शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्ने जिम्मेवारी सरकारको होः संयोजक दाहाल

काठमाडौँ, २९ वैशाख : नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री  पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगतका आन्दोलन र क्रान्तिबाट प्राप्त उपलब्धिको रक्षा गर्दै शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्ने जिम्मेवारी सरकारको भएको बताउनुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै संयोजक दाहालले लामो क्रान्तिको उपलब्धिमाथि गर्व गर्ने तर केही व्यक्तिहरू त्यही क्रान्तिलाई आपराधीकरण गर्ने प्रयत्न गरेकोप्रति असन्तुष्टि व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, “मैले तपाईँहरूलाई गणतन्त्रका फूल भनेको थिएँ । शान्ति प्रक्रियाको पूर्णता अब मेरोभन्दा पनि तपाईँहरूको जिम्मेवारी हो ।” नयाँ संसद्लाई आफूले क्रान्तिकै निरन्तरता ठानेको उल्लेख गर्दै संयोजक दाहालले भन्नुभयो, “वालेन्द्र शाह काठमाडौँको मेयर हुँदै आज देशकै प्रधानमन्त्री बन्नुभएको छ । पार्टी फरक होला, तर मेरा लागि यो क्रान्तिकै सङ्कल्पको जीत हो ।”
पुराना पार्टीहरू सबै खराब हुन् भन्ने भाष्य गलत भएको बताउँदै संयोजक दाहालले भन्नुभयो, “पुराना नेता र पुराना पार्टीका नाममा बनेको एउटा गलत भाष्य छ, सबै उस्तै हुन् भन्ने । त्यसमा प्रचण्डलाई पनि घिसार्न खोजिन्छ । त्यही हो त सत्य ? होइन ।”
पुराना र नयाँको भाष्य दार्शनिक, राजनीतिक र समाजशास्त्रीय दृष्टिले गलत भएको उहाँको भनाइ छ  । संयोजक दाहालले भन्नुभयो, “सवाल पुराना र नयाँको होइन, सवाल सही र गलतको हो । पुराना र नयाँ भाष्यले परिवार, समाज र राजनीतिमा विभाजनको आधारमात्र खडा गर्दछ । सही र गलतको बहसले गति, रुपान्तरणसहितको नयाँ एकताको आधार खडा गर्दछ ।”
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँगको सहकार्यको स्मरण गर्दै पूर्वप्रधानमन्त्री दाहालले भन्नुभयो, “अघिल्लो संसद्मा मैले प्रधानमन्त्रीका रूपमा पनि र प्रमुख विपक्षी दलको नेताका रूपमा पनि रास्वपासँग दह्रो सहकार्य गरेँ ।”
संयोजक दाहालले त्यसबेला सुशासन, सेवा प्रवाह सरलीकरण, मेरिटोक्रेसी, ललिता निवास जग्गा फिर्ता, भुटानी शरणार्थी प्रकरणको अनुसन्धान र ठूला माफियाविरुद्धको कारबाही गरेको उल्लेख गर्नुभयो । यसभन्दा अघिल्लो सरकार छँदा गलत नियतको निरन्तर विरोध गरेको बताउँदै उहाँले भन्नुभयो, “प्रतिपक्षका रूपमा हाम्रो सङ्ख्या सानो थियो । तर, त्यो सानो सङ्ख्याले दुईतिहाइको विशाल सत्तापक्षका हरेक बेथिति र विकृतिविरुद्ध लड्यो ।” आगामी दिनमा पनि गलत कार्य भए खबरदारी गर्ने उहाँको भनाइ थियो ।
पूर्वप्रधानमन्त्री दाहालले सरकार गठन भएपछि वर्तमान सरकारले आफ्नो ‘रोडम्याप’ सार्वजनिक गरेको भए पनि नीति तथा कार्यक्रमले सत्तारूढ दलको घोषणापत्र, रोडम्याप र राष्ट्रिय सङ्कल्पपत्रको ‘स्पिरिट’ समात्न नसकेको टिप्पणी गर्नुभयो । उहाँले मधेसी जनताको सपनाहरूको जगमा यो सरकार बने पनि सिङ्गो नीति तथा कार्यक्रम मधेसप्रति मौन रहेको बताउनुभयो ।
वर्तमान सरकारले ट्रेड युनियन, प्रेस स्वतन्त्रता र लोकतान्त्रिक संस्थाहरूमाथि आक्रमण गरिरहेको आरोप लगाउँदै उहाँले विधि मिच्ने, अध्यादेशमार्फत शासन गर्ने, संसद् छल्ने र प्रतिशोधपूर्ण धरपकड गर्ने शैली राम्रो नभएको बताउनुभयो ।
पूर्वप्रधानमन्त्री दाहालले अभिव्यक्ति स्वतन्त्रताको आन्दोलनपछि बनेको सरकारले प्रेस स्वतन्त्रताको सम्मान गर्नुपर्ने उल्लेख गर्दै भन्नुभयो, “हिजो बोलेकै भरमा थुनिनुपर्ने परिस्थितिको विरोध गर्‍यौँ तर आज हामी मिडिया संस्थाहरूलाई नियमन गर्ने, कमजोर गर्ने अभ्यास गर्दैछौँ, प्रश्नहरूबाट भागेर होइन, प्रश्नहरूको जवाफ दिएरमात्रै लोकतन्त्रको विकास हुन्छ ।”
वर्तमान नयाँ संसद्लाई समावेशी सहिदहरूको बलिदानको उपज भएको उल्लेख गर्दै उहाँले हजारौँ सहिदको बलिदानबाट हरेक वर्ग, वर्ण, जाति, लिङ्ग र समुदायको प्रतिनिधित्व भएको यो इन्द्रेणी संसद् बनेको बताउनुभयो ।
राष्ट्रिय स्वतन्त्र पार्टीको सफलताको प्रशंसा गर्दै उहाँले निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले प्राप्त गरेको झन्डै दुईतिहाइको सफलतालाई स्वीकार गर्दै विशेष बधाई दिनुभयो । संयोजक प्रचण्डले सङ्घीय संसद्मा समावेशी तथा समानुपातिक प्रतिनिधित्वलाई आफ्नो पार्टीको निर्वाचन परिणामभन्दा पनि ठूलो उपलब्धि ठानेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्