दुबई, २ जेठ (रासस/एएफपी): मध्यपूर्व युद्धले महत्त्वपूर्ण हर्मुज जलमार्गबाट निर्यात अवरुद्ध पारेपछि युएईले ‘स्ट्रेट अफ हर्मुज’को विकल्पमा नयाँ पाइपलाइनको निर्माणलाई द्रुत गतिमा अघि बढाउने भएको युएईका सरकारी सञ्चारमाध्यमले शुक्रबार जनाएको छ ।
अबुधाबी मिडिया अफिसले भनेको छ, “पश्चिम–पूर्वी पाइपलाइनले फुजैराह बन्दरगाहमार्फत राज्यको विशाल इन्धन उत्पादक कम्पनी ‘एडिएनओसी’को क्षमता दोब्बर गर्नेछ र अर्को वर्षसम्ममा सञ्चालनमा ल्याउने पहल गरिनेछ ।
अबुधाबीका राजकुमार शेख खालिद बिन मोहम्मद बिन जायद अल नाह्यानले एडिएनओसीलाई परियोजनाको वितरणलाई गति दिन निर्देशन दिनुभएको छ।
‘पोर्ट अफ फुजैराह’ वेबसाइटका अनुसार हब्शान तेल क्षेत्रदेखि फुजैराहसम्म फैलिएको ३६० किलोमिटर पाइपलाइनको क्षमता प्रति दिन १८ लाख ब्यारेलको रहनेछ ।
यसै महिनाको सुरूमा तेल उत्पादन नियन्त्रण नियम उल्लङ्घन गर्दै उत्पादन र आपूर्ति बढाएको युएईले अर्को वर्षसम्म उत्पादन क्षमता बढाएर दैनिक ५० लाख ब्यारेल पुर्याउने योजना बनाएको छ।
मध्यपूर्व युद्धको समयमा फुजैराहमा इन्धन उत्पादन र प्रशोधन सुविधाहरूमा बारम्बार आक्रमण गरिएको छ। गत मे ४ मा भएको पछिल्लो आक्रमणमा तीन भारतीय नागरिक घाइते भएका थिए ।
प्रतिक्रिया दिनुहोस्