काठमाडौं, १४ चैत । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता कर्णबहादुर मल्ल पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर ललितपुरले उनलाई बलात्कारसम्बन्धी मुद्दामा शनिबार सातदोबाटो क्षेत्रबाट नियन्त्रणमा लिएको जनाएको छ।
जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी होबिन्द्र बोगटीका अनुसार मल्लविरुद्ध एक युवतीले जबर्जस्ती करणीको आरोपसहित जाहेरी दर्ता गराएकी थिइन्। पीडितले दिएको उजुरीमा बालकुमारी स्थित एक होटलमा आफूलाई मल्लले जबर्जस्ती गरेको उल्लेख छ।
प्रहरीका अनुसार प्रारम्भिक चरणमा पीडितले भ्रूणहत्यासम्बन्धी उजुरी दर्ता गराएकी थिइन्। तर पछि उक्त विषयलाई परिमार्जन गर्दै बलात्कारको आरोपसहित पुनः जाहेरी दिएकी हुन्। उजुरी दिने महिला कालिकोटकी भएको खुलाइएको छ।
घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। पक्राउ परेका मल्लमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको र अदालतमार्फत म्याद थप गरी अनुसन्धान विस्तार गरिने तयारी भइरहेको छ।
प्रहरीले यस्ता संवेदनशील घटनामा प्रमाण संकलन र पीडितको सुरक्षालाई प्राथमिकता दिँदै अनुसन्धान अगाडि बढाइएको जनाएको छ।
प्रतिक्रिया दिनुहोस्