काठमाडौँ, २७ वैशाखः श्रीमद्भागवत गीतामा भगवान् श्रीकृष्णले दिनुभएका उपदेश जीवनशैलीमा उतार्नुपर्नेमा जोड दिइएको छ । गीता पढेर यसलाई जीवनशैलीका रुपमा विकास गर्नुपर्नेमा गीता परिवार नेपालले आज यहाँ आयोजना गरेको कार्यक्रममा जोड दिइएको हो ।
कार्यक्रममा गीता पाठ ब्राह्मणले मात्र गर्ने अरूले सुन्ने क्रमको अन्त्य भएको पनि देखियो । धेरै मानिस ‘गीता पढौँ, पढाऔँ, जीवनमा उतारौँ’ भन्ने नाराका साथ गीताको ज्ञानलाई जीवनशैलीमा उतार्ने अभियानमा सहभागी भए । यही अभियानमा जुटेका मानिसका लागि गीता परिवार नेपालले आज यहाँ गीता मैत्री मिलन कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा दिइएको जानकारीअनुसार मुलुकमा दैनिक १५ हजार बढी गीताको पाठ पारायण हुने गरेको छ ।
कार्यक्रममा ४० वर्ष अघि भारतबाट ‘गीता परिवार’ नामक अभियान सुरु गर्नुभएका गोविन्ददेव गिरी पनि सहभागी हुनुभएको थियो । श्रीराम जन्मभूमि अयोध्याका कोषाध्यक्षसमेत रहनुभएका उहाँले वेदको सार गीतामा भएकाले आफू यो अभियानमा जुटेको जानकारी दिनुभयो । गीताको अध्ययन, चिन्तन र मननबाट मन र बुद्धिको पोषण हुने भएकाले यसलाई सबै सनातन धर्मावलम्बीले अपनाउनुपर्नेमा उहाँले जोड दिनुभयो । मनुष्यमा आत्मविश्वासको पुनःस्थापना गर्ने काम पनि गीताको श्लोक अध्ययन एवं चिन्तन मननबाट हुने गरेको उहाँले सुनाउनुभयो ।
कार्यक्रममा गीता परिवार अन्तरराष्ट्रियका कार्यकारी अध्यक्ष डा आशु गोयलले १८२ देशका १६ लाख मानिसले नित्य गीताको साधना गर्ने गरेको जानकारी दिनुभयो । ती देशमा गीता परिवार फैलिएको उहाँले सुनाउनुभयो । सनातन धर्मका मूल्य, मान्यता मान्नेको परिवार नै गीता परिवार भएको कार्यकारी अध्यक्ष गोयलको भनाइ थियो ।
गीता परिवार नेपालकी अध्यक्ष सारिका अग्रवालले गीताको अध्ययन, अनुसन्धान, चिन्तन, मनन र साधना गर्नेको सङ्ख्या नेपालमा बढ्दै गएको बताउनुभयो । गीता परिवार नेपालका संस्थापक अध्यक्ष जयकिसन सारडाले कोरोनाकालमा अभियान फस्टाएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्