प्रधानमन्त्री शाहलाई भारत, अमेरिका र पाकिस्तानलगायतको  बधाई

काठमाडौँ, १३ चैत । प्रधानमन्त्री बालेन्द्र शाहले भारत, अमेरिका र पाकिस्तानबाट बधाई   पाउनुभएको छ ।
प्रधानमन्त्री शाहलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिनुभएको छ ।
आज शाहले नेपालको प्रधानमन्त्री पदको शपथ लिएलगत्तै भारतीय प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री शाहलाई बधाई दिनुभएको हो ।
सामाजिक सञ्जालमा भारतीय प्रधानमन्त्री मोदीले लेख्नुभएको छ, “नेपालका प्रधानमन्त्रीका रूपमा शपथ ग्रहण गर्नुभएकामा बालेन्द्र शाहलाई हार्दिक बधाई दिन चाहन्छु । तपाईंको नियुक्ति नेपाली जनताले तपाईंको नेतृत्वमा राखेको विश्वासको प्रतिविम्ब हो ।”
सो बधाई सन्देशमा समकक्षी मोदीले प्रधानमन्त्री शाहसँग मिलेर नेपाल–भारत सम्बन्धलाई अझै उचाइमा पु¥याउने काममा उत्सुक रहेको धारणा राख्नुभएको छ ।
भारत–नेपालबीचको मित्रता र सहकार्यलाई दुवै देशको पारस्परिक हितका लागि थप उचाइमा पु¥याउन आफू इच्छुक रहेको प्रधानमन्त्री मोदीले बताउनुभयो ।
यसैगरी,नवनियुक्त प्रधानमन्त्री वालेन्द्र शाहलाई पाकिस्तानका प्रधानमन्त्री सेहबाज सरिफले बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको छ ।
पाकिस्तानी प्रधानमन्त्री सरिफले आज सामाजिक सञ्जाल एक्समार्फत राष्ट्रिय स्वतन्त्र पार्टीको भारी बहुमतसहित निर्वाचित भई पदभार ग्रहण गर्नुभएकामा प्रधानमन्त्रीमा शाहलाई बधाई ज्ञापन गर्नुभएको हो ।
उहाँले पाकिस्तानले नेपालसँगको दीर्घकालीन र मैत्रीपूर्ण सम्बन्धलाई उच्च महत्व दिएको उल्लेख गर्दै क्षेत्रीय शान्ति, स्थिरता र समृद्धिका साझा लक्ष्यहरूलाई अघि बढाउँदै द्विपक्षीय सहकार्य अझ सुदृढ बनाउन प्रधानमन्त्री शाहसँग नजिकबाट सहकार्य गर्ने अपेक्षा राखेको बताउनुभयो ।
यस्तै,नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई संयुक्त राज्य अमेरिकाले बधाई दिएको छ ।
यहाँस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्री शाह र नयाँ सरकारलाई बधाई दिँदै अमेरिका आपसी समृद्धि तथा क्षेत्रीय स्थिरतालाई अघि बढाउन नेपालसँग सहकार्य गर्न उत्सुक रहेको उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्