काठमाडौँ, १६ चैत : आजदेखि वीर अस्पतालमा महिलालाई निःशुल्क रुपमा क्यान्सर परीक्षण सुरु गरिएको छ ।
काठमाडौँ महानगरपालिकाले अस्पतालसँगको सहकार्यमा आज अस्पतालमा आयोजित कार्यक्रममा महिलाहरुको स्तन, पाठेघर तथा सर्भाकल क्यान्सरको परीक्षण सुरु गरिएको हो ।
क्यान्सर परीक्षण आगामी वैशाख २० गतेसम्म सञ्चालन हुने जनाइएको छ । परीक्षण शुभारम्भमा महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले क्यान्सर रोग समयमा पत्ता लगाउन सके जीवन बाँच्न सक्ने बताउनुभयो ।
“जाँच गरेर समयमा क्यान्सर पहिचान गर्न सकियो भने उपचार सरल र कम खर्चिलो हुन्छ । जीवन बचाउन सकिन्छ”, उहाँलै भन्नुभयो । सोही क्रममा उहाँले आफ्नो पनि क्यान्सर परीक्षण गराउनुभयो ।
राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा भूपेन्द्रकुमार बस्नेतले यसअघि समयमा क्यान्सर पहिचान गर्न नसक्दा यो डरलाग्दो बनेको उल्लेख गर्नुभयो ।
अस्पतालका कार्यकारी निर्देशक प्रा डा दिलिप शर्माले महिलाले पटकपटक क्यान्सर परीक्षण गर्नुपर्ने र क्यान्सर लाग्दैमा डराउनु नपर्ने बताउनुभयो ।
महानगरका स्वास्थ्य विभाग प्रमुख दीपक केसीले देशभरिका जोसुकै महिलाले अस्पतालमा गएर क्यान्सर परीक्षण गराउन सक्ने बताउनुभयो । उहाँका अनुसार क्यान्सर परीक्षणका लागि महानगरका ३२ वटा शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रबाट प्रेषण (रिफर) पुर्जी लिएर अस्पतालमा गएर क्यान्सर परीक्षण गराउन सकिनेछ । महिलाको क्यान्सर परीक्षणका लागि महानगरले अस्पताललाई एक करोड ५० लाख रुपैयाँ उपलब्ध गराएको छ ।
प्रतिक्रिया दिनुहोस्