चौथो जितसँगै आर्मी शीर्षस्थानमा उक्लियो, मधेशको अपराजित यात्रा रोकियो

काठमाडौं, १९ चैत । प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा विभागीय टोली त्रिभुवन आर्मी क्लबले उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिँदै अंक तालिकाको शीर्षस्थान कब्जा गरेको छ । मधेश प्रदेशविरुद्ध बिहीबार सम्पन्न खेलमा ६ विकेटको सहज जित निकाल्दै आर्मीले प्रतियोगितामा आफ्नो चौथो जित दर्ता गरेको हो । यससँगै आर्मी अपराजित रहँदै शीर्षस्थानमा उक्लिएको छ भने मधेश प्रदेशले पहिलो हार बेहोरेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा मधेशले दिएको १ सय ८५ रनको लक्ष्य आर्मीले २९.२ ओभरमा ४ विकेट गुमाएर पूरा ग¥यो । आर्मीका ओपनर त्रितराज दासले शानदार अर्धशतक प्रहार गर्दै टोलीको जितमा महत्वपूर्ण भूमिका खेले । उनले ७२ बलमा ७ चौका र ३ छक्काको मद्दतले ६९ रन बनाए । उनको इनिङ्सले आर्मीको जितलाई सहज बनाएको थियो ।
आर्मीका लागि कप्तान विनोद भण्डारीले पनि महत्वपूर्ण योगदान दिए । उनले ३२ रन जोड्दै पहिलो विकेटका लागि त्रितराजसँग ६७ रनको साझेदारी गरे । यद्यपि त्यसपछि भीम सार्की ८ रनमा र कुशल मल्ल २४ रनमा आउट हुँदा केही समय दबाब सिर्जना भएको थियो । तर, बसिर अहमदले अविजित ४१ रनको उपयोगी इनिङ्स खेल्दै टोलीलाई जितसम्म पु¥याए ।
बलिङतर्फ मधेशका मोहम्मद आदिल आलमले २ विकेट लिए भने पवन सराफ र विशाल सुशलिङले समान १–१ विकेट हात पारे । तर, लक्ष्य रक्षा गर्न मधेशका बलरहरू सफल हुन सकेनन् ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मधेश प्रदेशले ४८.३ ओभरमा १ सय ८४ रनको मध्यम स्कोर तयार पारेको थियो । मधेशको सुरुआत भने कमजोर रह्यो । ओपनर मयान यादव ५ रनमा र निरज यादव ९ रनमा आउट हुँदा टोलीले २५ रनमै दुई महत्वपूर्ण विकेट गुमाएको थियो ।
त्यसपछि कप्तान अनिल शाह र पवन सराफले तेस्रो विकेटका लागि ५३ रनको साझेदारी गर्दै इनिङ्स सम्हाल्ने प्रयास गरे । पवन २२ रनमा आउट भए भने कप्तान अनिल शाहले ६० बलमा २ चौका र २ छक्कासहित ४३ रन बनाए ।

मधेशका लागि विशाल सुशलिङले उत्कृष्ट प्रदर्शन गर्दै अर्धशतक प्रहार गरे । उनले ७३ बलमा ३ चौका र २ छक्काको मद्दतले ५१ रन बनाए । यद्यपि अन्य ब्याट्सम्यानले अपेक्षाअनुसार साथ दिन नसक्दा टोली ठूलो स्कोर बनाउन असफल रह्यो । विशाल पटेलले १६ रन जोडे भने टोलीका ७ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
आर्मीका बलरहरूले अनुशासित प्रदर्शन गर्दै मधेशलाई दबाबमा राखे । बसिर अहमदले सर्वाधिक ३ विकेट लिए भने साहाब आलम र नरेन साउदले समान २–२ विकेट हात पारे । उनीहरूको प्रभावकारी बलिङका कारण मधेश ठूलो स्कोर बनाउनबाट रोकिएको थियो ।
यस जितसँगै आर्मीले ५ खेलबाट ९ अंक जोडेको छ र अंक तालिकाको शीर्षस्थानमा पुगेको छ । मधेश प्रदेशको ७ अंक रहेको छ र उसले पहिलो हार बेहोरेको छ । प्रतियोगितामा आर्मीको निरन्तर उत्कृष्ट प्रदर्शनले उसलाई उपाधिको बलियो दाबेदारका रूपमा उभ्याएको छ ।
आर्मीले ब्याटिङ र बलिङ दुवै पक्षमा सन्तुलित प्रदर्शन गर्दै जित हात पार्दा मधेशको अपराजित यात्रामा पूर्णविराम लागेको छ । आगामी खेलहरूमा पनि यस्तै प्रदर्शन कायम राख्न सके आर्मी उपाधि नजिक पुग्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्