काठमाडौं, २२ चैत । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत भएको खेलमा सुदूरपश्चिम प्रदेशले बागमती प्रदेशलाई पराजित गर्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । हेमन्त धामीको उत्कृष्ट बलिङ प्रदर्शनका कारण सुदूरपश्चिमले १ सय ६३ रनको फराकिलो जित दर्ता गरेको हो ।
२ सय ९ रनको लक्ष्य पछ्याउँदै मैदान उत्रिएको बागमती टोली सुरुदेखि नै दबाबमा देखियो । कमजोर ब्याटिङ प्रदर्शनका कारण टोली ११.२ ओभरमै सबै विकेट गुमाउँदै केवल ४६ रनमा सीमित भयो । बागमतीका लागि ओपनर शुभ कंसाकारले केही संघर्ष गर्दै २५ बलमा ३२ रन बनाए पनि अन्य खेलाडीले साथ दिन सकेनन् । टोलीका पाँच खेलाडी शून्यमै आउट हुँदा समग्र प्रदर्शन निराशाजनक रह्यो ।
बागमतीलाई सस्तोमा समेट्ने क्रममा सुदूरपश्चिमका हेमन्त धामी नायक बने । उनले ६ ओभर बलिङ गर्दै २ मेडनसहित मात्र १४ रन खर्चेर ७ विकेट लिए । प्रतियोगिताभर उत्कृष्ट लयमा देखिएका धामी २१ विकेटसहित सर्वाधिक विकेट लिने खेलाडीको शीर्ष स्थानमा पुगेका छन् । उनलाई साथ दिँदै शेर मल्लले २ विकेट हात पारे ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले ४२.१ ओभरमा सबै विकेट गुमाउँदै २ सय ९ रनको प्रतिस्पर्धात्मक स्कोर तयार पारेको थियो । टोलीका ओपनर अभिषेक पाल र राजु रिजालले पहिलो विकेटका लागि ४८ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए। अभिषेकले ३९ रन बनाउँदा राजुले ४ रन मात्रै जोड्न सके ।
मध्यक्रममा सुदूरपश्चिम केही दबाबमा परेको थियो । खडक बोहरा, किरण ठगुन्ना, नरेन भट्ट र मुलन बोहरा सस्तैमा आउट भएपछि टोली ६८ रनमै ६ विकेट गुमाएर कठिन अवस्थामा पुगेको थियो । त्यसपछि दीपक बोहरा र नारायण जोशीले महत्वपूर्ण साझेदारी गर्दै इनिङ्स सम्हाले । दुवैले सातौँ विकेटका लागि ५९ रन जोड्दै टोलीलाई सम्मानजनक स्कोरतर्फ उकासे ।
दीपक बोहराले ४० रनको योगदान दिए भने नारायण जोशीले उत्कृष्ट ब्याटिङ गर्दै अर्धशतक पूरा गरे । उनले ६८ बलमा ७५ रन बनाउँदै टोलीका लागि सर्वाधिक स्कोरर बने । उनको पारीमा २ चौका र ६ छक्का समावेश थिए। अन्त्यतिर अशोक धामी १७ रनमा अविजित रहे ।
बलिङतर्फ बागमतीका प्रतिश जिसी र सन्दीप लामिछानेले समान ४–४ विकेट लिए पनि अन्य बलरले अपेक्षाअनुसार प्रदर्शन गर्न सकेनन्, जसका कारण सुदूरपश्चिमले मध्यम स्कोर तयार पार्न सफल भयो ।
यस जितसँगै सुदूरपश्चिमले ६ खेलबाट १० अंक जोड्दै तालिकाको शीर्ष स्थान कब्जा गरेको छ । दोस्रो स्थानमा रहेको त्रिभुवन आर्मी क्लबले ५ खेलबाट ९ अंक बनाएको छ । बागमती प्रदेश भने ६ खेलमा ४ अंकसहित आठौँ स्थानमा झरेको छ ।
प्रतिक्रिया दिनुहोस्