फिल्म ‘पहाड’को गीत सार्वजनिक, वैशाख १ गतेदेखि प्रदर्शनमा आउने

काठमाडौं, १८ चैत । आगामी नयाँ वर्षको अवसर पारेर प्रदर्शनमा आउने नेपाली फिल्म ‘पहाड’मा समावेश गीत ‘ॐ नम शिवाय’ सार्वजनिक गरिएको छ । वैशाख १ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको उक्त सिनेमाको यो गीतले कथालाई महत्वपूर्ण मोड दिने निर्माण पक्षले जनाएको छ ।

सार्वजनिक गरिएको गीतमा वरिष्ठ संगीतकार रञ्जित सिंह गजमेरको संगीत, निर्देशक तुलसी घिमिरेको शब्द तथा भारती घिमिरे र शिव परियारको स्वर रहेको छ । धार्मिक भावनासँगै कथावस्तुसँग गाँसिएको यो गीत भव्य सेटमा छायांकन गरिएको निर्देशक घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार गीतका लागि विशेष सेट तयार पार्न झण्डै १३ दिन समय लागेको थियो भने गीतको छायांकन तीन रात लगाएर सम्पन्न गरिएको हो ।

निर्देशक घिमिरेका अनुसार ‘ॐ नम शिवाय’ गीत सिनेमाको कथा अगाडि बढाउने महत्वपूर्ण बिन्दुमा प्रयोग गरिएको छ । “यो गीतपछि सिनेमाको कथाले नयाँ मोड लिन्छ । त्यसैले हामीले यसलाई विशेष महत्व दिएका छौँ,” उहाँले भन्नु भयो । उहाँले गीतमा सिनेमाका अधिकांश मुख्य कलाकारलाई प्रस्तुत गरिएको पनि सुनाउनु भयो ।

सार्वजनिक गीतमा डेब्यु अभिनेत्री पञ्चमी घिमिरे, अरुण क्षेत्री, मदनकृष्ण श्रेष्ठ, विपिन कार्की, रविन्द्र सिंह बानियाँ, सुनिल थापा लगायत कलाकार देखिएका छन् । निर्देशक घिमिरेले यसअघि आफ्नै निर्देशनमा बनेका चर्चित चलचित्रका कलाकारहरूसँग पुनः सहकार्य गरेका बताउनु भयो । ‘बलिदान’मा काम गरेका मदनकृष्ण श्रेष्ठ तथा ‘चिनो’मा अभिनय गरेका शिव श्रेष्ठ र सुनिल थापालाई पनि उनले ‘पहाड’मा समेटेका छन् ।

निर्देशक घिमिरेले केही वर्षको अन्तरालपछि नयाँ विषयवस्तु रोजेर सिनेमा निर्माण गरेको बताउनु भयो । उहाँका अनुसार ‘पहाड’ केवल मनोरञ्जनात्मक चलचित्र मात्र नभई सामाजिक सन्देश बोकेको कृति हो । उहाँले ग्रामीण जीवनको सौन्दर्य, गाउँबाट युवाशक्ति विदेश पलायन हुने समस्या र त्यसले निम्त्याउने सामाजिक–आर्थिक असरलाई सिनेमाले उठान गरेको जानकारी दिनुभयो ।

“आज गाउँहरू युवाविहीन बन्दै गएका छन् । रोजगारीको खोजीमा युवा विदेश पलायन हुँदा पहाडका बस्ती खाली हुँदै गएका छन् । यही यथार्थलाई कथामार्फत प्रस्तुत गर्ने प्रयास गरेका छौँ,” निर्देशक घिमिरेले भन्नु भयो । उहाँका अनुसार सिनेमाले गाउँको जीवनशैली, संस्कृतिको महत्व र गाउँमै सम्भावना खोज्नुपर्ने सन्देश दिन खोजेको छ ।

सिनेमाको छायांकन प्रमोद प्रधानले गरेका छन् । प्रधानले भारतमा विभिन्न सिनेमा, वेब सिरिज र टेलिफिल्ममा काम गरिसक्नु भएको छ । उहाँले यसअघि निर्देशक घिमिरेसँग ‘अन्याय’, ‘कोसेली’, ‘चिनो’ र ‘दक्षिणा’ जस्ता चलचित्रमा सहकार्य गरिसक्नु भएको छ ।

भाग्यरत्न फिल्मस् प्रालिको ब्यानरमा निर्माण भएको ‘पहाड’मा रेनुनाथ योगी, अंकित खड्का, उमा गिरी लगायत कलाकारको पनि अभिनय रहेको छ । निर्देशक घिमिरेले आफ्नी कान्छी छोरी पञ्चमी घिमिरेलाई यही सिनेमामार्फत अभिनेत्रीको रूपमा डेब्यु गराएका छन् । यस्तै उनकी जेठी छोरी भावना घिमिरेले सिनेमाको प्रोडक्सन डिजाइनरको जिम्मेवारी सम्हाल्नु भएको हो ।

रञ्जित सिंह गजमेरले संगीत निर्देशन गर्नुभएको छ । उत्तम रसाइली प्रस्तुतकर्ता रहेको यस चलचित्रमा सुरेन्द्र लामा थिङ, ओजस्वी केसी, रिम्पोछे लामा थिङ, दमन्ती रसाइली र उमा गिरी निर्माता छन् भने भारती घिमिरे क्रिएटिभ निर्माता हुन् ।

प्राविधिक पक्षतर्फ सिनेमामा कविराज गहतराज र मिङमा डी लेप्चाको नृत्य निर्देशन, कुमार महर्जनको द्वन्द्व निर्देशन तथा शंकर कोइराला र भारती घिमिरेको सम्पादन रहेको छ । सिनेमाको पब्लिसिटी डिजाइन रोयल भीमसेन र ट्राइडेन्ट कन्सेप्टले गरेका छन् ।

‘पहाड’लाई नेपालमा व्यांकटेश इन्टरटेनमेन्टले वितरण गर्नेछ भने अन्तर्राष्ट्रिय बजार तथा डायस्पोरामा सेभेन सिज इन्टरनेशनल फिल्मस्ले प्रदर्शन व्यवस्थापन गर्ने बताइएको छ । नयाँ वर्षसँगै प्रदर्शनमा आउन लागेको यो सिनेमाले गाउँको कथा र समकालीन सामाजिक यथार्थलाई पर्दामा उतार्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्