पोखरामा एमालेको प्रदर्शन : आयोगको प्रतिवेदन जलाइयो, सरकारविरुद्ध नाराबाजी

काठमाडौं, १४ चैत । कास्कीको पृथ्वीचोक क्षेत्रमा शनिबार नेकपा (एमाले) समर्थकहरूले जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक रूपमा जलाएका छन्। केपी शर्मा ओली र रमेश लेखक पक्राउको विरोधमा आयोजित प्रदर्शनका क्रममा यस्तो घटना भएको हो।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) कास्कीले आयोजना गरेको र्‍याली शान्तीवन स्थित पार्टी कार्यालयबाट सुरु भई नयाँबजार हुँदै पृथ्वीचोकमा पुगेर कोणसभामा परिणत भएको थियो। प्रदर्शनकारीहरूले सरकारविरुद्ध चर्का नाराबाजी गर्दै आयोगको प्रतिवेदन अस्वीकार गर्ने घोषणा गरेका थिए।

प्रदर्शनका क्रममा सहभागीहरूले प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुधन गुरूङ को राजीनामा माग गरेका छन्। उनीहरूले पक्राउ परेका नेताहरूको बिना शर्त रिहाइको माग गर्दै सरकारमाथि प्रतिशोधपूर्ण कारबाही गरेको आरोप लगाएका थिए।

प्रदर्शन शान्तिपूर्ण रूपमा सुरु भए पनि पृथ्वीचोकमा पुग्दा उग्र नाराबाजी र प्रतिवेदन दहनपछि वातावरण केही तनावपूर्ण बनेको थियो। सुरक्षा निकायले स्थिति नियन्त्रणमा राख्न आवश्यक सतर्कता अपनाएको जनाएको छ।

एमाले कास्कीले आन्दोलनलाई निरन्तरता दिने संकेत गर्दै आइतबार पनि विरोध कार्यक्रम आयोजना गर्ने घोषणा गरेको छ।

प्रतिक्रिया दिनुहोस्