिगो प्रयोग र सम्भावित चुनौतीको सामना गर्न चीन सरकारले अनुसन्धानमा लगानी बढाएको बताउनुभयो । उहाँले उच्चशिक्षामा कृत्रिम बौद्धिकताले अवधारणात्मक परिवर्तन ल्याएको उल्लेख गर्दै सबै मुलुकहरूले आपसी सहयोग र सहकार्यमार्फत प्रविधिको सकारात्मक र मानवउपयोगी प्रयोगमा जोड दिनुपर्ने धारणा राख्नुभयो ।
कार्यक्रममा ‘अनलाइन’ शिक्षासम्बन्धी अन्तरराष्ट्रिय संस्था नेपालको प्रारम्भ गरिएको छ । उक्त निकाय प्रारम्भ गर्ने सहमति पत्रमा निमित्त शिक्षाध्यक्ष प्राडा शङ्करप्रसाद खनाल र बी सियाओहान, युनेस्को उपनिर्देशकबीच हस्ताक्षर भएको थियो ।

प्रतिक्रिया दिनुहोस्